• २०८१ बैशाख १४ शुक्रबार

जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी, दुई पक्राउ

kharibot

कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले आज जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन् । 

घोषित कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा अधिकारीलाई कार्यकक्षमै थुन्ने कार्यक्रम रहे पनि उनको कार्यालयमै नआएपछि विद्यार्थीले कुर्सीमा उनको तस्बीर राखी आगजनी गरेका हुन् ।

आगजनी गर्ने क्रममा प्रहरीले क्रान्तिकारीका पूर्वकेन्द्रीय सदस्य भीम भट्ट र वर्तमान केन्द्रीय सदस्य चन्द्रकान्त भट्टलाई नियन्त्रणमा लिएको छ । 

क्रान्तिकारीका कञ्चनपुर अध्यक्ष वीरेन्द्रराज बिष्टले प्रहरीले पक्राउ गरेका केन्द्रीय सदस्यद्वयलाई निःसर्त छाड्नुपर्ने बताएका छन् । प्रहरीले नछाडे पूर्वघोषित कार्यक्रमसँगै प्रहरी प्रशासनविरुद्ध कडा आन्दोलन गर्ने पनि उनले बताए । 

सोमबार दिउँसै क्रान्तिकारीका नेताहरुले जिल्ला शिक्षा कार्यालय पुगेर जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टलाई दिउँसै टर्च बालेर खोजेका थिए । 

वैशाख १२ गते विद्यालयबाटै कापी–कलम बेच्ने निजी विद्यालयमा तालाबन्दी गर्ने, १३ गते शैक्षिक आमहडताल गर्ने, १४ गते जिल्ला शिक्षा र प्रशासनमा कालोभण्डासहित प्रदर्शन गर्ने र १५ गतेदेखि स्थानीय सरकार घेराउ गर्ने कार्यक्रम रहेको क्रान्तिकारीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै