जनआन्दोलनका घाइते नन्दप्रसाद भन्छन –‘कि देश बनाऊ ! नत्र मलाई सिटामोल दिलाऊ’

खरीबोट

काठमाडौं । मैले ख्याल गरेअनुसार, मैले मेरो आमासँग गरेको पहिलो प्रश्नको उत्तर थियो , ‘बाबु ! तँ डेढ वर्षको हुँदा तेरो बाबु हराउनुभयो ।’ जब आमाको उत्तर सुनेँ, त्यसपश्चात् ओइरिए भेलहरु – कहिले, कहाँ, कसरीलगायतका यावत् प्रश्नहरुको ।

तर आमाले जसरी पहिलो प्रश्नको उत्तर दिनुभएको थियो, त्यसपछि कुनै पनि प्रश्नको उत्तर उहाँबाट पाउन सकिनँ । विस्तारै म हुर्किँदै थिएँ र थाहा पाएँ कि २०३६ सालमा पञ्चायतकालमा मेरो बाबा बेपत्ता हुनुभएको रहेछ ।

धादिङको एउटा विकट गाउँमा जन्मिएको थिएँ । आर्थिक अवस्था एकदमै कमजोर थियो । बाबालाई खोज्न र आमालाई सुख दिने सपना बोकेर म पञ्चहरुको गाउँलाई छोडेर राजाको ‘देश’ काठमाडौँ भित्रिएँ । 

राम्रो पढाइ थिएन जागिर खानको लागि, मजदुर गरेर जसोतसो अडिएको थिएँ । बाबाको खोजीको अपिल गर्दै दरबारको सचिव चिनेको छु भन्ने धेरैको पाउ मोल्न पुग्थेँ । तर सुनुवाइ कहीँ कतैबाट भएन ।  गाउँ फर्किन्थेँ – बेलाबेलामा आमाको लागि सानो झोला बोकेर ।

गाउँका सबै साथी संगीका घरमा बाबा थिए । तर नहुनेहरुको घरमा वर्षेनी श्राद्ध आउँथ्यो ।  तर न मेरो बाबाको श्राद्ध आउँथ्यो, न त घरमा बाबा नै हुनुहुन्थ्यो । र फर्किन्थेँ फेरि यही राजाको ‘देश’ बाबा फेला पार्ने आशासहित । 

राजा ज्ञानेन्द्रका विरुद्ध अखबारहरुमा विभिन्न नकारात्मक कुराहरु पढेको थिएँ, जसले मेरो रगत उम्लिएर आउँथ्यो । २०६२ चैत २४ गतेबाट सुरु भयो दोस्रो जनआन्दोलन र होमिएँ म पनि । पहिलो दिनदेखि नै । आन्दोलनको १७औँ दिनका दिन म गोंगबुमा गीत गाउँदै थिएँ । मेरो अगाडि एक हुल प्रहरी आइपुगेकोसम्म याद छ मलाई ।

होसमा आउँदा म  अस्पतालको शय्यामा थिएँ । अनि मलाई थाहा भयो कि मेरो टाउकोमा २४ टाँका लगाइएका छन् । जति बेला घाउको दुःखाइ महसुस हुनथालेको थियो । त्यतिबेलै सुनियो एउटा खुसिको खबर । त्यो थियो – राजा ज्ञानेन्द्र श्रीपेच खोल्न राजी भए ।

त्यही खुसीले मलाई कति बेला सडकमा ल्यायो थाहा छैन । म नाच्दै गर्दा मेरो घाउको टाँका चुडिएछन्, र रगत बन्नथाल्यो । त्यतिबेला मैले मेरो रगतलाई नेपाल आमाको आँशुसँग तुलना गरे ।

अब त देशमा परिवर्तन हुन्छ भन्ने आशा थियो । गरिबका झुपडीहरुमा पनि बिहान, बेलुका दुवै छाक चुलो बल्छ भन्ने विश्वास थियो । र दलका नेताहरुलाई राजाले बाँधेको दाम्लो फुकाउन आफूहरुले गरेको योगदानको कदर अवश्य हुन्छ भन्ने थियो । दिनहरु बित्दै गए नेताहरुले आफ्नो परित्र प्रस्तुत गर्न थाले ।

सरकार बन्ने र ढल्ने प्रक्रियाहरु चल्न थाल्यो ।  संसद् भवनभित्र सरकारी सम्पत्तिको तोडफोड गरेको पनि देख्नुपर्यो । संविधान पनि आयो । जब संविधानका पानाहरुमा आफूहरु अटाउन नसकेको महसुस भयो । त्यसपश्चात् आन्दोलनमा मर्न नपाएकोमा पछूतो लागेको छ  ।

समय त १२ वर्ष भइसक्यो र पनि टाउको दुख्दा लाग्छ म १२ दिन अगाडि घाइते भएको हुँ ।  घाइतेको परिचयपत्र पाउन पनि आन्दोलन गर्नुपर्यो । हिजो राजा हुँदा बाबुको खोजी गर्दै दरबार पुग्ने म आज उपचारको खोजी गर्दै नेताहरुको दरबार पुग्ने गर्छु, फरक केही छैन गेटमा बसेको गार्डले नै समस्या टिप्छ र फर्काइदिन्छ । 

देशमा नयाँ सरकार आएको छ । ढिलै भए पनि हामी घाइतेहरुको तर्फबाट स्थिरताको शुभकामना छ । हाम्रा आन्दोलनका उद्देश्यहरु अझै पूरा भएका छैनन् । अझै सर्वसाधारण जनताको घरमा दुई छाक चुलो बल्नसकेको छैन । सीमामा रहेका नेपालीहरुले नेपाली हुनुको अनुभूति गर्नसकेका छैनन् ।

कर्णालीमा समयमा औषधि र पुस्तक पुग्दैनन् । तराईमा चेलीहरु अझै पनि जल्न विवश छन् । नेपाली युवाहरुलाई मरुभूमिसम्म छाडेर फर्किने  जहाजको कमी भएको छ । नेपालका चिनारीहरु लोपोन्मुख अवस्थामा छन् । शिक्षा र स्वास्थ्यमा व्यवसायीकरण छ । धनी र गरिबबीच ठूलो खाडल छ, मर्नुभन्दा पहिले त्यो खाडल पुरिएको हेर्ने ठूलो चाहना छ  ।

चाहना छैन, हामीलाई यो देशको मन्त्री बनाइयोस् भन्ने, माग यत्ति हो कि दुःखेको घाउ कम गर्ने सिटामोल निःशुल्क दिलाइदेऊ । हामी पनि अपाङ्ग भएका छौँ । जति सक्छौँ मासिक भत्ताको व्यवस्था गराइदेऊ ।

हामीलाई दुःख लागेको छैन कि आन्दोलनमा घाइते हुनुपर्दा, दुःख त त्यस मानेमा लागेको छ कि हाम्रा घाउहरुले अझै उपचार पाउनसकेका छैनन् । यो देशको राजनीतिक परिवर्तनमा हाम्रो पनि त केही हदसम्म योगदान छ होला नि !

यदि साँच्चै छ भने हाम्रो मागहरुको पनि सम्बोधन होस् ! ता कि फेरि पनि यो देशको निमित्त लड्ने युवाहरुको लागि लड्ने नवयुवाहरुलाई प्रेरणा मिलोस् ! 

सम्बन्धित समाचार

नेपालमा खाद्य सुरक्षाको अवस्था र अवधारणा 

काठमाडौँ । शारीरिक र मानशिक रुपमा सक्रिय जीवनकालागि खाद्यन्न आधारभूत आवश्यकताको रुपमा रहन्छ । यसको अभावमा मानव शरीरलाई आवश्यक पोषण तत्वको कमी भई मानिस अस्वस्थ हुन जान्छ । मानव पूँजी

सामाजिक रुपान्तरणको प्रवृति र आगामी कार्यदिशा

सामाजिक सोच, विचार, चिन्तन र व्यवहार गतिशील प्रक्रिया हो । समयक्रममा रुपान्तरण अवश्यम्भावी छ । सामाजिक रुपान्तरण सामाजिक विकासका लागि अपरिहार्य छ । यसले सामाजिक मूल्य मान्यता, चिन्तन, आचरण, प्रवृति, सामाजिक

राष्ट्रिय सुरक्षा व्यवस्थापन र चुनौतीहरु

राष्ट्रिय सुरक्षाको अवधारणाको विकास सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना पश्चात भएको हो । सन् १९४७ मा अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ऐन जारी भएपछि संसारभर यस अवधारणको विस्तार भएको

विहिबारदेखि पुराना सवारी सञ्चालनमा रोक, महासंघ भन्छः पुनर्विचार गरिनुपर्छ

काठमाडौँ । यही विहिबार अर्थात् चैत १ गतेदेखि मुलुकभर सञ्चालनमा आएका २० वर्ष पुराना करिब छ हजार सवारी साधनहरु हटाउने तयारी सरकारले गरेको छ ।  पटक–पटक पुराना सार्वजनिक सवारी सधानहरु हटाउने