• २०८१ बैशाख १६ आइतबार

आगलागीमा कमजोरी स्वीकार्दै मन्त्रीले दिए राजीनामा

kharibot

लिस्बोन  ।  पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिएका छन् । 

भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उहाँले बुधबार राजीनामाको घोषणा गरेका छन् । आफ्नो राजीनामा पत्रमा उनले भने, “यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु । त्यसैले मेरो राजीनामालाई सबैले स्वीकार्नु हुनेछ भन्ने विश्वास लिएको छु ।” 

उनको राजीनामालाई प्रधानमन्त्री एन्टोनिओ कोस्टले स्वीकृत गर्नुभएको छ । राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री कोस्टले मन्त्री सोउसालाई सार्वजनिक रुपमा धन्यवाद दिए । 

“राजीनामा दिने सही निर्णय गरेकोमा र आफ्नोे जिम्मेबारी पूरा गर्नका लागि हरदम प्रयत्न गरेकोमा उहाँलाई धन्यवाद छ,” प्रधानमन्त्रीले भनेका छन् ।

आगलागीपछिको संकटपूर्ण अवस्थामा व्यवस्थापन गर्न नसकेको, आगलागी नियन्त्रण गर्न नसकेको र आगलागी नियन्त्रणका लागि पूर्व तयारी राम्रोसँग नगरेको भन्दै मन्त्री सोउसाको सार्वजनिक रुपमा चर्को आलोचना भएको थियो । 

गत चार महिनामा मात्रै पोर्चुगलमा भएका आगलागीमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । 

यही आइतबार पोर्चुगलको उत्तर र मध्यक्षेत्रमा झण्डै ५०० ठाँउमा आगलागी भएको थियो । आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टी गरेका छन् । 

यो भन्दा अगाडि पेड्रोगाओ क्षेत्रमा गत जुनमा भएको आगलागीमा परी ६४ जनाको मृत्यु भएको दाबी गरिएको छ । 

मंगलबार राति सयौँ प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले मन्त्री सोउसालाई हटाउन माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले आफ्नो आक्रोश र पीडा व्यक्त गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै