• २०८१ बैशाख १६ आइतबार

गोरखाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश

kharibot

पोखरा । प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश गरेको छ । 

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनलाई आधार मानेर वडा नं ५ को गुण्डाबाट माछेखोलामा सार्न दुई तिहाइ गाउँपालिकाका सदस्यले गरेको निर्णयअनुसार सम्बन्धित मन्त्रालयमा केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिए । 

बैठकले कास्कीको माछापुछ्रे  गाउँपालिकाका वडाको सिमाना हेरफेर गर्ने निर्णय पनि गरेको छ । माछापुछ्रे गाउँपालिकाले विधिवत् रुपमा गरेको निर्णयअनुसार साबिकको ल्वाङघलेल गाविसको १ देखि ४ नं वडालाई वडा नं ८ र ५ देखि ९ नं वडालाई ९ नं वडामा रहने गरी सिफारिश गर्ने निर्णय गरिएको छ । 

उनका अनुसार प्रदेशको आर्थिक कार्यविधि नियमावली नबन्दासम्म नेपाल सरकारको आर्थिक कार्यविधि नियमावली २०६४ बमोजिम कार्यसम्पादन गर्ने बैठकले निर्णय गरेको छ । 

सरकारले आव २०७५÷७६ को बजेट ल्याउने तयारी गरेको जानकारी दिँदै उहाँले तत्काल सशर्त र विशेष अनुदानबाहेक २० अर्बको सिलिङअनुसार बजेट ल्याउन लागिएको बताए । 

बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश खोप ऐन, २०७५ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 

मन्त्रिपरिषद्को २०७४ चैत १४ को बैठकबाट प्राकृतिक स्रोत साधन दोहन भएको सम्बन्धमा गठित कार्यदलबाट आजको बैठकमा प्रतिवेदन पेश भएकामा त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर आगामी मन्त्रिपरिषद् बैठकमा ल्याउन उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । 

यही आव २०७५÷७६ को बजेट अधिवेशन आगामी जेठ १६ गते ४ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै