• २०८१ बैशाख १५ शनिबार

बागलुङको दुर्गममा टेलिकमको सेवा विस्तार

kharibot

बागलुङ । जिल्लाका दुई दुर्गम गाउँमा पहिलोपटक मोबाइल सेवा पुगेको छ । 

गलकोट नगरपालिका–१० को रमुवा र बडीगाड गाउँपालिका–८ खोलाखर्कमा नेपाल टेलिकमले सेवा विस्तार गरेको हो । सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित ती दुवै ठाउँमा यसअघि कुनै पनि कम्पनीको ‘जिएसएम’ मोबाइल सेवा पुग्न सकेको थिएन । 

रमुवाका डेढ सय र खोलाखर्कका करीब चार सय घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएको नेपाल टेलिकम बागलुङ कार्यालयले जनाएको छ । रमुवाको उपल्लो खोरिया र खोलाखर्कको बतासेडाँडामा टावर राखी मंगलबारदेखि सेवा शुरु गरिएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । 

‘जिल्लामै बढी दुर्गम मानिने ठाउँमा सेवा पुगेको छ,’ उनले भने, ‘अन्यत्र पनि सेवा विस्तारको काम अघि बढेको छ ।” मोबाइल सेवा पुगेसँगै ग्राहकले तत्काल इन्टरनेटको लागि ‘टुजी’ सेवा लिन सक्नेछन् । पछि तीव्र गतिको सेवाका लागि ‘थ्रिजी’ प्रविधि दिने योजना टेलिकमले बनाएको छ । 

‘जिएसएम’ मोबाइल सेवा पुगेपछि दुर्गमका ग्राहकले पनि ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा लिन पाउने भएका छन् । ‘विकट भूगोल भए पनि हामी हाम्रो जिम्मेबारीमा दृढ छौँ,’ प्रमुख इन्जिनियर शर्माले भने, ‘जिल्लाका प्रत्येक गाउँबस्तीमा सेवा पुर्याउँदैछौँ ।’ उनका अनुसार तत्काल सेवा दिने गरी गलकोट नगरपालिकाकै काँडेबासमा टावर निर्माणको काम अघि बढेको छ । 

यस्तै, बागलुङबाहेक म्याग्दी, पर्वत र मुस्ताङमा पनि सेवा विस्तारको काम धमाधम भइरहेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा पनि केही दिनमै मोबाइल सेवा शुरु हुने कार्यालयका इन्जिनियर अमृत नेपालले बताए । मुनापछि म्याग्दीकै ज्यामरुककोटमा टावर निर्माण अघि बढाइनेछ । ‘धवलागिरि क्षेत्रका चारै जिल्लामा मोबाइलको पहुँच पुर्याउने लक्ष्य छ,’ उनले भने । 

कार्यालयले यसअघि उपल्लो मुस्ताङ, बागलुङकै ढोरपाटन लगायतका कैयौँ दुर्गम ठाउँमा सेवा विस्तार गरिसकेको छ । धवलागिरिमा हाल रहेका ‘जिएसएम बिटिएस’ टावरलाई बढाएर १२० पुर्याउने योजना टेलिकमको छ ।

यही वर्ष थप हुने टावरको पूर्ण क्षमताले धवलागिरिका सबै गाउँबस्तीमा मोबाइल सेवा पुग्ने जनाइएको छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको छ । 

सेवा विस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकम लागिपरेको छ । मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा दिन नयाँ प्रविधि जडान गर्ने काम भइरहेकोछ । सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको वरिष्ठ इन्जिनियर शर्माले बताए ।

मोबाइल सेवा पुगेका अधिकांश ठाउँका ग्राहकले अत्याधुनिक प्रविधिको ‘थ्रिजी’ सेवासमेत प्रयोग गर्न पाएका छन् । टेलिकमले धवलागिरि क्षेत्रका ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा दिने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय