• २०८१ बैशाख १७ सोमबार

दीर्घकालीन पार्किङ निर्माणको तयारीमा महानगर, महांकाल मन्दिरदेखि सहिदगेटसम्म अन्डरग्राउण्ड पार्किङ ! 

kharibot

काठमाडौं । देशकै राजधानी रहेको काठमाडौँ महानगरले यहाँका मुख्य समस्या सवारीसाधन पार्किङ गर्ने स्थलको खोजी सुरु गरेको छ । आगामी आवमै महानगरले स्मार्टपार्किङका लागि तयारी थाल्ने भएको हो । 

आगामी साउन १ गतेबाट स्मार्ट पाकिङ्ग निर्माण गर्नलागेकोबारे काठमाडौँ महानगरपालिकाका निर्देशक नमराज ढकालले जानकारी दिएका हुन् । उनले भने, ‘महानगरमा छिट्टै स्मार्टपार्किङ बनाउन सुरु गरिनेछ, नमूनाको लागि न्युरोड र दरबारमार्गमा बनाउन लागेका छौँ ।’ 

महानगरको  पार्किङ्गलाई थप व्यवस्थित गर्न स्मार्टपार्किङ्गको अवधारणा ल्याएको उनले बताए । विगतमा काठमाडौँ महानगरले सशुल्क पार्किङ सञ्चालन गर्दै आएको थियो । तर स्थानीयले महानगरपालिका सेवाभन्दा पनि आम्दानीको पाटोलाई हेर्यो, जताततै पार्किङ्ग राखेर पैसा उठाउँछ भन्ने गुनासो आएपछि सबै सशुल्क पार्किङलाई खारेज गरेर तोकिएको ठाउँमा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो । 

यता पुनः अस्तव्यस्त हुनथालेपछि स्थानीय स्तरमै सशुल्कै भए पनि पार्किङको व्यवस्था मिलाउन माग आएको महानगर बताउँछ । त्यसपछि न्युरोड, दरबारमार्ग लगायतका सशुल्क पार्किङ गरेकै ठाउँमा केही स्थान छोडेर निःशुल्क पार्किङको व्यवस्था गरिएको थियो  । 

तीबाहेक स्थानमा पार्किङ गर्दा १ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था थियो । पछिल्लो  समय निःशुल्क पार्किङ झन् अस्तव्यस्त र असुविधाजनक भएपछि झन् समस्या थपिँदै गएको उनको भनाइ छ । 

‘निःशुल्क पार्किङ गर्दा धेरै सवारी मात्र अट्ने, झिक्दा र राख्दा पनि अप्ठ्यारो तथा टुटफुुट समेत भयो,  जसले गर्दा आमनगरवासीको भनाइअनुसार पुनः सशुल्क पार्किङ गर्छौँ’, ढकालले भने ।  

यस्तो छ तयारी 

पार्किङ र बस स्टपको बारेमा अध्ययन गरेर प्रतिवेदन दिन समिति गठन गर्ने उनको भनाइ छ । सरकारका निकाय ट्राफिक प्रहरी महाशाखा,  यातायात व्यवस्था विभाग र सडक विभागका प्रतिनिधिसहित कमिटी गठन गरेर पार्किङग तथा बस स्टप र  पाकिर्ङको लागि दीर्घकालीन र अल्पकालीन कहाँ कहाँ गर्न सकिन्छ , त्यहाँ पार्किङको  ठाउँ अवलोकन भएको उनले बताए । त्यस्तै बसलाई पिक एण्ड ड्रप मात्रको व्यवस्था गर्न सबै निकायलाई महानगरले अनुरोध गरेको छ । “बसले मान्छे कुर्ने हैन मान्छेले बस कुर्नुपर्छ”, ढकालले भने । 

त्यसको लागि महानगरले बस स्टप पहिचान गरेर बस स्टप बनाइदिनुपर्ने आवश्यकता औँल्याइएको प्रतिवेदन महानगरले प्राप्त गरेको ढकालले बताए । उनका अनुसार प्रतिवेदनमा अल्पकालीन पार्किङ व्यवस्था सडककै क्षेत्रमा हुनेछ भने दीर्घकालीन पार्किंगको खोजी गरिनेछ । 

खुल्लामञ्चमा पार्किङ !

उसै त साँघुरो र खुल्ला स्थान भएन भनेर उपत्यकामा महानगर र सरकारको आलोचना हुँदै आइरहेको अवस्थामा महानगरले पनि दीर्घकालीन पार्किङको लागि खुल्लामञ्चलाई नै रोज्ने देखिएको छ । यसबाहेक धर्मपथ र निजी क्षेत्रलाई समेत समेत पार्किङ स्थल निर्माण तथा प्रवद्र्धन गर्न केही कार्यक्रमहरु आएको महानगरले बताएको छ । 

अल्पकालीन पार्किङको लागि पहिचान भएकोलाई टेण्डरमार्फत अघि बढाउने तयारी महानगरले गरेको छ । दीर्घकालीन पार्किङ गर्न महाङ्कालमन्दिरको दक्षिणतर्फ सहिदगेटसम्मको लागि अन्डर ग्राउण्ड पार्किङ स्थल बनाउने महानगरले सोच बनाएको छ । त्यस्तै काठमाडौंका बागमती, विष्णुमती, धोबीखोला , इच्छामती क्षेत्रका करिडोर निर्माण गर्दा पनि केही हेदसम्म पार्किंगको समस्या सहज हुनेछ । 

बाहिरी क्षेत्रको पार्किङ महंगो 

त्यस्तै भित्री क्षेत्रको तुलनामा बाहिरी क्षेत्रको पार्किङ भने अली महङ्गो पर्ने भएको छ । यसको लागि ठूलो बसमा लगानी गर्न आवश्यक देखिन्छ । तर सार्वजनिक यातायात व्यवस्थित भए दुई पाङ्ग्रे सवारीसाधन कम हुने अनुमान ढकालको छ । बिहान छिटो र राति अबेरसम्म सार्वजनिक सवारी नियमित गर्नसके साना सवारीको व्यवस्थापन हुनेछ  ।

जसको लागि अन्डर ग्राउण्ड समेत राख्न सकिन्छ । त्यस्तै सही समय सही ठाउँ नो ट्राफिक जाम भन्ने धारणा महानगरले ल्याएको उनले बताए । सडक जाम ट्राफिक प्रहरीको कारणले नभएर जथाभावी पार्किङ गरेकोले भएको छ भन्ने लाग्छ ढकाललाई । यसको लागि पार्किङ, लेन अनुशासन, बसस्टप,  आकाशे पुल, जेब्राक्रसिङ, ट्राफिक लाइटजस्ता कुरामा ध्यान दिनुपर्ने देखिन्छ । 

न्युरोड र दरवारमार्गमा पाइलट प्रोजेक्ट

जमिनमा राख्ने सवारीसाधनको लागि निजीस्तरबाट न्युरोड, दरबार मार्गको लागि प्रस्ताव आएको र यी दुई ठाउँमा पाइलट प्रोजेक्टको रुपमा हेरिने भन्दै ढकालले भने, ‘र यो प्रभावकारी भएमा अन्य ठाउँमा विस्तार गरिँदै लगिनेछ ।’ सिसि क्यामरा तथा एप्समार्फत जानकारी ती स्थानमा पार्किंगको अनुगमन गरिनेछ ।     स्मार्ट पार्किङको ठाउँ पहिचान भइसके पछि यो एग्रिमेण्टको प्रोसेसमा जाने तयारी भइरहेको समेत ढकालले बताए । उनको भनाइ अनुसार यो महिनाभरमा नगरसभाबाट बजेट पास गरेर कार्ययोजनासहित साउन १ गतेबाट सबै व्यवस्थित ढंगले बजेटका सबै नीति तथा कार्यक्रमहरु कार्यन्वयन हुनेछन्  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै