• २०८१ बैशाख १४ शुक्रबार

एल क्लासिकोमा रोनाल्डो या मेसी को छ उत्कृष्ट ?

kharibot

काठमाडौँ । विश्व फुटबलमा पछिल्लो एक दशकभन्दा बढी राज गरेका क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी आइतबार राति एल क्लासिकोमा एक अर्का विरुद्ध खेल्दैछन् । 

स्पेनका दुई महारथी क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने यस सिजनको दोस्रो एल क्लासिकोलाई रोनाल्डो र मेसीको भिडन्तको रुपमा हेरिएको छ । हरेक खेलपछि मिडिया देखि फ्यानसम्म मेसी र रोनाल्डोको तुलना हुने हुनाले पनि विश्वभर रहेका दुवैका फ्यानहरुका लागि एल क्लासिकोको पर्खाइ विशेष हुने गर्दछ ।

यसै प्रसंगमा एल क्लासिकोमा दुई खेलाडीको प्रदर्शनको विश्लेषण गरिएको छ ।

कसले कति खेल जिते ?

बार्सिलोनाका लियोनेल मेसीले अहिलेसम्म एल क्लासिकोका ३७ खेल खेलेका छन् जसमा मेसीले १७ खेलमा जित हासिल गरेका छन् भने ८ वटा खेल बराबरीमा सकिएका छन् ।

त्यस्तै मेसीले १२ वटा खेलमा हार बेहोरेका छन् । १७ जित मध्ये मेसीले १३ ला लिगाका क्लासिकोमा जित हासिल गरेका छन् भने दुई च्याम्पियन्स लिग क्लासिकोमा जित हासिल गरेका छन् । मेसीले च्याम्पियन्स लिगका क्लासिकोमा रियलविरुद्ध हार बेहोर्नु परेको छैन । अहिलेसम्म खेलेका दुई खेलमा एक खेलमा जित र एक खेल बराबरीमा सकिएका छन् ।

त्यस्तै रोनाल्डोको कुरा गर्दा रोनाल्डोले अहिलेसम्म एल क्लासिकोका २९ खेल खेलेका छन् । २९ खेलमा रोनाल्डोले ८ खेलमा जित हासिल गरेका छन् भने ६ खेल बराबरीमा सकिएका छन् । त्यस्तै १५ खेलमा रोनाल्डोले हार बेहोरेका छन् ।

कसले कति गोल गरे ?

एल क्लासिकोमा रोनाल्डो र मेसीले अहिलेसम्म कति गोल गरे होलान् ? पहिला मेसीको कुरा गरौ । मेसीले एल क्लासिकोमा खेलेका ३७ खेलमा कुल २५ गोल गरेका छन् । 

मेसीले ला लिगाका २३ खेलमा १७ गोल गरेका हुन् भने सुपर कोपाको ६ खेलमा ६ गोल गरेका हुन् । त्यस्तै च्याम्पियन्स लिगमा दुई गोल गरेका हुन् । मेसीले कोपा डेल रेका ६ क्लासिकोमा कुनै गोल गरेका छैनन् ।

त्यस्तै रोनाल्डोले एल क्लासिकोमा खेलेका २९ खेलमा अहिलेसम्म १७ गोल गरेका छन् । जसमा ला लिगाको क्लासिकोमा ८, कोपामा ५ र सुपर कपमा ४ गोल गरेका छन् । 

एल क्लासिकोमा धेरै गोल : 

मेसीले अहिलेसम्म २५ गोल गर्दै एल क्लासिकोको इतिहासमा धेरै गोल गर्ने खेलाडी हुन् । मेसी पछि रियल म्याड्रिडका अल्फ्रेडो स्टेफनोले १८ गोल गरेका छन् भने रियलकै रोनाल्डोले १७ गोल गरेका छन् । रियल म्याड्रिडकै राउलले १५ गोल गरेका छन् ।  अहिले खेलिरहेका खेलाडीमा रियलका करीम बेन्जामा र बार्सिलोनाका लुइस स्वरेजले एल क्लासिकोमा ८-८ गोल गरेका छन् ।    

कसले कति गोल असिस्ट गरेका छन् ?

एल क्लासिकोमा मेसीले खेलेका ३७ खेलमा १३ गोल असिस्ट गरेका छन् । त्यस्तै मेसीले ६५ पटक गोल गर्ने अवसर सिर्जना गरेका छन् । त्यस्तै असिस्ट र टिम खेलमा रोनाल्डो मेसी भन्दा धेरै पछाडी रहेका छन् । रोनाल्डोले खेलेका २९ क्लासिको खेलमा केबल एक खेलमा असिस्ट गरेका छन् भने १४ पटक गोल गर्ने अवसर सिर्जना गरेका छन् ।

माथिका आँकडाको विश्लेषण गर्दा अवार्ड र अन्य आँकडामा मेसीभन्दा रोनाल्डो अगाडी भएपनि क्लासिकोका किंग मेसी नै हुन् । किनकी गोल गर्ने, असिस्ट गर्ने र अवसर सिर्जना गर्ने सबै पक्षमा क्लासिको खेलमा रोनाल्डो भन्दा मेसी धेरै अगाडी देखिएका छन् ।

यस अघिको आँकडा जे भएपनि मेसी र रोनाल्डो खेल्ने खेलमा को कमजोर र को बलियो भन्ने कुराले खासै अर्थ राख्दैन । किनकी दुवै खेलाडी एक दशकसम्म विश्व फुटबलमा राज गरिरहेका खेलाडी हुन् ।

यस सिजनको ला लिगाओ उपाधि बार्सिलोनाले जितिसकेको हुनाले ला लिगामा यस खेलको खासै अर्थ नभए पनि रोनाल्डो र मेसीको विश्व फुटबलमा रहेको प्रतिद्वन्दिताका हिसाबले यो विश्वकै उत्कृष्ट प्रतिष्पर्धा भने अवश्य हो ।  

यस सिजनमा मेसी र रोनाल्डोको प्रदर्शन :

यस सिजनमा सबै प्रतियोगितामा बार्सिलोनाका लागि मेसीले ४३ र रियल म्याड्रिडका लागि रोनाल्डोले ४२ गोल गरेका छन् । मेसीले यस सिजनमा खेलेका ५१ खेलमा ४३ गोल गरेका हुन् बहने रोनाल्डोले ४१ खेलमा ४२ गोल गरेका छन् ।

यस सिजनको ला लिगामा मेसीले ३३ खेलमा ३२ गोल गरेका छन् भने रोनाल्डोले २५ खेलमा २४ गोल गरेका छन् । तर च्याम्पियन्स लिगमा भने रोनाल्डोले १२ खेलमा १५ गोल गरेका छन् भने मेसीले १० खेलमा ६ गोल गरेका छन् ।

बार्सिलोनाले यस सिजनमा कोपा र ला लिगाको उपाधि जितिसकेको छ भने रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै