• २०८१ बैशाख १८ मंगलबार

२४ कर्मचारी आवश्यक पर्ने गाउँपालिका, तीन जना कर्मचारीको भरमा

kharibot

कैलाली । कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख प्रशासकीय, लेखापाल र वडा सचिवले पूरै गाउँपालिका सञ्चालन गर्दै आएका हुन् । 

गाउँपालिकामा २४ कर्मचारी आवश्यक भए पनि सरकारले कर्मचारी नपठाउँदा तीन जनाको भरमा कार्यालय सञ्चालन गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले जानकारी बताए । 

ओझासँगै लेखापाल खुशीराम थारु र वडा सचिव तेजबहादुर शाह मात्र रहेका छन् । कर्मचारी नहुँदा साविक सुगरखाल, मोहुन्याल र पण्डोन गाविस मिलेर बनेको मोहुन्यालय गाउँपालिकामा अझै आफ्नो क्षेत्रको कार्यालय नै स्थापना भएको छैन । 

‘‘कर्मचारी नहुँदा ती जनाले सातवटा वडा हेर्नुपरेको छ’ ओझाले भन्नुभयो–‘‘कर्मचारीको समस्याले जनताका काम हुनसकेको छैन ।’ पटक÷पटक सरकारसँग कर्मचारी पठाउन माग गरिए पनि नपठाएको गाउँपालिकाका प्रमुख नवलसिंह रावलले गुनासो गरे । 

उनले भने, ‘‘कर्मचारी अभावले जनताको काम गर्न सकेको छैन, पटक÷पटक कर्मचारी पठाउन भन्यौ तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै वास्तै गरेन ।’ 

कर्मचारी नहुँदा एकजना वडा सचिव शाहले वडा नं १ देखि ५ सम्मको काम गर्नुपरेको छ भने ६ र ७ नं को वडा कार्यालय एकजना प्राविधिकले सञ्चालन गरेका छन् । 

छसय बैसठ्ठी वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको २२ हजार जनसंख्या रहेको उक्त गाउँपालिकाको एक वडाबाट अर्को वडामा पुग्नका लागि दुई दिन लाग्छ । 
वडा नं ६ का वडाअध्यक्ष टीकाराम भण्डारीले आफ्नो कार्यालय प्राविधिकले सञ्चालन गरेको बताए । प्राविधिकले फोनमार्फत सुखडस्थित वडा सचिवलाई काम कारबाहीबारे सोधेर काम गर्दै आएको उनले जानकारी दिए । 

अझै कार्यालय स्थापना भएन 

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा हुनलाग्दा गाउँपालिकाको कार्यालय स्थापना हुनसकेको छैन । कार्यालय स्थापना नहुँदा धनगढी र सुखडमा सम्र्पक कार्यालय खोलेर गाउँपालिका सञ्चालन हुँदै आएका छन् ।

धनगढीमा प्रमुख प्रशासकीय अधिकृतको कार्यालय र सुखडमा वडा नं १, २, ३, ४ र ५ वडा कार्यालय सञ्चालन हुँदै आएका छन् । अन्य वडाका कार्यालय गाउँपालिकाभित्रका सम्बन्धित वडामा भए पनि भवन अझै बनेका छैनन् । 

गाउँपालिकाका निर्वाचित प्रतिनिधि भौगोलिक विकटताका कारण नियमित बैठक गर्दा कहिले धनगढी त कहिले घोडाघोडी नगरपालिकाको सुखड बजारमा जाने गरेका छन् । ‘‘गाउँपालिका आफ्नै ठाउँमा स्थापना गर्न नसक्दा सम्पर्क कार्यालयका रुपमा सञ्चालन गर्नुपरेको छ’ प्रमुख रावलले भने – ‘कर्मचारी सुरक्षाको कारण देखाउँदै आउन मानेका छैनन ।’ 

जनताको काम गर्नका लागि गाउँपालिका प्रमुख रावल कहिले धनगढी र कहिले सुखड पुग्ने गरेका छन् । ‘मेरो पनि बस्ने कार्यालय छैन । कहिले धनगढी कहिले सुखड त कहिले मोहुन्यालय हुन्छु’ उनले भने  – ‘अहिले झोलामा नै मेरो कार्यालय रहेको छ ।’

प्रमुख रावलले मोहुन्यालय–४ स्थित खिमडीसँगै मोहुन्यालय–६ सोल्टा र उपप्रमुखले पूजादेवी बुढामगर खिमडी भन्ने गाउँमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । गाउँपालिकाका प्रमुख रावलले खिमडीमा कार्यालय स्थापनाका लागि घर खोजिरहेको बताए । 

जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले अपुग कर्मचारी चाँडै पठाउने तयारी भइरहेको र असारसम्म कार्यालय स्थापना गरिने जानाकारी गराए । 

बिहान ६ देखि साँझ ७ बजेसम्म कार्यालय 

जनताका काम गर्नका लागि बिहान ६ देखि साँझ ७ बजेसम्म वडा कार्यालय सञ्चालन हुने गरेका छन् । सुखडस्थित– ५ वटा वडा कार्यालयमा टाढाटाढाबाट आउने गाउँका मान्छेको काम साँझसम्म गरेको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए । 

‘‘वडाको कामका लागि स्थानीयवासी टाढा÷टाढाबाट आउनुहुन्छ’ उनले भने – ‘त्यही भएर उनीहरुको काम गर्नका लागि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म कार्यालय सञ्चालन गर्दछौ ।’

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै