• २०८१ बैशाख १५ शनिबार

ट्रम्प-किम वाकयुद्ध, ट्वीट गर्दै ट्रम्पले भने - किम जोंग उन पागल मान्छे हो

kharibot

अमेरिका / केही दिनयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाबीच वाक्युद्ध चलेको छ । ट्रम्पले ७२औँ महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनलाई रकेटम्यानको संज्ञा दिँदै उत्तर कोरियाले आणविक मोह नत्यागे पूरै ध्वस्त पार्ने चेतावनी दिएपछि दुई देशबीच तनाव बढेको छ ।

त्यसको जवाफमा उत्तर कोरियाका प्रतिनिधिले राष्ट्रसंघकै कार्यक्रमको सिलसिलामा ट्रम्पको उक्त भनाइलाई कुकुर भुकाइको संज्ञा दिएका थिए । यसलगत्तै उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनले प्रशान्त महासागरमा हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएका थिए । उनले ट्रम्पलाई वृद्ध मान्छेको संज्ञा दिँदै राष्ट्रसंघमा आफू र आफ्नो देशविरुद्ध दिएको धम्कीको ट्रम्पले मूल्य चुकाउनुपर्ने विज्ञप्ति जारे गरेका थिए ।

त्यसको जवाफमा ट्रम्पले शुक्रबार ट्विट गर्दै उनलाई पागल मान्छेको संज्ञा दिएका हुन् । उनले ट्विटमा भनेका छन्, 'किम जोंग उन आफ्नै जनता मार्न समेत पछि नपर्ने पागल मान्छे हो, उसको अहिलेसम्म नभएको परीक्षा लिइनेछ ।'

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा पनि यस्तै हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो । उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित पनि भइसकेको छ ।

यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो । त्यस समय उत्तरले गरेको सो परीक्षणले झण्डै छ म्याग्निच्युडको भूकम्प नै ल्याइदिएको बताइएको थियो । अब यसपछि गर्ने भनिएको आगामी परीक्षण उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले जानकारी दिएअनुसार अहिलेसम्मकै शक्तिशाली हुने भएकोले यसको खतराको बारेमा मापन गर्ने काम सुरु भएको छ ।

उक्त परीक्षण प्यासिफिक क्षेत्रमा गरिने जानकारी पनि उत्तर कोरियाली विदेशमन्त्री रिले दिनुभएको न्युयोर्कबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै