पोखरा । प्रदेश ४ को सोमबारको प्रदेशसभा बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको तलबसहित अन्य सुविधासम्बन्धि विधयेक पारित गरेको छ ।
तलब सुविधासम्बन्धि विधेयक प्रदेश सभाको गत चैत १२ को प्रदेशसभामा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पेश गरेका थिए । सोमबारको बैठकले मन्त्री चुमानले निर्णायार्थ प्रस्तुत गरेको सो विधेयक ध्वनि मतका आधारमा सर्वसम्मतले पारित गरेको हो ।
सो विधयेक अनुसार मुख्यमन्त्रीको तलब मासिक ६०, ९७० रुपैयाँ कायम गरेको छ । त्यस्तै मन्त्रीहरुको मासिक तलब ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ तोकिएको छ ।
सबैलाई आवास, सवारी साधन, सञ्चार सुविधा, अथिति सत्कार लगाएतका सुबिधा थप व्यवस्था गरिएको छ ।
विधयेक अनुसार मुख्यमन्त्रीलाई आवास सुविधा, इन्धन २५० लिटर प्रति महिना, मोबिल तिन महिनामा १० लिटर, सवारी साधन, संचार वापत प्रति महिना ५ हजार, अतिथि सत्कारका लागि प्रति महिना ४० हजार, विजुली र पानीको बिल अनुसार भुक्तानी दिने व्यवस्था गरिएको छ ।
त्यस्तै मन्त्रीलाई निजि आवासमा बसे घर मर्मतवापत एकमुष्ट १५०,०००, फर्निचर वापत एक लाख, इन्धन १५० लिटर प्रति महिना, मोबिल तिन महिनामा ५ लिटर, सवारी साधन, संचार वापत प्रति महिना २ हजार, अतिथि सत्कारका लागि प्रति महिना १५ हजार, विजुली र पानीको बिल अनुसार भुक्तानी दिने व्यवस्था गरिएको छ ।
त्यस्तै राज्यमन्त्री र सहायकमन्त्रीलाई निजि आवासमा बसे घर मर्मतवापत एकमुष्ट १२५,०००, फर्निचर वापत एक लाख, इन्धन १२५ लिटर प्रति महिना, मोबिल तिन महिनामा ५ लिटर, सवारी साधन, संचार वापत प्रति महिना २ हजार, अतिथि सत्कारका लागि प्रति महिना १० हजार, विजुली र पानीको प्रतिमहिना २ हजार दिने व्यवस्था गरिएको छ ।
साथै विधेयकमा स्वदेश भ्रमणमा जाँदा मुख्यमन्त्रीलाई दैनिक ३ हजार र त्यसैगरी मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीलाई दैनिक २५ सय भत्ता दिने व्यवस्था गरिएको छ भने विदेश भ्रमणमा जाँदा मुख्यमन्त्रीलाई दैनिक २५० डलर, मन्त्रीलाई १७५ डलर, राज्यमन्त्री र सहायक मन्त्रीलाई दैनिक १५० डलर भत्ताको व्यवस्था गरिएको छ ।