• २०८१ बैशाख १४ शुक्रबार

निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबिच छलफल

kharibot

काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्रस्थितिको विषयमा छलफल भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा आएको आयोगका पदाधिकारीसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव सहित अन्य आयुक्तसँग आज यहाँ आसन्न निर्वाचन तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचार संहितालागयतका विषयमा जानकारी लिएको हो । 

सो अवसरमा दुवै आयोगतर्फबाट गरिएको निर्वाचन आकलन र तयारीकाबारे छलफल हुनका साथै मानव अधिकार आयोगको तर्फबाट आचारसंहिता उलंघन तथा चुनाव प्रचारप्रसारमा भएगरेका, देखेका र आकलन गरिएका विषयमा प्रस्तुति समेत भएको थियो । 

आयोगका अध्यक्ष शर्माले निर्वाचनबारे मुख्य चासो र सरोकार रहेको विषय सुरक्षा अवस्था फितलो देखिएको जनाउँदै मतपत्रको संरचना हेर्दा आगामी निर्वाचनमा मत बदर हुने सम्भावना कम देखिए पनि मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए । 

सुरक्षा व्यवस्थाको उचित ढंगबाट सम्बोधन नभए ज्यानको जोखिम राखेर मतदाता मतदान गर्न नआउने सम्भावनालाई सच्याउन के–कस्तो व्यवस्था मिलाइएको छ भनी जिज्ञासा राख्दै उनले बदर मत प्रतिशत घटाउन कुन तरिकाबाट मतदाता शिक्षा अघि बढाइएको छ भनी प्रश्न गरेका थिए । 

आगामी निर्वाचनको अनुगमनका लागि आयोगले दुई सय भन्दा बढी जनशक्ति खटाउने जानकारी गराउँदै अध्यक्ष शर्माले भने– ‘नेपाली जनताको भाग्य निर्माण र स्थिर सरकार दिने विषय भएकाले सानोतिनो घटनाबाट त्रसित नभइ निर्भिक भएर मतदानमा सहभागी हुन आयोगकोतर्फबाट आम मतदातलाई आग्रह गर्दछु ।’

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा प्रविधिको भोटिङ मेसिन को प्रयोग गर्ने सिलसिलामा अनेकौँ सम्भावनाको अध्ययन भए पनि समयको चापका कारण नभ्याइएको बताए । 

विगतका निर्वाचनको तुलनामा यस पटक निर्वाचन प्रचारप्रसारमा संगठित रुपमा बालबालिकाको प्रयोग, भोजभतेर र अरु आचारसंहिता उलंघनका घटनामा कमी आएको बताउँदै उनले स्वास्थ्यलगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भरसक निर्वाचनमा खटाउनु हुन्न भन्नेमा निर्वाचन आयोग सचेत छ भने । 

सरकार, राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताको पालना गर्न गराउने विषयमा मानवअधिकार आयोगको तर्फबाट पनि झकझक्याउन सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदातालाई मतदान केन्द्रमा आउन प्रेरित गर्ने वातावरण बनाउने भूमिका खेल्न सुझाव दिए । 

निर्वाचन आयुक्त नरेन्द्र दाहालले नेपाली जनताको लामो सघर्ष र बलिदानबाट प्राप्त संघीयता, गणतन्त्र र नेपालको संविधान कार्यान्वयनका लागि हुन गइरहेको निर्वाचनलाई अवरोध पुर्याउने पक्षलाई कानूनी दायरामा ल्याउन अप्ठेरो मान्नुपर्ने अवस्था नरहेको धारणा राखेका छन् । 

सो अवसरमा मानव अधिकार आयोगका सदस्यद्वय प्रकाश वस्ती, मोहना अन्सारी र गोविन्द शर्मा पौडयाल तथा सचिव वेदमणि भट्टराई र निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी भएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै