• २०८१ बैशाख १६ आइतबार

सडकमा वन्यजन्तु मारिनेक्रम बढ्न थालेपछि सवारी गतिलाई कम गरिदै

kharibot

फाइल तस्बीर

वीरगञ्ज ।  त्रिभुवन राजपथअन्तर्गत पथलैयादेखि अमलेखगञ्ज सडकखण्डमा सवारीको ठक्करबाट वन्यजन्तु मारिनेक्रम बढ्न थालेपछि पर्सा राष्ट्रिय निकुञ्जले सवारी गतिलाई कम गर्न सो क्षेत्रमा ड्रम राख्ने योजना अघि सारेको छ । 

पथलैयादेखि अमलेखगञ्जसम्म नौ किलोमिटर सडक पर्सा राष्ट्रिय निकुञ्जकोबीच भागबाट गएको र सो खण्डमा कालोपत्र सडक भएकाले चालक तीव्रगतिमा सवारी साधन चलाउँदा निकुञ्जभित्र रहेको दुर्लभ वन्यजन्तु सवारीको ठक्करबाट मर्ने गरेकाले निकुञ्ज प्रशासनले यस्तो योजना अघि सारेको हो । 

प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिएको छ भने यसभित्र रहेको दुर्लभ वन्यजन्तुको सुरक्षा चुनौती बढ्दै गएको छ । 

पथलैया–अमलेखगञ्ज कोर एरिया परेकाले सवारी साधनको गति नियन्त्रण गर्न सो सडक खण्डमा ठाउँठाउँमा ड्रम राख्ने योजना रहेको प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । 

सो क्षेत्रमा चालकले अत्यधिक गतिमा सवारी चलाएकै कारण मंसिर महिनायता दुई दर्जनभन्दा बढी वन्यजन्तु सवारी साधनको ठक्करबाट मर्न गएकाले जनावरको सुरक्षाका लागि ठाउँठाउँमा ड्रम राख्ने योजना अघि सारिएको बताइएको छ । 

तीव्र गतिमा रहेको सवारीको ठक्करबाट चितुवा, स्मल इण्डियन किभेट, सुनगोही, रतुवा, जरायो, बँदेल, बाँदर, चित्तलजस्ता जनावर मरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज नेपालको मध्यभागमा अवस्थित तराई, भावर र चुरे क्षेत्रमा पाइने विविध प्रणालीको प्रतिनिधित्व गर्दै बारा, मकवानपुर र पर्सा जिल्लाको केही भागलाई समेटी ६२७ दशमलव ३९ वर्ग किलोमिटरमा फैलिएको छ । 

आव २०७३÷२०७४ को तथ्यांक हेर्दा यस निकुञ्जभित्र ३२ प्रजातिका स्तनधारी, ३७१ प्रजातिका चरा, ३१ प्रजातिका पुतली, १० प्रजातिका सर्प छन् भने जंगली हात्ती ६० देखि ६५ वटा, पाटेबाघ सात, गौरीगाई १०५, गैँडा तीनदेखि पाँच वटा, वनस्पती ३३४ प्रजातिका तथा छ प्रकारका वन रहेका छन् । यसको विस्तारित क्षेत्रमा प्रसिद्ध चारकोसे झाडी र हलखोरीया दह रहेको छ । 

पथलैयादेखि अमलेखगञ्जसम्मको मार्गबाट नै जनावर ओहोरदोहोर गर्ने गर्दछन । सो क्षेत्रको सडकमा ड्रम राख्ने, सन्देशमूलक साइनबोर्ड राख्ने तथा सवारी साधनको गतिबारे अनुगमन गर्ने योजना अगाडि सारेको निकुञ्जले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै