• २०८१ बैशाख १५ शनिबार

 चार जिल्लाका ६ सय ७५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट सञ्चालनमा 

kharibot

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १ सय ८७, काभ्रेपलाञ्चोक जिल्लाका २ सय ८९, नुवाकोट जिल्लाका १ सय ५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ ।  

भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७ सय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हाल सम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । आगामी असार मसान्त सम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको छ । 

समग्रमा हालसम्म २ सय ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १ सय ४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २ सय ४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६२ विद्यालय, काभ्रेपलाञ्चोकका १२६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०५ विद्यालय, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । 
 
कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थान अनुसार वाइम्याक्स बेस स्टेशन, थ्रीजी डिभाइस र ईभीडीओ उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ । सर्भिस प्वाइन्टमा आवश्यकता अनुसार वाइम्याक्स, जीएसएम, सीडीएमए र एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको छ । 

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ वैशाख २१ मा भएको सम्झौताअनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।

यस आयोजना अन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्ने टेलकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाएकी हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय