देशका बिभिन्न ठाउमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी छठ मनाइयो 

खरीबोट

छठ पर्वको अवसरमा बिहीबार गुहृेश्वरी मन्दिर अगाडि बागमती नदीमा छठी माताको पूजाआजाका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै ब्रतालुहरु । तस्बिर : रत्न श्रेष्ठ, रासस

ad

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ । 

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन् । उनले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकी छन् । 

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्व मंगलबारदेखि शुरु भएको हो । छठको मुख्य दिन आज बेलुकी वर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । ‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यविना रुख, बिरुवा, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । 

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त भएको उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रसन्न भई वर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्काबाट व्रत गराउने गर्छन् । अर्थ अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । 

व्रतविधि 

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई अलिकति वर्तालुले प्रसादस्वरुप खाने र नून नखाई एक छाक फलाहार गरिन्छ । यस पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआरधाना गरी अघ्र्य दिने विधिविधान रहेको स्थानीयवासी जीतेन्द्र झाले बताए । 

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि पर्व समापन हुन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । सरकारले यस पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष भने छठको भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिइने दिन पनि सार्वजनिक बिदा दिइएको छ । 

छठ पर्वका लागि राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका वर्तालु कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि छठ पर्व सम्पन्न हुन्छ ।

विराटनगर :

मोरङका विभिन्न ठाउँहरूमा छठ पर्वका वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका छन् । 

जलाशयमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अघ्र्य अर्पण गरेका हुन् । 

यसैबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुगेका छन् । विगत १४ वर्षदेखि उनी आफ्नो घरदेखि सिंग्याहीखोलाको एक किलोमिटरभन्दा बढीको दूरी सो विधि अपनाएर पूरा गर्नेगर्दछन् । 

उनले लगातार १३ वर्षसम्म आफ्नो परिवारको कल्याणका लागि सुतेर दण्डवत गर्दै पुजास्थलसम्म पुगेको र यसपल्ट नगरवासीको कल्याणको लागि गरिएको बताए । 

कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो भने आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरिएको छ र भोलि उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ । 

विराटनगरस्थित सिंग्याही खोला, केशलिया खोला, नहरलगायत विभिन्न जलाशयहरूमा उल्लासमय वातावरणमा छठ पर्व मनाइरहेको देखिन्छ । हजारौंको सङ्ख्यामा पर्व हेर्नेहरूको उपस्थिति रहेको छ ।

जनकपुरधाम :

छठ पर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजार्चना गरेका छन् । 

व्रतालुहरू यहाँका इतिहासवर्णित सरोवर गङ्गासागर, धनुषसागर, अरगजालगायत पोखरीमा अ सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवामिष्ठान्न गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने चलन छ । 

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटाको हात्ती, सूप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको पवित्रतापूर्वक व्यवस्था गरी साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । 

छठमा अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ । यो पर्व शरद् ऋतुको कात्तिक पष्ठी र वसन्त ऋतुको चैत महिनाको षष्ठीका दिन मनाइन्छ । संख्यात्मक दृष्टिले चैते छठ पर्वमा व्रत गर्नेको सङ्ख्या अपेक्षाकृत कम हुने गरेको छ । 

मानवलाई उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने आदि देवता सूर्यलाई वैदिक कालदेखि नै पुजिएको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ । ऋग्वेदमा सूर्यलाई सबै देवताको स्रोत मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’का रूपले लोकमानसमा ठाउँ पाएको हुन सक्ने विश्वास पाइन्छ । 

छठ पर्वमा अघ्र्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूलले प्रकृतिप्रति कृतज्ञता र केराले विष्णुको वास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश दिन्छ । पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटाको सामग्रीको व्यवस्थापन गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।

छठमा शुक्रबार पनि बिदा :

सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि बिदा दिने भएको छ । 

यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित समाचार

उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदै चैती छठपर्व सम्पन्न

बारा । मध्य तराई मधेस बासीहरुको सामुदायका बिच ज्यादै नैं महत्वपुर्णका साथ मानाइँने चैती छठपर्व शनिवार विहान उदाउँदै गरेको सुर्य भगवानलाई अर्घ दिँदै सम्पन्न भएको छ । तराई मधेसका प्राय: हरेक

चैते छठ समापन

जनकपुरधाम । चैते छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई

तराई मधेसमा चैती छठ पर्व धुमधामका साथ मनाइँदै

बारा । तराई मधेसबासीको श्रद्धा , भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको चैती छठ पर्व शुक्रवार अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिएर मनाइँदै छ । चार दिन सम्म मनाइँने चैती छठ पर्व

चैती छठपर्वको तयारी अन्तीम चरणमा

वीरगन्ज । लोक आस्थाको पर्वका रुपमा रहेको चैती छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृंगार्ने काम भइरहेको छ ।  कतिपय पोखरी र