• २०८१ बैशाख १५ शनिबार

आगामी १७ गतेदेखि जीतपुरसिमरामा मेयर कप फुटबल हुने

kharibot

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

उपमहानगरपालिकाको सहयोग र सामुदायिक विकासशील क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले बुधबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । 

आयोजकका अनुसार प्रतियोगिता आगामी १७ गतेदेखि असार २ गतेसम्म सिमरा रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट फरवार्ड, गोलरक्षक, डिफेन्स र सर्वाधिक गोलकर्ताले नगद ५÷५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन् । 

नेपाल खेलकुद पत्रकार मञ्च बारा प्रवद्र्धक रहने प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटा वडाले सहभागिता जनाउने प्रतियोगिता संयोजक बसन्त लामाले जानकारी दिए । लामाका अनुसार वडाको टिमको संयोजन सम्बन्धित वडाअध्यक्षले गर्नेछन् । वडाभन्दा बाहिरका खेलाडीलाई टिममा सहभागी गराउन नपाइने समेत संयोजक लामाले बताएका छन् । 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वअनुसार मेयर कप फुटबलको आयोजना गर्न लागिएको बताएका छन् । खेलकुदमा रुचि र क्षमता भए पनि अवसर नपाएका खेलाडीलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन हुने मेयर डा. पौडेलको भनाइ थियो । 

‘खेलकुद, विभिन्न रचनात्मक भूमिका र सकारात्मक क्रियाकलापमा युवाहरुलाई जागृत गराउन जरुरी छ । यस्ता गतिविधि गराउन उपमहानगरले आफ्नो भूमिका स्थापित गर्नेछ’, मेयर डा. पौडेलले भने, ‘युवाहरुको आकर्षणको रुपमा रहेको फुटबल प्रतियोगिताबाट हामीले सुरुवात गरेका छौँ, यसपछि क्रिकेटलगायत अन्य खेलकुद आयोजना हुँदै जानेछन् ।’ 

खेलकुद क्षेत्रको विकासले उपमहानगरको समग्र बिकासमा टेवा पुग्ने बताउँदै मेयर डा. पौडेलले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उपमहानगरको दायित्व रहेको बताए । कार्यक्रममा उपमेयर सरस्वती चौधरीले उपमहानगरको सवै वडाको प्रतिनिधित्व हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले नया प्रतिभाहरु बाहिर आउने बताएकी छिन् । उपमहानगरले खेलकुद क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको भन्दै उपमेयर चौधरीले खेलकुदको गतिविधिलाई निरन्तररुपमा अघि बढाउने बताएकी छिन् । 

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले प्रतियोगिताको उदेश्यबारे जानकारी गराएका थिए । कार्यक्रममा सामाजिक बिकास समिति संयोजक शोभा कार्की, होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा, नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीलगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रममा वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नं. ११ का अध्यक्ष विनोद यादव, वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं. २३ का अध्यक्ष अस्लम देवान, कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, अनिता चौधरी, ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक भूवन भट्टलगायत जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, क्लबका पदाधिकारीको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउँलेले गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै