• २०८१ बैशाख १४ शुक्रबार

एकता र दुइतिहाईको गोलचक्करमा प्रधानमन्त्री ओलीका दुई महिना  

kharibot

काठमाडौँ । गत फागुन ३ गते शपथ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पारीको दुई महिना पुरा भएको छ । 

दुई महिनाको अवधि समीक्षा गर्दा प्रधानमन्त्री ओली पार्टी एकीकरण र सरकारलाई दुई तिहाईको बनाउने गोल चक्करमा फसेको देखिएको छ । प्रधानमन्त्री ओलीले यस बीचमा भारतको राजकीय भ्रमण गरे तर सरकार संचालनमा यो दुई महिनाको अवधिमा उलेख्य काम गर्न भने असफल देखिएका छन् । बीचमा भएका राष्ट्रपति, उपराष्ट्रपती, सभामुख, मुख्यमन्त्री लगायतका निर्वाचनले पनि उनको सरकार संचालनमा अवरोध गरेको देखिएको छ ।

आम जनताबीच रहेको व्यापक निराशाका बीच प्रधानमन्त्री ओली यस अवधिमा सकारात्मक संदेश दिन असफल भएका छन् । यस दुई महिनाको अवाधिमा प्रमुख रुपमा यी ५ कुरामा अल्मलिएको देखिन्छ ।

माओवादीसँगको एकता र सत्ता  :

प्रधानमन्त्री ओलीलाई यस अवधिमा सबैभन्दा ठुलो चटारो माओवादी केन्द्रसँगको एकता देखिएको छ । आफुले चाहेर पनि अझै एकतालाई निष्कर्षमा पुर्याउन नसक्दा प्रधानमन्त्री ओलीको ५ बर्ष सरकार चलाउने योजना नै धरापमा पर्ने हो की भन्ने आशंका सुरु भएको छ । 

बैशाख ९ गतेलाई घोषणा गरिएको एकताको मिति टरेसँगै अब दुई दलको एकीकरण हुने नहुने अनेकौ टिप्पणी सुरु भएका छन् । यद्यपी दुवै दलका नेताहरुले एकता गर्ने भाषण भने जारी नै राखेका छन् । विवादित विषय भनेर बाहिर जे कुरा आएको वा ल्याइएको भएपनि माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा आफ्नो नेतृत्व सुरक्षीत नभए सम्म अब पार्टी एकता नहुने निश्चित प्राय: देखिएको छ । 

मंगलबार माओवादी अध्यक्ष प्रचण्डले एकता संयोजन समितिको बैठकमा प्रष्ट रुपमा महाधिवेशन कसरी हुन्छ ? नेतृत्वको निर्वाचन हुन्छ की सर्वसम्मत हुन्छ ? भन्ने प्रश्न राखेर आफ्नो एकीकृत पार्टीमा आफ्नो नेतृत्व स्थापित हुने ग्यारेन्टी खोजेका थिए ।  

त्यस्तै अर्को पक्ष कुनै कारणले एकता भएन भने त्यसको ठुलो असर अब प्रधानमन्त्री ओलीलाई नै देखिने भएको छ । किनकी प्रचण्ड एमालेसँग एकता प्रक्रियाबाट बाहिरिए पनि काँग्रेस र मधेसवादी दललाई लिएर प्रधानमन्त्री बन्ने पोजिशनमा अहिलेको जनमत अनुसार रहिरहने छन् । जबकी प्रधानमन्त्री ओलीका लागि माओवादी एकता प्रक्रियाबाट बाहिरिएमा सरकार नै छोड्नु पर्ने वा मधेसी दललाई लिएर सरकार बनाएपनि सामान्य बहुमतको सरकार मात्र बन्ने अवस्था आउछ जुन ओलीका लागि त्यति सहज देखिदैन ।

यसरी हेर्दा बहुमत या दुई तिहाईको सरकार भनेर प्रचार गरिएपनि प्रधानमन्त्री ओलीलाई हनिमुन पिरियड नसकिदै ५ बर्ष सरकार चलाउन नसकिने पिरले सताउन थालेको छ जुन कुराले उनको कामलाई असर गरिरहेको छ ।

मधेसवादी दललाई सरकारमा ल्याउने प्रयास :

प्रधनमन्त्री ओलीले आफ्नो दोस्रो पारी सुरुगरेसँगै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा ल्याउने प्रयास गरेका थिए । बीचमा लगभग सरकारमा जाने निश्चित भइसकेपनि विविध कारणको त्यो प्रयास असफल भएपनि उनलाई मधेसवादी दलको समर्थन भने अहिलेपनि प्राप्त छ । फोरमका लागि त प्रधानमन्त्री ओलीले अहिले पनि दुई मन्त्रालय छुट्टयाएर राखेका नै छन् । तर पछिलो समय माओवादी अध्यक्ष प्रचण्डसँगको सम्बन्ध अलिकति बिग्रिदै गएको अवस्थामा ओलीले फेरी मधेसवादी दलसँग कुराकानी अगाडी बढाउने तयारी गरेको बताइन्छ । 

फोरम र राजपाले संबिधान संशोधनलाई प्रमुख एजेन्डा बनाउदै सरकारमा जान हिच्किचाइरहेका बेला र माओवादीमा एकता प्रक्रिया लम्ब्याउने मनोविज्ञानका बीच प्रधानमन्त्री ओली मधेसवादी दललाई सरकारमा ल्याउन फेरी प्रयास गर्ने भएका छन् ।

भारत भ्रमण : 

गत चैत्र २३ देखि २५ सम्म प्रधानमन्त्री ओलीले गरेको भारत भ्रमण पछि एमाले र माओवादीबीचमा झन् विवाद बढ्दै गएको देखिएको छ । भारत भ्रमण अघि आजै भोली एकता गर्ने भनेर प्रचार गरिएकोमा भारतबाट फर्किएपछि पनि पार्टी एकताको कुरा हुन् लगभग १२ दिन लाग्यो । भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीप्रति देखाएको विस्वास र ओलीले उठाउदै आएका एजेन्डालाई मोदीले गरेको सहयोगले ओलीको आत्मविश्वास बढायो भने प्रचण्डको आत्मविश्वास डगमगाएको देखिएको छ । हुन त यो काग कराउनु र पिना सुक्नु जस्तै एउटा संयोग पनि हुन् सक्छ तर नेपाली राजनीतिमा सबै घटनाक्रम संयोग मात्र नहुने हुनाले अहिले एमाले-माओवादीमा देखिएको दरारलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर हेर्न सजिलै सकिन्छ ।

प्रधानमन्त्रीको कार्यशैली र गुनासो :

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जानु अघि सरकारका सचिवहरुको व्यापक सरुवा गरेर गए । प्रधानमन्त्रीको सो कदमले माओवादी केन्द्र झस्कियो । माओवादीले प्रधानमन्त्रीले आफुहरुसँग कुनै सरसल्लाह नगरी सचिवको सरुवा गरेको आरोप लगाएर । त्यति मात्र होइन माओवादी केन्द्रमा अहिले बनिरहेको बजेटमा पनि आफुहरुलाई उपेक्षा गरिएकोमा सन्तुष्टि देखिएको छ । यस विषयमा माओवादी अध्यक्ष प्रचण्डले गत मंगलबारको एकता संयोजन समितिमा नै कुरा उठाए । प्रचण्डले सचिवलाई हेरफेर गर्दा सल्लाह नगरेकोमा गुनासो गर्दै प्रधानमन्त्रीको कार्यशैली माथि प्रश्न उठाएका थिए ।

यता प्रधानमन्त्री ओली माओवादी केन्द्रका अध्यक्षले आफ्नो कार्यशैलीलाई लिएर प्रश्न उठाएकोमा असन्तोष देखिएका छन् । आफ्ना निकट नेताहरुसँग गुनासो गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यशैली भन्दा माओवादीका मन्त्रीहरुका कारण सरकारलाई काम गर्न गार्हो भएको बताएको एमाले नेताहरु बताउछन् ।

सरकारका राम्रा काम :

ओली नेतृत्वको सरकारले दुई महिनाको अवधिमा यातायात क्षेत्रमा देखिएको सिन्डिकेटका विरुद्ध कडा कदम चालेको छ । तर यसलाई निष्कर्षमा पुर्याउन भने बाँकी छ । सरकारले गैरनाफामुखी संस्थाको रुपमा दर्ता भएका सबै यातायात व्यवसायीसंघ संस्थालाई अब नवीकरण र दर्ता नगर्ने निर्णय गरेपछि अब यातायात समितिको सिन्डिकेट सकिएको छ । तर सरकारको निर्णयको विरोधमा व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । अब उनीहरुको आन्दोलन र सरकारको प्रतिकार  कसरी आउछ यसले नै यस निर्णय कार्यन्वयनको ग्यारेन्टी गर्ने देखिन्छ ।

त्यस्तै सरकारले हालै चलाएको विधार्थी भर्ना अभियानले पनि राष्ट्रिय रुपमा चर्चा पाएको छ । जुन राम्रो काम पनि हो । प्रधानमन्त्री ओली, मन्त्रीहरु, मुख्यमन्त्री, सांसदहरु विद्यार्थीको अभिभावक बन्दै विद्यार्थी भर्ना गराउदै हिडेका छन् जसलाई राम्रो कामको रुपमा लिन सकिन्छ । पछि केहि नगरेपनि अहिले ति बालबालिकाले कम्तिमा किताब र ड्रेस त पाएका छन् ।

सरकारले गर्न नसकेका काम : 

प्रधानमन्त्री ओली र सरकारका मन्त्रीहरु सजिलै गर्न सकिने र स-साना काम गर्न असफल भएका छन् । सडकको धुलो, खाल्डको मर्मत, सरकारी अड्डामा भएका अनियमितता र ढिलासुस्तीलाई सम्बोधन गर्न उनीहरुको ध्यान देखिएको पाइदैन । ठुला र दिर्घकालिन योजनाको कुरा गरेर अझै पनि भाषणमा व्यस्त भएको देखिन्छ । प्रधानमन्त्री स्वयम् पनि जहाज र रेलको रटानमा रहेका छन् तर बर्षौ देखि अलपत्र नारायणगढ-मुग्लिन सडक छिटो बनाउनेमा ध्यान छैन । मन्त्रीहरुपनि दिनहु समृद्धि र विकासका भाषण गर्न व्यस्त छन् तर समृद्धि ल्याउने योजना र काम गर्न भने सकिरहेको देखिदैन ।
    
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै