उत्तर अमेरिका । एलेन मस्कको कम्पनी स्पेस एक्सले बनाउँदै गरेको नयाँ पुस्ताको रकेट इन्जिन परीक्षणका क्रममा विष्फोट भएको छ । गत आइतबार मर्लिन इन्जिन जसले फाल्कोन ९ रकेटलाई उडाउँछ, सो इन्जिन विष्फोट भएको हो । यद्यपि उक्त विष्फोटनमा कोही पनि घाइते नभएको कम्पनीले जनाएको छ । यसबारे कम्पनीले अनुसन्धान पनि सुरु गरिसकेको उल्लेख गरेको छ ।
कम्पनीले यसकै कारण कम्पनीको उद्देश्यप्राप्तिमा प्रभाव पर्न नहुने जनाउँदै आफ्नो कार्यक्षेत्रमा प्रतिबद्ध रहेको जनाएको छ । पड्किएको इन्जिन नयाँ र अहिलेसम्म नउडेको बताइएको छ । यद्यपि सोही इन्जिन आगामी वर्ष प्रक्षेपण गरिने रकेटमा जडान गरिनेवाला भने रहेको थियो ।
यो घटनापछि फाल्कन ९ मा प्रयोग हुने ब्लक ५ संस्करणका इन्जिनहरु अहिलेलाई कम्पनीले सस्पेण्ड (निलम्बन, रद्द) गरेको छ । सन् २०१५ मा स्पेस एक्सको फाल्कन ९ रकेट प्रक्षेपण गरेको केही मिनेटमै पड्किएको थियो । उक्त रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा कार्गो लैजान प्रक्षेपण गरिएको थियो ।
त्यतिबेला रकेटमा कोही पनि थिएनन् । यस्तै २०१६ को सेप्टेम्बरमा पनि फाल्कन ९ रकेट पड्किएको थियो । त्यतिबेला पनि कोही पनि घाइते वा हताहत भएका थिएनन् । यद्यपि कम्पनीले यो वर्षमात्रै १६ पटक सफलतापूर्वक रकेट प्रक्षेपण गरिसकेको छ । अघिल्लो वर्षको तुलनामा यो दोब्बर प्रक्षेपण हो ।