• २०८१ बैशाख १७ सोमबार

 ‘बारा सेज’ व्यवस्थापनमा चुनौती

kharibot

बारा । बाराको विशेष आर्थिक क्षेत्र ‘सेज’ निर्माण क्षेत्रमा नीजि संरचना बन्ने क्रम नरोकिंदा यसले सेज व्यवस्थापनमा चुनौती थप्ने देखिएको छ । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने ८ सय ३२ विगाहा क्षेत्रफल जमिनमा सरकारले विशेष आर्थिक क्षेत्र निर्माण थालेपनि त्यहाँका स्थानीयले सेजको जग्गामा नीजि संरचना बनाउने कार्य रोकेका छैनन् । 

८ सय ३२ विगाहा जमिनलाई कुल ५ वटा ब्लकमा विभाजन गरि सेज निर्माण कार्य भइरहेको छ ।  जस मध्ये जीतपुरसिमरा ४ मा १, १४ मा २ र १५ मा २ वटा ब्लक रहेका छन् । 

सिमरा–डुमरवाना सडक खण्डको विचमा पर्ने दुधौरा खोला पस्चिम तर्फ रहेको ब्लक ‘ए’ मा सेज निर्माणको काम धमाधम अघि बढिरहेकाले ब्यक्तिले नीजि संरचना बनाउने समस्या छैन तर दुधौरा खोला पुर्व १४ र १५ नम्बर वडामा अहिले पनि सेजमा नीजि संरचना थपिने क्रम बढिरहेकाले सेजको निर्माण र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका १४ मा पर्ने स्याउली चोकमा अहिले स्थानीय केहि व्यक्तिले पक्कि घर बनाईरहेका छन् । यस्तै १५ नम्बर वडामा पर्ने भारती चोकमा पनि उस्तै समस्या छ । १५ नम्बर वडाकै भवानीपुर, सुक्लैया क्षेत्रमा पनि स्थानीयले सेजको जग्गामा नीजि संरचना बनाईरहेका छन् । 

अटेर गर्दै स्थानीय

विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिमरा औराहामा रहेको साइट कार्यालयका अनुसार स्थानीयबासीलाई पटक–पटक नीजि संरचनाहरु नबनाउन आग्रह गरिएको छ । कार्यालयका सब इन्जिनियर अजय चौधरीका अनुसार स्थानीय प्रशासन मार्फत पनि नीजि संरचना थप गर्न नदिन सेजले पहल गरेको छ । 

सेजको जग्गामा स्थानीयले बनाउदै गरेको घर, तस्बीर : श्याम गुप्ता

तस्बीर : विशेष आर्थिक क्षेत्र(सेज)को जग्गामा निर्माणाधिन घर । श्याम गुप्ता

............................................................................................................

जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले पनि स्थानीयलाई सेजको जग्गामा घरटहरा निर्माण नगर्न पटक पटक आग्रह गरेका छन् । नगरप्रमुख डा. कृष्ण पौडेलले सेजको जग्गामा नीजि संरचना नबनाउन मौखिक तथा लिखित रुपमा समेत स्थानीयलाई सचेत गराएको बताए । ‘सेजको जग्गाबाट स्थानीयबासी हट्नै पर्ने भएकाले आफ्नो लगानी नडुवाउन हामिले स्थानीयलाई पटक–पटक आग्रह गरिरहेका छौं’ नगरप्रमुख पौडेलले भने । 

जीतपुरसिमरा १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले वडा स्तरबाट आफूहरुले गरेको आग्रहलाई स्थानीयले अटेर गरेपछि मन्त्रालय सम्मनै जानकारी गराएको बताए ।

‘सेजको जग्गामा भएका संरचनाको व्यवस्थापन चुनौती बनिरहेका बेला नयाँ संरचना थपिंदै गएकाले हामिले स्थानीय प्रशासन र उद्योग मन्त्रालय सम्मनै यसको नियन्त्रणका लागि पत्राचार गरेका छौं’ वडा अध्यक्ष रामप्रसाद लामिछानेले भने । 

विशेष आर्थिक क्षेत्र ‘सेज’ सहयोग समितिका संयोजक समेत रहेका जीतपुरसिमरा १४ का स्थानीय कृष्णदेब चौधरीले आफूहरुको आग्रहलाई स्थानीयले अटेर गरिरहेको भन्दै प्रशासनले यसको नियन्त्रणका लागि पहल चाल्नुपर्ने बताए । ‘गाउँ घरमा रहेर आँफूहरुले झैझगडा गर्नुभन्दा प्रशासनले यसमा चासो दिए हुन्थ्यो’ चौधरीले भने । 

बाराका प्रमुख जिल्ला अधिकारीले सेजको जग्गामा नीजि संरचना बन्ने क्रम बढेको विषयमा आफूहरुकहाँ स्थानीय निकायले जानकारी गराईसकेको र त्यसलाई रोक्ने प्रकृया अघि बढाईएको बताए । ‘जीतपुरसिमरा उपमहानगरपालिका र सेजबाट हामिकहाँ उजुरी आएको थियो, त्यसलाई रोक्न हामिले प्रकृया अघि बढाइसकेका छौं’ प्रजिअ ले भने । 

जग्गा पाइने प्रलोभनमा खरिद विक्री  

बीरगञ्ज चिनी कारखानाले उखु खेती गर्न छाडेपछि स्थानीयबासीले खेती गर्दै आएको विशेष आर्थिक क्षेत्र निर्माण हुने उक्त जग्गा स्थानीयबासी विच खरिद विक्री समेत हुने गरेको पाईएको छ । 

जीतपुरसिमरा उपमहानगरपालिका १५ भारतीचोकमा १० धुर जग्गामा २ लाख रुपैयाँ खर्च गरेर चार महिना अघि घर बनाएकी एक स्थानीयले आँफूले ६५ हजार रुपैयाँमा उक्त जग्गा खरिद गरेको जानकारी दिइन् । नाम नछाप्ने शर्तमा सेजको जग्गा आँफूलाई विक्रि गर्ने स्थानीय एक आफन्तको नाम समेत उनले बताईन् । 

उनि जस्तै सेजको जग्गा खरिद गरेर घर बनाउनेको संख्या जीतपुरसिमरा १४ र १५ मा एकसय भन्दा बढि छ । सबैलाई जग्गा विक्रि गर्नेले उक्त जग्गाको लालपुर्जा समेत पाईने र त्यहाँबाट हट्नै पर्ने भए अन्यत्र मुआव्जा पाईने प्रलोभन देखाएका छन् । यसबाहेक सयौं घरधुरी सेजको जग्गामा बसोबास गर्दै आएका छन् । 

सेजको जग्गामा संरचना नबनाउन आग्रह

विशेष आर्थिक क्षेत्र ‘सेज’ निर्माण भइरहेको क्षेत्रमा नयाँ घरटहरा तथा अन्य संरचना नबनाउन स्थानीयबासीलाई बारा जिल्ला प्रशासनले  डुमरवानाका स्थानीयलाई सेजको जग्गामा संरचना बनाएर लगानी नडुबाउन आग्रह गरेको छ । ‘तत्काल सेजमा रहेका संरचनाहरु हटाउने प्रकृया अघि बढ्ने भएकाले कुनैपनि भ्रममा परेर सेजको जग्गामा घरटहरा तथा अन्य संरचना बनाउने काम नगर्न म आग्रह गर्दछु’ प्रजिअले भने । 

जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहा, १४ को दुधौरा खोला पुर्व रजघट्टा, वेहरी क्षेत्र यस्तै १५ को वालगंगा खोला पश्चिम सुक्लैया, डुमरवाना र हातीसार क्षेत्रमा विशेष आर्थिक क्षेत्र निर्माण भइरहेको छ । कुल ८ सय ३२ विगाहा मध्य ३४३ विगाहामा फैलिएको जीतपुरसिमरा ४ औराहा तर्फको ‘ए’ व्लकमा गार्मेन्ट प्रोसेसिङ जोन निर्माण भइरहेको छ । 

जीतपुरसिमरा १४ मा पर्ने व्लक ‘बी’ र व्लक ‘सि’ यस्तै जीतपुरसिमरा १५ मा पर्ने ब्लक ‘डि’ र ब्लक ‘इ’ मा कम्पाउण्ड वाल निर्माणको क्रम चलिरहेको छ । सिमरा स्थित विशेष आर्थिक क्षेत्र सेजको फिल्ड कार्यालयका अनुसार जीतपुरसिमरा १४ र १५ मा पर्ने चारवटै ब्लकको थप कम्पाउण्ड वाल निर्माणका लागि समेत प्रकृया अघि बढिसकेको छ ।  

ब्लक ‘बी’ मा १२८ विगाहा, ब्लक ‘सि’ मा ४९.५ विगाहा, ब्लक ‘डि’ मा १७८.५ विगाहा र ब्ल ‘इ’ मा १३३ विगाहा क्षेत्रफल जमिनमा विशेष आर्थिक क्षेत्र निर्माण  हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै