• २०८१ बैशाख १७ सोमबार

ग्रामीण पर्यटन प्रवर्द्धनमा सरकारी पहलकदमी शून्य छ : पर्यटनविद् प्रेम शर्मा 

kharibot

प्रेम शर्मा पेसाले त्रिभुवन विश्वविद्यालयमा एक ग्रामीण विकास विषयका प्राध्यापक हुन् । त्यस्तै उनलाई ग्रामीण पर्यटन विज्ञका रुपमा पनि चिनिन्छ भने गाउँ पर्यटन प्रवद्र्धन केन्द्र (भिटोफ) नामक संस्थाका सल्लाहकार समेत हुन् । ग्रामीण विकाससम्बन्धी उनले पुस्तकहरु, पत्रपत्रिकामा लेखहरू पनि प्रकाशित गरिसकेका छन् । नेपालमा ग्रामीण पर्यटनको सम्भावना, अवसर र चुनौतीलगायतका विषयमा खरीबोट डटकमकी अनिता श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा ग्रामीण पर्यटनको अवस्था र यसको प्रवद्र्धन किन आवश्यक छ बताइदिनुहोस् न ? 

नेपालमा ग्रामीण पर्यटन प्रवद्र्धनको दृष्टिले सन्तोषजनक नभए पनि सम्भावना भने प्रशस्त रहेको छ । खासगरी ग्रामीण क्षेत्रमा छरिएर रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गरेर कम लगानीमै पनि पर्यटक भित्र्याउन सकिन्छ । पर्यटनको प्रवद्र्धन उचित किसिमले हुने हो भने नेपालमा गरिबी उत्थानमा यसले ठूलै भूमिका खेल्ने निश्चित छ । जसबाट गाँउका नागरिक तहमा समेत आर्थिक कारोबार सञ्चालन हुने र गाउँले विकास देख्ने अवसर समेत पाउन सक्छ । त्यसकारण ग्रामीण पर्यटनलाई सरकारी तहबाटै गम्भीर चासो दिन आवश्यक छ । 

यसका लागि अहिलेसम्म के–कस्ता पहलकदमी भएका छन् त ? 

यसका लागि पहलकदमी भइरहेको नै मान्नुपर्छ । ग्रामीण पर्यटन प्रवद्र्धनको पहल पहिलेबाट नै सुरु भएको थियो । त्यसमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि र होमस्टे सञ्चालनमा नीति ल्याउनका लागि होमस्टे सञ्चालन कार्यविधि २०६७ ल्याइएको थियो । ग्रामीण पर्यटनलाई जोड दिन सरकारले राष्ट्रिय रणनीति योजना बनाउन सन् २०११ बाट सुरु गरेर सन् २०१६  मा कार्यान्वयनमा ल्याएको थियो । त्यसपछि यो रणनीतिअन्तर्गत २०१६ देखि २०२५ सम्म १० वर्षे योजनाहरु रहेका छन् । नेपालमा गाउँ पर्यटनको आवश्यकता छ र गाउँमुखी पर्यटन हुनुपर्दछ भन्ने मुख्य नीति समावेश गरिएको यस रणनीतिमा सहरका पर्यटनलाई गाउँसम्म पुर्याउनुपर्छ भनेर जोड दिइएको छ । यही रणनीतिभित्र रहेर गाउँ पर्यटन प्रवद्र्धन केन्द्र (भिटोफ)ले संस्था सञ्चालन ल्याइएको थियो ।  जसको पहिलो अध्यक्ष पर्यटन व्यवसाय सूर्य प्रकाश श्रेष्ठ थिए । 
होमस्टे कार्यविधि भनेर वि.सं. २०६७ मा आए पनि होमस्टे स्थापना भने २०५४ सालमा विधिगत रुपमा सिरुबारीमा पहिलोपटक खोलिएको थियो । यही मितिमा नै गाउँ पर्यटन मञ्च नेपाल भिटोफ भन्ने संस्था पनि दर्ता भएको थियो । यो संस्था गिरिजा प्रसाद कोइरालाको हातबाट उद्घाटन गरेका थिए । समुदायको तर्फबाट र व्यक्तिको तर्फबाट मात्र चलेको थियो । सरकारी संलग्नता भइसकेको थिएन । उदाहरणको लागि हामीले चितवनको सौराहामा थारु संस्कृति देखाएर मनोरञ्जन गराउने चलन थियो । केही गाउँहरुमा पर्यटकहरुले जनजातिसम्बन्धीका अनुसन्धान समेत गर्नथाले । 

सरकारको चासोचाहिँ कहिलेदेखि रहेको मान्ने ? 

यस्तो छ – समुदायको तर्फबाट गाउँ पर्यटनको विषयमा धेरै पहिलेबाट नै पहल गर्दै आइरहेको नै थियो । तर सरकारले भने त्यसमा भएका समस्याहरुलाई समाधान र होमस्टेहरु सञ्चालनमा ल्याउन नीति नै ल्याउने महसुस गर्यो । त्यसैको फल हो होमस्टे सञ्चालन कार्यविधि २०६७ । नेपालको पर्यटन नीति २०६५ मा नेपालमा सहरकेन्द्रित भएको पर्यटनलाई गाउँतर्फ उन्मुख गराउन आवश्यक छ भन्ने कुरा उल्लेख गरी उक्त कार्यविधि ल्याइएको हो । 
हुन त सरकारले पर्यटन योजना सन् १९७१ मा पनि ल्याएको थियो । तर यो बाह्य पर्यटकहरु बारेमा कसरी गतिविधि गर्ने भन्ने बारेमा योजना तयार भएको थियो । नेपालमा  पर्यटनको सुरुवात पर्यटक आएसँगै भएको थियो । त्यसपछि पर्यटकहरु हिमाल चढ्न थाले । उनीहरुलाई गाइड चाहियो, बस्ने ठाँउ चाहियो, त्यसपछि विस्तार विस्तारै होटल बन्यो र त्यसपछि हिमाल चढ्ने पर्यटनहरु आइसकेपछि विभिन्न ट्रेकिङ रुटहरु बन्दै गए अनि समस्याहरु बढ्दै गए । त्यसपछि सरकारले नीति पनि बनाउँदै लग्यो ।

त्यसो भए कार्यविधि आउनुअघि सरकारलाई ग्रामीण पर्यटनबारे वास्ता नै थिएन त ? 

वास्ता नै थिएन त नभनौँ होला तर ०६५ मा पर्यटन नीति आएपछि भने अलिक बढी चासो सरकारले राख्नथालेको हो । उक्त नीति आउनुभन्दा अगाडि पर्यटक आउँछन्, खान्छन्, जान्छन्, तिनीहरुलाई कसरी घुमाउने भन्ने मात्र थियो तर गाउँ पर्यटन के हो भन्ने थिएन र अहिले पनि यही निजी क्षेत्रका संघ÷संस्थाहरुले बाह्य पर्यटकहरुलाई विभिन्न ग्रामीण गतिविधिमा सरिक गराएको छ, तर सरकारको त्यस्तो कार्य छैन ।

ग्रामीण पर्यटनको चिन्ता सरकारलाई भन्दा निजी क्षेत्रलाई बढी देखियो भन्ने बुझ्दा हुन्छ ? 

हो, यसरी बुझ्दा पनि हुन्छ । किनभने निजी क्षेत्रहरुले गरेका कार्यहरु ग्रामीण पर्यटन क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नका लागि रहेको देख्न सकिन्छ । जस्तै, भिटोफ नेपालले नै नीतिगत तर्फबाट कार्यक्रम योजनाका साथ ल्याएको छ, जसले होमस्टेहरु प्रवद्र्धन गर्ने कुरा उजागार गरेका थिए । भिटोफमा आबद्ध भएका व्यक्तिहरुले नै लमजुङको घले गाउँमा पर्यटन लगेर होमस्टे सुचारु गरेका थिए । अहिले भने केही अन्तर्राष्ट्रिय संघ÷संस्थाहरुले पनि चासो र संलग्नता जनाएका छन् ।

ग्रामीण पर्यटनका फाइदाहरु के के छन् ? 

यसका त धेरै फाइदा छन् नि । जस्तै डब्लुडब्लुएफले वन्यजन्तुहरु संरक्षणसम्बन्धीको अवधारणामा पर्यटन मिसाइदिएर वन संरक्षण पनि भएको छ । आएका पर्यटकहरुलाई वन्यजन्तुमा घुमाएर वनसम्बन्धी अध्ययन पनि गर्न सकिन्छ । यसबाट धेरै फाइदा हुन्छ । यस्तो व्यवस्थाले तराईका गैरकानुनी चोरीशिकारहरु नियन्त्रणमा सहयोग पुग्छ । जस्तै राष्ट्रिय चितवन निकुञ्जमा गैडा मारिँदै गए, त्यसलाई रोक्न ठाउँ–ठाउँमा होमस्टेको व्यवस्थापन गरियो ।

डल्लाका एक वन उपभोक्ता मंगल थारुले भनेका थिए, “हिजो हामीले मारेर एक जनाले एक दिन मात्र फाइदा लिएका थियौँ र अहिले संरक्षणपश्चात् पर्यटकहरु दिनदिनै आउँछन् र धेरै जनालाई फाइदा भएको छ ।’ यसको मतलब तिनीहरुले सकारात्मक तरिकाले यसको प्रयोग गरेका छन् । त्यस्तै लमजुङको काउलेपानीमा जसलाई प्रवद्र्धन गर्ने बेलामा राजदूतहरु लिएर गएका थिए । त्यस समयमा सबै जातिहरुले आआफ्नो पहिचानमा र सबै जातिहरु सम्मेलन भएका थिए । यसरी सबै जना मेलमिलाप भएर अगाडि बढेमा एकले उत्पादन गरेका उत्पादित वस्तुहरु अर्कोसँग मिलाएर आकर्षक बनाउन सकिन्छ । यसका धेरै फाइदाहरु रहेका छन् । 

नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन के गर्नुपर्ला ?

हेर्नुस्, पर्यटन क्षेत्र एउटा आकर्षण हो । जसले विभिन्न प्रकारका आकर्षणहरुबाट प्रभावित भएर पर्यटकहरु घुम्न आउने गर्छन् । जस्तै पोखराको आकर्षण, लुम्बिनीको आकर्षण, काठमाडौंको नेवारी संस्कारले गरेको आकर्षणले पर्यटकलाई आकर्षित गर्छन् । तिनै आकर्षणले गर्दा उनीहरु नेपाल घुम्न आउने हुन् । अब नेपाल आइसकेका पर्यटकलाई ग्रामीण क्षेत्रमा पनि लैजान उनीहरुको लागि केही न केही आकर्षित वस्तु हुनुपर्दछ । त्यसको लागि गाउँमा भएका स्रोत साधनहरु र उत्पादित वस्तुलाई नै प्रयोग गरेर पर्यटनहरुलाई आकर्षण गर्न सकिन्छ । यसो हुन सक्यो भने नेपालमा धेरैभन्दा धेरै पर्यटकलाई ल्याउन सकिन्छ जस्तो लाग्छ । 

सिंगो पर्यटन र ग्रामीण पर्यटनबीचको अन्तर्सम्बन्धबारे पनि केही बताइदिनुहोस् न ? 

सिङ्गो पर्यटन र ग्रामीण पर्यटन माध्यममा मात्रै फरक रहेको छ । दुवैको उद्देश्य भने एउटै हुन्छ । ग्रामीण पर्यटन क्षेत्रमा गाउँका वस्तुहरु आकर्षण हुने गर्दछ भने सिङ्गो पर्यटनमा गाउँ, सहर र अन्तर्राष्ट्रियस्तरका सबै वस्तुहरु आकर्षण हुने गर्दछन् । प्राकृतिक सौन्दर्य त्यस क्षेत्रमा रहेको जनजाति हामी नेपालीहरुसँग भएको अतिथि देवोः भव भन्ने भाव नै पर्यटक आकर्षण गर्ने कारक तत्व हो । नेपालमा खोलानाला, वनजङ्गल, वन्यजन्तु र नेपालीले आफैँले तयार गरेका मठमन्दिर, भेषभूषा रीतिरिवाज खानपान नै पर्यटन आकर्षण गर्ने चिज हुन् । दुवै पर्यटन एकअर्काका परिपूरकका रुपमा रहेको हुनाले दुवैलाई प्रवद्र्धन गर्न आवश्यक छ ।

अब त नेपालमा संघीयता आएको छ भने स्थानीयतहमा समेत सरकार बनेका छन्, ग्रामीण पर्यटन प्रवद्र्धनमा उनीहरुको भूमिकाचाहिँ कस्तो हुन्छ ?

स्थानीय  सरकारले ग्रामीण पर्यटनको महत्व बुझ्नसकेको छैन जस्तो लाग्छ । किनभने पोखरामा प्राकृतिक चिजहरु मात्र देखाएको अवस्था छ । उनीहरुलाई सांस्कृतिक चिजहरु देखाउने र ती चिजहरुचाहिँ कति महत्वपूर्ण छन् भन्ने पनि देखाउनुपर्ने हो तर स्थानीय सरकारले यसलाई बुझ्नसकेको छैन । कानुनी प्रावधान केही नभएकाले रेष्टुरेण्टहरुले होमस्टे लेखिरहेका छन्, किनकि मानिसहरुलाई होमस्टेले आकर्षण बढाएको हुन्छ । जस्तै बन्दीपुरमा होटल छ तर त्यसमा होमस्टे पनि लेखिएको छ । यसमा स्थानीय सरकारले चासो दिनुपर्ने हो, आवश्यक कारबाही गर्नुपर्ने हो । त्यसमा चासो नै देखिएको छैन । 

ग्रामीण क्षेत्रमा घुमफिर गर्ने पर्यटकहको संख्या नगन्य संख्यामा अन्तर्राष्ट्रिय पर्यटकहरु रहेका छन् । उनीहरु पदयात्री हुन् । यात्रा गर्दा बास बस्नका लागि पुग्ने र अर्को निश्चित गाउँको रीतिरिवाज हेर्ने भनेर पुग्ने पर्यटक रहेका छन् । कुनै हुन्छन् अनुसन्धान गर्नेका लागि जस्तै राउटेहरुको अवस्था कस्तो छ भनी बुझ्नका लागि पर्यटकहरु जाने गर्दछन् । त्यसो हुँदा उनीहरुलाई आवश्यक सरसहयोग, सुविधा उपलब्ध गराउनेलगायतका दायित्वहरु अब स्थानीय सरकारको पनि भएकाले ग्रामीण पर्यटन प्रवद्र्धनमा उनीहरुको भूमिका महत्वपूर्ण हुन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै