• २०८१ बैशाख २९ शनिबार

उपमेयर हरिप्रभा भन्छिन्, ‘स्मार्ट सिटी होइन पहिला काठमाडौँलाई व्यवस्थित गरौ’

kharibot

काठमाडौं । भक्तपुर जिल्लामा आमा लक्ष्मीप्रभा र बुबा हरिश्चन्द्र श्रेष्ठको जेठी सन्तानको रुपमा २०२५ सालमा जन्मिएकी हुन् हरिप्रभा खड्गी श्रेष्ठ । दुई भाइ र दुई बहिनीमध्ये उनी जेठी हुन् । हाल कुरा गर्ने हो भने उनका बाबुआमा दुवैको मृत्यु भइसकेको छ । उनको एक छोरा र एक छोरी अमेरिकामा बस्छन् । उनको श्रीमान् प्रकाश खड्गी पाटन क्याम्पसमा प्रोफेसर छन् ।

उनको बाल्यकाल भक्तपुरमा सुखसँग नै बित्यो । त्यसैले त उनी बाल्यकाल भन्नेबित्तिकै रोकतोकविनाको स्वतन्त्र समय भन्ने सम्झिन्छिन् । उनी भन्छिन्, ‘रोकतोक नभएको आफ्नै तालमा खेल्ने, रमाउने त्यो क्षण बाल्यावस्थाको जस्तो रमाइलो अरु कुनै क्षण छैन ।’ साथीभाइ, जम्मा हुने, रमाइलो गर्ने, उटपट्याङ गर्ने, नगर भनेको काम गर्ने, आमाबाबुको आँखा छलेर घुम्न जानेलगायतका कुरा उनी बाल्यकाललाई फर्केर हेर्दा सम्झिन्छिन् ।

जागिरे बुबाको सरुवासँगै उनले पनि विभिन्न स्थानहरु डुल्ने र घुम्ने मौका पाइन् । बच्चै बेलामा उनले बाह्रबीसे, नवलपरासी, वीरगञ्ज, कलैयालगायका धेरै ठाउँ घुम्ने मौका पाइन् । त्यसैले त उनको पढाइ बुवाको जागीरको सरुवा सँगसँगै सरिरह्यो ।  कुनै बेलामा त ६÷६ महिनामै स्कुल फेरेको सम्झना छ उनलाई ।

जब उनी ९ कक्षा पढ्ने भइन् र स्थिर भएर भक्तपुरमा नै बसेर पढ्न थालिन् । उनले कानुनमा आईए पास गरेकी छिन् । उनले पिकेमा डिप्लोमा पनि सुरु गरेकी थिइन् तर घरायसी कारण उनको पढाइ पूरा हुन पाएन ।

क्याम्पसबाट राजनीति सुरु

ल क्याम्पस पढ्दाताका नेविसंघमा आबद्ध भइसकेकी श्रेष्ठको राजनीतिक सुरुवात भने कलेज सुरु गरेसँगै भयो । उनी भन्छिन्, ‘मेरो राजनीतिक पृष्ठभूमि मेरो परिवार हैन, मैले राजनीति गरेको परिवारमा थाहा थिएन ।’ तर २०४२ सालबाट भने उनी खुलेरै पूर्ण रुपमा राजीतिमा लागिन् । त्यसपछि उनको विवाह भयो  । सँगै २०४५ सालको आन्दोलन पनि सुरु भयो । आन्दोलनबाट भागेर आएकालाई खाना, बस्न दिने सासुको त्यो समाजसेवी भावना देखेर हौसला बढेको उनको भनाइ छ ।

यसै सन्दर्भमा उनको घर टार्गेटमा पर्यो र गोविन्द्र अग्रवाल बितेको दिन उनीमाथि पनि आक्रमण भयो । झ्यालमा  हिर्काएको सिसा  फुटेर उनको आँखामा पस्यो निधार समेत काट्यो । त्यस समय कफ्र्युकै समयमा उनको श्रीमानले उनलाई वीर अस्पताल लगेको सम्झना छ । उपचार सकेर भोलिपल्ट घर फर्किन लाग्दा उनले अस्पतालको एक कुनामा आन्दोलनमा मारिएका शवहरु देखिन् । यसबाट उनी उद्वेलित भइन् । यसले उनको सोचमा ठूलो परिवर्तन ल्याइदियो । सोही कारण उनी पनि देशको परिवर्तनको लागि एक कदम अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगिन् ।

एउटा महिलाले पूर्णकालीन राजनीति गर्न गाह्रो छ तर उनलाई श्रीमान र सासूको हौसलाले राजनीतिमा लागिरहन अभिप्रेरणा दियो । २०४५ सालको आन्दोलन सफल भएपछि  नेपाल महिला संघमा आबद्ध भएर उनले काम गर्दै आइन् । नेपाल महिला संघको संस्थापक नेता मंगलादेवी सिंह उनकै घरमा आएर सक्षम महिलाहरु घरभित्र मात्र हैन, बाहिर आउनुपर्छ भन्दै उनलाई घरमै लिन आइन् । त्यसबाटै उनले नेपाली कांग्रेस महिला संघमा आबद्ध भएर इकाइ सचिवदेखि, क्षेत्रीय सदस्य, जिल्ला सदस्य, महिला संघको केन्द्रीय सदस्यसँगै हाल स्थानीय सरकार कामपाको उपमेयर बन्ने स्थान दियो । 

उपमेयरको जिम्मेवारी

हरिप्रभा खड्गीले उपमेयरको रुपमा काम गरेको एक वर्ष भइसकेको छ  । उपमेयरको जिम्मेवारीभित्र न्यायिक समिति, राजस्व परामर्श समिति, बजेट तर्जमा, सहकारी, एनजीओ, आईएनजीओलगायत आठवटा जिम्मेवारी उनको काँधमा छ ।  नीतिनियम नआएकाले आफूले के–के काम गर्ने हो, त्यो पूर्ण रुपमा प्रयोग तथा प्रस्ट अझै भएको छैन भन्ने लाग्छ उनलाई ।

नेपाली जनताले धेरै ठूलो अपेक्षा नराखेको हुनाले अस्तव्यस्त भएको काठमाडौँलाई व्यवस्थित गर्न नीति र नियममा टेकेर काम गर्नुपर्ने भएकाले काम गर्न अलिक ढिला भएको उनको भनाइ छ ।

तर पनि देशको विकासको लागि आफू सधैँ अगाडि बढेको उनको भनाइ छ । विशेषत नेपाली जनताले विद्युत्, खानेपानी, ढललगायत हराभरा, धूलो÷धूवाँमुक्त, काठमाडौँ व्यवस्था खोजेको हुनाले यति मात्र व्यवस्था गर्नसके महानगरवासी खुसी हुने उनको राय छ । तर स्मार्ट सिटी यहाँ बनाएर फाइदा नहुने र बनाउन पनि नसक्ने उनी बताउँछिन् ।

उनले भनीन्, ‘स्मार्ट सिटीको लागि सबै व्यवस्थित गरेर लैजानुपर्ने भएकाले यहाँ नभएको हैन, यहाँ छ तर छुट्टै स्मार्ट सिटी अन्तै बनाउनुपर्छ ।’ युवाकेन्द्रित दूरदर्शिता खोज्ने हो भने उद्योगधन्दा खोल्नुपर्ने र आफ्नै देशमा रोजगारी दिन सक्नुपर्ने उनको भनाइ छ । महनगरले काम नगरेको हैन,   ३२ वटै वडामा काम भइरकेको छ तर प्रभावकारी रुपमा काम नहुनुको कारणचाहिँ नीतिनियम नबनेकाले काम गर्न गाह्रो भएको उनको गुनासो छ ।

एक वर्षको अवधिमा के के काम भए ?

स्थानीय सरकार आएको एक वर्ष भयो । हालसम्म महानगरले के–के काम गर्यो, के कति पूरा भएर बाँकी के–के छन् भन्ने विषयमा धेरैबाट धेरै कुरा आए । अझ भनौँ महानगरबासीको चाहनाअनुसार विकास निर्माणका काम भएन भन्ने गुनासा आएका छन् । तर उपमेयर खड्गी भने एक वर्षको अवधिमा महानगरले भित्री रोडको निर्माण,  खानेपानी, ढल, सम्पदा पुनर्निर्माणको काम सुरु हुँदै गरेको उनले बताउँछिन् । स्थानीय सरकार आइसकेकाले ढिलोचाँडो विकास गरेर जाने उनको भनाइ छ ।

सम्पदा पुनर्निर्माणमा ढिलाइ

विनाशकारी भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि भूकम्पको कारणले ढलेका हाम्रा धरोहर पुनर्निर्माणको काम सुरु भएको छैन । सम्पदा पुनर्निर्माण गर्न ढिला हुनुको प्रमुख कारण भनेकै पुरानै सामग्री र कालीगढको प्रयोग गर्नुपर्ने भएकाले ढिलो भएको उनको भनाइ छ । स्थिर सरकार र तीन तहकै सरकारको चुनाव सकिएकाले विस्तारै विकास गर्दै जाने उनको भनाइ छ ।

मेयरसँगको सहकार्य

एक वर्षको अवधिमा मेयर र उपमेयरको सहकार्य राम्रो छैन भनेर धेरै कुरा मिडियामा आए तर उपमेयर श्रेष्ठ भने मेयरसँगको सहकार्य राम्रो भएको बताउँछिन् । उनी भन्छिन्, ‘मेयरसँगको सहकार्य राम्रो भएपनि काममा समन्वय हुन् सकेको छैन ।’ हरेक विषयवस्तुमा यस्तो भएको छ भनेर जानकारी दिँदा आफूलाई सजिलो हुन्थ्यो । विकासको लागि कसरी सहमति गरेर अगाडि बढ्दा राम्रो हुन्छ  भन्ने लाग्छ उनलाई । मेयरमा लचिलोपन नदेखिएको अहिले महसुस गरेको उनी बताउँछिन् ।

यस्ता छन् योजनाहरु 

काठमाडौँलाई हराभरा बनाउने, धूलो धूवाँ नियन्त्रण,  व्यवस्थित ढल, खानेपनीको ब्यवस्था, सबैतिर झलमल्ल बत्ती बलोस्, यातायात व्यवस्थित गर्ने र विद्युतीय यातायात ल्याउने उनको योजना छ । पुरुषको तुलनामा महिलाहरुले अवसर नै नपाएकोले पछि परेको भन्ने उनलाई लाग्छ । अब महिलालाई उपप्रमुख हैन, पाँच वर्षपछि प्रमुख महिलाई दिनुपर्ने उनको धारणा छ ।

जबसम्म हरेक क्षेत्रमा महिलालाई प्रमुखको जिम्मेवारी दिइँदैन, तबसम्म विकास नहुने उनले बताइन् । त्यस्तै, वृद्धाश्रम वा अरु संस्थामार्फत समाजसेवाको काम गर्दै आएकी खड्गीले अहिले राजनीतिको माध्यमबाट समाजसेवा गर्दै आएकी त छिन् नै, यदि उनले राजनीति नगरेको भए आफू समाजसेवीको रुपमा पूर्णरुपमा काम गरिरहेको हुनसक्ने उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय