• २०८१ बैशाख १४ शुक्रबार

उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति अमेरिकाको चिन्ता 

kharibot

काठमाडौँ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको मुखमा भएका हिंसा र निर्वाचनमा अवरोध पुर्याउने घटनाको अमेरिकाले निन्दा गरेको छ ।

काठमाडौँस्थित अमेरिकी राजदुतावासले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति अमेरिकाले चिन्ता व्यक्त गरको छ । विज्ञप्तिमा भनिएको छ –‘स्थानीय तहका तीन वटै चरणका निर्वाचन व्यापक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको अवस्थामा राजनीतिक उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिका चिन्तित छ र हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ ।’

विज्ञप्तिमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई हामी शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रह गरिएको छ । 
हिंसा वा हानीको डरत्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त भएको भन्दै नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न हामी सबै पक्षलाई आग्रह गरेको छ । 

निर्वाचन राजनीतिक बहसको समय भए तापनि लोकतन्त्रमा मतपेटिकाको माध्यमबाट विमति व्यक्त गरिन्छ भन्दै सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह गरेको छ ।

साथै विज्ञप्तिमा शान्तिपूर्ण, समावेशी, व्यापक समर्थनप्राप्‍त तथा विश्‍वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नप्रति अमेरिका प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै