• २०८१ बैशाख १७ सोमबार

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा तीन पुरस्कार प्रदान

kharibot

काठमाडौँ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषाले एक समारोहकाबीच विभिन्न तीन पुरस्कार र सम्मान प्रदान गरेको छ ।

वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार भैरव रिसालको विशेष आतिथ्यमा नेपालीहरुको हितमा काम गर्ने संस्थाहरूलाई तीन पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो ।

महिला तथा वृद्ध सेवा केन्द्र, भीमदत्त नगरपालिका, कञ्चनपुर तथा यसका संस्थापक शारदा देवी चन्दलाई रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि दुई लाख रुपैयाँ र सम्मान पत्र रहेको कोषले जनाएको छ ।

त्यस्तै कोषले द्वन्द्व पीडित तथा अपाङ्ग समाज, सलम्बुटार, शङ्खरापुर नगरपालिका, काठमाडौं तथा यसका संस्थापक युवराज थापालाइ स्वयं शारीरिकरुपमा असक्त भएर पनि असहाय वृद्धवृद्धा तथा मानसिक पक्षाघातका दृष्टिले असक्त बालबालिकालाई गाँस, बास र कपास प्रदान गरी सम्मानित जीवनको अवसर दिलाएकाले रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि एक लाख र सम्मान पत्र रहेको छ ।

त्यस्तै कोषले तेस्रो पुरस्कार बेबी लाइफ होम, भत्केपाटी, कीर्तिपुर, काठमाडौं र यसका संस्थापकद्वय राज कुमार पुन र उमा राई गुरुङ्गलाई आफ्नो पेशा व्यवसाय समेत त्यागी एच.आई.भी. सङ्क्रमित बालबालिकाहरूलाई देशको विभिन्न क्षेत्रबाट ल्याई संरक्षकत्व प्रदान गर्दै आश्रय, पालनपोषण र शिक्षादीक्षाको अवसर प्रदान गरेकाले रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार प्रदान गरेको जनाएको छ । पुरस्कारको राशी एक लाख र सम्मान पत्र रहेको छ । 

सोही समारोहमा यस कोषको कार्यबाट प्रभावित भइ भुटानमा जन्मी झापाको बेलडांगी स्थित भुटानी शरणार्थी शिविरमा ११ वर्ष बसि सन् २००२ देखि नेदरल्याण्डस्मा व्यवसाय र बसोबास गर्दै आएका राम कार्की र जमुना कार्की (दम्पती) ले सहयोग गर्ने इच्छा राखी उपलब्ध गराएकाले रु. एक लाख बीस हजार यस कोषका संरक्षक रामबाबु नेपालले द्वन्द्व पीडित तथा अपाङ्ग समाज, सलम्बुटार, शङ्खरापुर नगरपालिका, काठमाडौंका अध्यक्ष युवराज थापालाई हस्तान्तरण् गरेका थिए ।   

पुरस्कार तथा प्रतिभा छनोट सम्बन्धमा 

स्वयं सेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान गर्नु भएका व्यक्ति वा सामाजिक संस्थाको योगदानको सम्मान गर्ने उद्देश्य राखी रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको स्थापना २०७० सालमा गरिएको थियो । संरक्षक रामबाबु नेपाल र ज्ञानु नेपालले रु. बीस लाखको अक्षयकोष राखी शुरु गर्नु भएको यस कोषमा हाल रु. २९ लाख रहेको छ । कोषमा रहेको रकममा आउने ब्याज तथा संरक्षकद्वयले उपलब्ध गराउने थप रकमबाट २०७१ देखि पुरस्कार प्रदान गरिंदै आएको छ ।  

पुरस्कृत हुने व्यक्ति वा संस्थाको छनोट जात, जाति, भाषा, धर्म, वर्ण, लिङ्ग वा क्षेत्रको कुनै भेदभाव नराखी योगदानको आधारमा निष्पक्ष ढंगबाट गर्ने उद्देश्यअनुरुप कोषले श्री भूपनाथ शर्माज्यूको संयोजकत्वमा श्री विष्णुप्रसाद पन्त, श्री सुवर्ण कुमार कर्माचार्य, श्री गेहनाथ गौतम तथा श्री चण्डेश्वर आचार्य रहेको ५ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले पुरस्कार छनोट गर्न सामाजिक सेवामा लागेका संस्था र व्यक्तिहरुबारे विभिन्न श्रोतवाट सूचना संकलन गरेको थियो । मुलुकभरिबाट प्राप्त हुन आएका सूचनाको प्रारम्भिक विश्लेषण गरी त्यसमध्ये केहीको स्थलगत अवलोकन समेत गरिएको थियो । विभिन्न आधार  लिई (संस्थाको समर्पण लगायत कानूनी रुपमा स्वीकृत, सुशासन र जवाफदेहिताका आधारमा सबल, दिगोपनका हिसाबले विश्वसनीय, व्यवस्थापकीय पक्षबाट चुस्त तथा सामाजिक दृष्टिकोणले प्रभावकारी र समष्टिगत रुपमा प्रतिभावान, उच्च समर्पण भाव र अनुभवले निखारिएका आदि) पुरस्कृत हुने संस्था र व्यक्तिहरुको मूल्याङ्कन गरिएको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै