• २०८१ बैशाख १७ सोमबार

नेपाली गोरखाकै सुरक्षा पहरामा अमेरिकी र उत्तर कोरियाली राष्ट्रपतिको सिंगापुर सम्मेलन !

kharibot

तस्बिर : REUTERS

सिंगापुर (रोयटर्स) । यही जुन १२ मा विश्वकै दुई शत्रुदेशका नामले परिचित अमेरिका र उत्तर कोरियाका राष्ट्रपतिबीच सिंगापुरमा हुन लागेको ऐतिहासिक शिखर सम्मेलनको सुरक्षा पहरा त्यहाँस्थित गोरखा प्रहरीले दिने भएको छ । रोयटर्सले गोरखाहरुलाई विश्वकै खतरनाक योद्धा भन्दै उनीहरुले नै डोनाल्ड ट्रम्प र किम जोङ उनको भेटघाटको सुरक्षा दिने जनाएको हो । 

यद्यपि दुवै राष्ट्रपतिका आआफ्नै सुरक्षा टोली हुने नै छन् तर सिंगापुर प्रहरीको गोरखा कन्टिनजेन्टले कार्यक्रमस्थल, सडक र उनीहरु बस्ने होटलको सुरक्षा दिने सिंगापुरका वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धरण गर्दै समाचारमा जनाएको छ ।

सिंगापुरमा अरुबेला गोरखाहरुको सामान्य उपस्थिति भए पनि गत हप्तान्तमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी सुरक्षा सचिव जिम्स म्याट्टिस र अन्य क्षेत्रीय मन्त्रीहरु सम्मिलित सुरक्षा सम्मेलनका बेला शांग्रिला होटलवरपर उनीहरुको बाक्लो उपस्थिति देखिएको थियो । 

गोरखाहरु नेपालका नागरिक हुन् । उक्त समयमा गोरखाहरुले बेल्जियन एफएनस्कार कम्ब्याट राइफल र पेष्टोलले सुरक्षा पहरा दिएका थिए । त्यसलाई दुई राष्ट्रपतिको सम्मेलनको तयारीका रुपमा हेरिएको हुनसक्ने सुरक्षा विज्ञहरुले विश्वास गरेका छन् ।

यी सबै आधुनिक हतियारका बाबजुद पनि गोरखाहरुले परम्परागत हतियार खुकुरी कहिल्यै छोड्दैनन् । दुई राष्ट्रपतिको सम्मेलनमा पनि गोरखाहरुले खुकुरी बोकेर पहरा दिने विश्वास गरिएको सिंगापुर आम्र्ड फोर्सका जानकार इन्टरनेशनल इन्स्टिच्यट फर स्ट्राटेजिक स्टडिजका टिम हक्सले बताए ।

गोरखाहरुले जस्तोसुकै परिस्थितिको पनि कमाण्ड गर्नसक्ने खूबी भएको उनको भनाइ छ । यद्यपि सिंगापुर प्रहरीका प्रवक्ताले भने उक्त समिटमा गोरखा प्रहरी परिचालनबारे प्रतिक्रिया दिएनन् । सिंगापुरमा करिब १८ सय गोरखाहरु रहेको मानिएको छ । करिब २ सय वर्षयता नेपालका गोरखाहरुले बेलायत, भारत र सिंगापुरमा सुरक्षा निकायमा रहँदै आएका छन् ।

१९औँ शताब्दीमा नेपाल अंग्रेज युद्धपछि गोरखाहरुलाई उक्त देशहरुले सुरक्षाको अभिन्न अंग मान्दै आएका छन् । गोरखाहरुले दुवै विश्वयुद्धमा फकल्यान्ड युद्धदेखि अफगानिस्तानको पछिल्लो युद्धमा समेत परिचालित भएर युद्ध लडेका छन् । सिंगापुरमा गोरखाहरुले तटस्थ भूमिकामा विविधतापूर्ण जनसंख्यामा सेवा दिनेदेखि भीआईपी र दंगा नियन्त्रणसम्ममा परिचालित हुने गरेका छन् । क्षेत्रीय अस्थिरताका बेला मलेसियासँगको सीमामा पनि गोरखाहरुकै सुरक्षा पहरा रहेको बताइएको छ । सिंगापुर प्रहरीले गोरखाहरुको भूमिकालाई सधैँ सम्मान गर्ने गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै