• २०८१ बैशाख १७ सोमबार

जनआन्दोलनमा आफू बाचेकोमा पछूतो छ - घाइते नन्दप्रसाद रुपाखेती

kharibot

काठमाडौँ । नन्द प्रसाद रुपाखेती आमा भगवती र बाबु भगनाथ रुपाखेतीको कान्छा छोराको रुपमा २०३४ सालमा धादिङको जीवनपुरमा जन्मिएका हुन् । डेढ वर्षको हुँदा उनका बाबु बेपत्ता भएको कारण उनले आफ्नो बाबुको मुख समेत देख्न पाएनन् । बाबु नभएको थाहा पाउँदा उनी आठ वर्षका थिए । 

घरमा कमाउने मान्छे नभएको र आर्थिक अवस्था पनि कमजोर भएको कारण उनले आफूले चाहेर पनि पढ्न  पाएनन् । त्यत्तिकैमा उनी काठमाडौँ आए तर त्यहाँ उनले सोचेजस्तो थिएन् । केही काम गर्ने र बेपत्ता बाबुको खोजी गर्ने उनको इच्छा पूरा हुन सकेन । आफ्ना बाबु कसरी के कारणले बेपत्ता भए भन्ने पनि अहिलेसम्म उनलाई थाहा छैन, अझ भनौँ उनले जानकारी पाएका छैनन् । 

पारिवारिक पीडासँगको संघर्ष एकातिर छँदै छ भने भाग्य खोज्न काठमाडौँ आएका उनलाई जिन्दगीको संघर्ष र पीडासँग जुध्नुपर्ने बाध्यता अर्कोतिर छ । यही पीडै पीडाका बीच पनि संघर्ष गर्न काठमाडौं हानिएका उनलाई आफूजस्ता गरिबले केही गर्न नसक्ने ठाउँ जस्तो लाग्छ काठमाडौं । 

उनको मन पीडाले भरिएको छ तर त्यो पीडा हेरिदिने र सुनिदिनेसम्म कोही छैन । उनी भन्छन्, “देखाऊँ सुनिदिने र हेरिदिने कोही छैन, नदेखाऊँ पीडाले मन भक्कानिन्छ ।” जनआन्दोलन २०६२÷०६३ मा उनी घाइते भएका हुन् । २०३६ सालमा पञ्चायत कालमा बेपत्ता भएका उनका बाबु अझै घर फर्केका छैनन् । 

उनी सानैदेखि देशभक्त थिए भन्ने प्रमाण उनी जनआन्दोलनमा होमिएर घाइते बन्नुले नै पुष्टि गर्छ । देशको समृद्धिको लागि घाइते हुन पुगेका उनी अहिले धेरै संघर्षको साथ पीडाको जीवन जिउन बाध्य छन् । तर उनीजस्ता सयौँ देशभक्त जिउँदा सहिदहरुको त्यागलाई अपमान गरेकामा भ्रष्ट नेतामाथि उनलाई टीठ लागेर आउँछ, मन भक्कानिएर आउँछ । उनी भन्छन्, “गोलभेँडाको खेती गरेजस्तै गरी भ्रष्टाचार गरेका छन्, जनमुक्तिको लागि हामीले लडेको आन्दोलनको के अर्थ भयो र ?”

दोस्रो जनआन्दोलन २०६२ वैशाख २४ गतेबाट नै सुरु हुँदा उनी पनि सँगै होमिएका थिए । जनता सडकमा उत्रिएका थिए । उनी गोंगबुमा गीत गाउँदै थिए । त्यत्तिकैमा प्रहरीले दमन गर्यो । प्रहरीको आक्रमणबाट उनको टाउको फुट्यो । होसमा आएपछि थाहा पाए उनको टाउकोमा २४ वटा टाँका लगाइएको रहेछ । उनी आफ्नो उपचारको लागि धेरै भौतारिए । नेताको देखावटी र झूटो आश्वासन पनि नपाएका हैनन् तर उनलाई झूटो आश्वासनभन्दा पनि सहयोग चाहिएको थियो । आँशु झार्दै बस्न बाध्य भएको उनी दुःखेसो पोख्छन् । 

मभन्दा पनि देश बिरामी भएको छ 

नन्दप्रसाद न्यूनवर्गीय परिवारका मान्छे हुन् । उनले बाँच्नकै लागि सानैदेखि धेरै संघर्ष गर्नुपरेका उनको अहिले पनि पारिवारिक समस्याहरु ज्युँकात्युँ नै रहेका छन् । उनी जागिरको सिलसिलामा धेरैै भौँतारिए । संघर्ष गरेर पेट पाल्छु भन्दा पनि उनको आवाज सुनिदिने कोही भएनन् । कुनै पनि नेताको मनको ढोका नखुल्दा उनलाई आत्मग्लानि हुन्छ । हाल उनी चप्पल कारखानामा काम गर्छन् । दिनभरिको मिहिनेतबाट उनको मासिक कमाइ नौ हजार रहेको छ । पारिवारिक खर्च, बच्चा पढाउन र दैनिक तीन सयको औषधि खान उनलाई धौ धौ छ । यति हुँदा हुँदै पनि आफ्नो दुःख र पीडाभन्दा देशको पीडाले उनी छटपटिएका छन् ।

परिचयपत्र पाउन आन्दोलन 

आफू घाइते भएर सफल पारेको आन्दोलनले देशमा गणतन्त्र ल्यायो तर उनले भने जनआन्दोलन घाइते परिचय पत्र बनाउन पनि ठूलै संघर्ष गर्नुपर्यो । बल्लतल्ल बनेको परिचयपत्रबाट मात्रै उनी जनआन्दोलनका असली घाइते साबित भए तर त्यसको आधारमा पाउनुपर्ने अलिकति सुविधा र सरकारी राहत भने अझै पाएका छैनन् । अहिलेसम्म १० हजार रुपैयाँभन्दा केही पनि नपाएको उनको भनाइ छ । त्यो पनि महजोडी हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले स्थापना गरेको जनआन्दोलन घाइते कोषबाट पाएका हुन् । गणतन्त्र आएपछि नेताहरुले दुई दुईपटक प्रधानमन्त्री बन्ने अवसर पाए, विदेशमा उपचारका लागि करोडौँ खर्च पाए तर उनीजस्ता घाइतेले केही पाएनन् । उनी भन्छन्, “सरकारी तबरबाट जनआन्दोलनका घाइतेलाई कुनै सहयोग भएको छैन ।” 

१० लाख तिरेर सहिदको अपमान गर्न पाइँदैन

सरकारले कस्ता व्यक्तिलाई सहिद मान्ने भन्ने मतलबै नगरी सबैलाई सहिद घोषणा गरी १० लाख परिवारलाई दिँदैमा सहिदको सम्मान नहुने उनको विचार छ । भन्छन्, “सहिद तथा बेपत्ता परिवारको अवस्था कस्तो छ, के कस्ता समस्या छन् भन्ने नबुझी १० लाख रुपैयाँ दिँदैमा सहिदप्रति सम्मान हुँदैन ।” सहिदको नाममा दिने १० लाखले सहिदको अपमान भएको उनी बताउँछन् । 

बसबाट झर्दा धेरै दुःख लाग्छ 

नन्दप्रसाद जनआन्दोलनका घाइते हुन् । धेरै संघर्ष गरेर जनआन्दोलन घाइते परिचयपत्र पनि बनाए । तर सार्वजनिक यातायातमा यात्रा गर्दा उनलाई गाडीका सहचालकहरुले आफूप्रति गरेको व्यवहारले दुःखी बनाएको छ । 

“हामीलाई सिंहदरबार छिर्नसम्म सहज छ तर मन्त्रीहरुलाई भेट्न र कुरा गर्न जाँदा समय नै दिँदैनन्”, उनी भन्छन्, “मन्त्रीले हाम्रो कुरा सुन्नुपर्छ, धनीमानी र व्यापारी आए सजिलै भेट्न पाउँछन् तर हामीले ५, ६ घण्टा कुर्दा नि भेट्न पाउँदैनौँ । हामीलाई भेट्ने मौका र हाम्रा कुरा सुन्ने, सुनाउने वातावरण चाहिन्छ ।” 

संघर्ष मर्नको लागि

“गणतन्त्र हाम्रो अर्पण हो”, उनी भन्छन् । यसमा उनलाई खुसी लाग्छ ।  उनले सानैदेखि जीवनमा धेरै संघर्ष गरे । जीवनदेखि नै हार खाइसकेका उनी आँखाभरि आशु पार्दै भन्छन्, “अरु बाँच्नको लागि संघर्ष गर्छन्, म मर्नको लागि संघर्ष गरिरहेको छु ।” उनी संविधानमा पनि आफहरुप्रति सम्मान गर्नुपर्ने उनको धारणा छ । भन्छन्, “संविधान लागू भएको दिन सहिदहरुले पनि धन्यवाद दिनेछन् ।”     

गायनमा रुचि

उनी सानैदेखि गीत गाउन रुचि राख्थे । उनले दर्जनौँ गीतहरु रचना गर्न र आफैँ गाउने पनि गरेका छन् । मीठो स्वरका धनी उनी राष्ट्रवादी र परिवर्तनकारी गीत रुचाउँछन् ।  आर्थिक अवस्था कमजोर भएका कारण एल्बम निकाल्न नसकेको बताउने उनी भन्छन्, “गीत त एकै छिनमा फुर्छ । जनआन्दोलनताका धेरै परिवर्तनकारी गीतहरु गाएँ ।” उनले वर्तमान समयमा पनि देशभक्ति, सहिद र जनआन्दोलनका घाइतेका पीडा समेत समेटेर गीत लेख्ने तथा गाउने गरेका छन् । उनको गीत मैले गोली खाँदा देश बन्छ भन्ने अति नै मार्मिक छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै