काठमाडौँ । ब्राजिलका फुटबल स्टार नेइमारको यस विश्वकपमा खेलको भन्दा मैदानमा लडेको चर्चा बढी भएको छ ।
नेइमारले यस विश्वकपमा आफ्नो उत्कृष्ट सुरुवात गरेको कुरामा त कुनै विवाद रहेन । तर विपक्षी खेलाडीले छुना साथ लडी हाल्ने उनको व्यवहारले संसारभरिका फुटबल र ब्राजिलका फ्यानहरु अचम्ममा परेका छन् । उनलाई सामाजिक संजालमा ट्रोल गरिएको छ ।
फुटबल विश्लेषक तथा पुर्वखेलाडीहरुले पनि विश्वका उत्कृष्ट खेलाडी नेइमारको यो व्यबहारको आलोचना गरेका छन् । उनीहरुले नेइमारले आफ्नो ब्रान्ड बिगारेको र मजाकको पात्र बनेको बताएका छन् ।
नेइमारको विश्वकपमा यसै लडी हाल्ने प्रसंगलाई स्विटजरल्याण्डको एउटा ब्रोडकास्टर कम्पनि आरटिएसले थप विस्तृतमा अध्ययन गर्दै एक डाटा प्रकासित गरेको छ । जसअनुसार नेइमारले विश्वकपमा खेलेका ४ खेलमा उनी ३६० मिनेट खेलेका छन् जसमा उनी १४ मिनेट मैदानमा लडेर बिताएका छन् ।
२६ बर्षिय नेइमारले प्रति खेल २१० सेकेन्ड अर्थात करिब साढे ३ मिनेटको समय मैदानमा लडेर बिताएका छन् । सो अध्ययनले नेइमार विश्वकपको अन्तिम १६ को मेक्सिको विरुद्धको खेलमा त साढे ५ मिनेट मैदानमा लडेर बिताएको पाइएको छ ।