• २०८१ बैशाख १७ सोमबार

'पिपल्स च्वाइस अवार्ड'का लागि पाँच खेलाडी छानिए, को-को परे ?  

kharibot

काठमाडौं । पल्सर स्पोर्टस् अर्वाड — २०७४ का लागि पाँच खेलाडी छानिएका छन् । अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षभरीमा विभिन्न खेलमा चर्चामा रहेकामध्ये अवार्डका लागि पाँच खेलाडी छनोट गरेको हो ।

जसमा फुटबलका किरण कुमार लिम्बु, भलिबलका मान बहादुर श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने, गल्फका प्रतिभा शेर्पा र टेबल टेनिसका स्यान्टु श्रेष्ठ रहेका छन् । 'हामीले आज पाँच खेलाडि मैदानमा उतारेका छौं, यिनीहरुमध्ये जसले सबैभन्दा धेरै भोट पायो त्यसैले अर्वाड जित्नेछन्’, पत्रकार संघका अध्यक्ष महेश आर्चायले भने ।

पिपुल्स च्वाइसमा मनोनयनमा परेका खेलाडीले यस वर्ष खेलेका खेलमा गरेको प्रदर्शनअनुसार उनीहरू छानिएका हुन् । मञ्चले विगत लामो समयदेखि यो प्रतियोगिता गर्दै आएको छ । २०७४ सालभरि गरिएको प्रदर्शन र पाएको चर्चाका आधारमा पिपुल्स च्वाइस विधाका लागि खेलाडि छनोट गरिएको आयोजकले बताएको छ । 

को-को परे ?  

क्रिकेटर—सन्दीप लामिछाने
यो वर्ष सन्दीप लामिछाने वर्षभरी चर्चामा रहे । कहिले राष्ट्रिय टोलीबाट खेल्दा त कहिले विदेशी क्लबमा आबद्ध भएर उनी मिडियाको केन्द्रमै रहे । पछिल्लो समय उनी इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा आबद्ध भएपछि उनको चर्चा झन चुलियो । यो वर्ष सन्दीपले कुल ८६ विकेट लिएका छन् ।

उनले आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा २४ विकेट लिए भने विश्व क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिएर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले नेपालको लागि लिस्ट ए कै उत्कृष्ट बलिङ गर्दै केन्याविरुद्ध ५–२० दिएका थिए ।  त्यसैगरी उनले विश्वकप २०१९ छनोटमा १३ विकेट, विश्व क्रिकेट लिगमा ५, एसीसी यू–१९ एसिया कपमा ९, एसीसी यू १९ इस्टर्न रिजनमा १६ विकेट लिएकमा थिए ।

फुटबलर — किरण कुमार लिम्बु 
लिम्बु नेपाली राष्ट्रिय फुटबल खेलका गोलकिपर हुन् । २०७४ सालमा लिम्बु भारतको आई लिगमा अनुवन्धन भए भने उनको प्रदर्शन पनि उत्कृष्ट रह्यो ।

त्यस्तै, मिनेरवा पञ्जाव एफसीमा पनि अनुवन्ध भए र उनले ८ खेलमा सहभागिता जनाए भने सातमा पहिलो रोजाइमा खेलेको संघले जानकारी दिएको छ । यसै वर्ष उनले टीसी स्पोर्टस्बाट माल्दिभ्सको धिवेही प्रिमियर लिग खेलेका थिए ।

राष्ट्रिय टिमको एसियन कप २०१९ छनोटका पाचै खेलमा पहिलो रोजाईका गोलकिपर हुन् लिम्बु ।

भलिबल खेलाडी — मान बहादुर श्रेष्ठ 

राष्ट्रिय भलिबल टिमको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–० हङकङलाई २–० र मकाउलाई १–० ले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेपछि चर्चामा आएका थिए । साथै, त्रिभुवन आर्मी क्लबलाई बर्षका ६ प्रतियोगितामध्ये पाचमा उपाधि जिताउन महत्वपूर्ण योगदानसमेत गरेका थिए ।

श्रेष्ठले एनभीए लिग, ३१ औं राष्ट्रिय भलिबल र एनभीए कपमा सर्बोत्कृष्ट खेलाडी भएका थिए ।

गल्फकी — प्रतिमा शेर्पा
नेपाली महिला गल्फकी नम्बर १ खेलाडी हुन् प्रतिमा । उनी व्यावसायिक गल्फ ‘सूर्य नेपाल गल्फ टुर’को छनोट खेल्ने पहिलो महिला खेलाडि हुन् । भने, फाल्डो सिरिज नेपालकी विजेता पनि । अमेरिकी गल्फर टाइगर उड्सले प्रशंसा–पत्र पठाएको र बृत्तचित्र र अन्तर्राष्ट्रिय मिडियामा छाएकी प्रतिमा यस वर्ष चर्चामा रहिन् ।

टेबलटेनिसका — स्यान्टु श्रेष्ठ 
स्यान्टुले ३९ औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा स्वर्ण पदक हात पारेका थिए । त्यसैगरी ठमेल ओपन च्याम्पियनसिपमा पुरुष सिंगल्स र टिम स्पर्धामा पहिलो भएका थिए भने नवौं पूर्णमान स्मृति खुला टेबलटेनिसमा दोस्रो भए ।

यसरी छानिनेछ विजेता 
यसअघिका अवार्ड वितरण गर्दा एसएमएस प्रणलीबाट मात्र छनोट गरिन्थ्यो तर यस वर्षदेखि फेसबुक लाइकको मतभार ५० प्रतिशत बनाइएको छ । यसमा चार फेसबुक लाइकको मतभार १ एसएमएस बराबर हुनेछ । यसपटक प्रशिक्षकहरु र नेपाल खेलकुद मञ्चका सबै सदस्यहरुले पनि मत दिन पाउनेछन् । 

राष्ट्रिय खेलका ३५ जना मुख्य प्रशिक्षक र ८४ जना खेलकुद पत्रकार मञ्चका सदस्यहरुले भोट हाल्नेछन् । र उनीहरुको भोटको मतभार २५/२५ गरी ५० प्रतिशत हुनेछ । प्रशिक्षक र सदस्यहरुले मत दिने व्यवस्था पहिलो पटक गरिएको हो ।  

यसरी छान्नुस् आफूलाई मन पर्ने खेलाडी

  • सन्दीप लामिछानेलाई भोट गर्नका लागि pulsar space SL टाइप गरि ३७७२२ मा पठाउने
  • किरण चेमजोङलाई भोट गर्नका लागि pulsar space KC टाइप गरि ३७७२२ मा पठाउने ।
  • मानबहादुर श्रेष्ठलाई भोट गर्नका लागि pulsar space MS टाइप गरि ३७७२२ मा पठाउने । 
  • प्रतिमा शेर्पालाई भोट गर्नका लागि pulsar space PS टाइप गरी ३७७२२ मा पठाउने ।
  • स्यान्टु श्रेष्ठलाई भोट गर्नका लागि pulsar space SS टाइप गरी ३७७२२ मा पठाउने ।

विगतका बर्षहरुमा झै यसबर्ष पनि विभिन्न ८ विधामा संलग्नलाई सम्मान गरीने छ । जसमा पल्सर स्पोर्टस् अर्वाडमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अर्वाड, पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा आवद्ध खेलाडि प्रशिक्षक लगायतलाई सम्मान गरिनेछ ।

विगत वर्ष पनि यी अवार्ड वितारण गर्दै आएको मंचले यस वर्ष पनि निरन्तरता दिएको हो । अन्य विधाका विजेतालाई मंचले नगद ५० हजार रूपैयाँसहित उपहार प्रदान गर्नेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै