• २०८१ बैशाख १६ आइतबार

सांसदद्वारा प्रजातन्त्र र शहीद दिवस बिदा कटौतीको विरोध

kharibot

काठमाडौँ । प्रतिनिधिसभा सदस्यले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसंग माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन र जनताका अधिकारका लागि सहादत प्राप्त गरेको शहीदको स्मरण गर्ने दिनको बिदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गरे । 

सांसद बडूले दार्चुलाको सिमानामा भारतीय पक्षबाट एकपक्षीय रुपमा बनाइएका पुलको विषयलाई लिएर तनावग्रस्त अवस्था भएको भन्दै समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण पनि गराएका हुन् । 

सांसद हृदयेस त्रिपाठीले किसानले आफ्नो उत्पादनको मूल्य आफैँ तय गर्न नपाएको अवगत गराउँदै उखु किसानले हालसम्म रु ११ अर्ब पाउन बाँकी रहेकाले यसमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए । 

नेकपा माओवादी केन्द का प्रभु साहले तराईमा बाढीपीडित जनताका समस्या यथावत् रहको भन्दै तत्काल पुनःस्थापना र दीर्घकालीन राहतको माग गरे । 

उनले आगामी वर्षामा आउन सक्ने बाढीको सम्बन्धमा सचेत हुनुपर्नेमा जोड दिदैं प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको एजेण्डाका सम्बन्धमा संसद्लाई जानकारी गराउनुपर्छ भने । 

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले रौतहटमा असिनाबाट भएको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत व्यवस्थाको माग गरे । उनले जनताका भावनासंग गाँसिएका सार्वजनिक बिदा कटौतीको विरोध गर्दै बिदामा कटौती गरेर मात्र काममा प्रगति नहुने धारणा व्यक्त गरे । 

संघीय समाजवादी फोरम नेपालका विमलप्रसाद श्रीवास्तावले सरकारबाट दलितको घर बनाउने भनेर बजेट निकासा भए पनि पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले तराईमा आएको असिना पानीबाट कृषिमा भएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण पनि गराए । 

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले नेपाली नागरिकलाई जहाँ बसे पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै विदेशमा बस्ने करीब ४० लाख नेपालीलाई विदेशबाट मतदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरीन् । 

एमालेका राजेन्द्रप्रसाद गौतमले संखुवासभामा भएको जिप दुर्घटनाको जानकारी गराउँदै दुर्घटनामा निधन भएकाको सम्मानसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे । 

काँग्रेसका जीवछिरिङ लामाले भूकम्पपीडितका घर दु्रत गतिमा निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए । 

माओवादी केन्द्रका गजेन्द्र महतले जुम्लामा अस्पताल भए पनि डाक्टर नभएको र सडक भए पनि यातायातको व्यवस्था नभएको भन्दै आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । 

माओवादी केन्द्रका गंगा सत्गौवा चौधरीले गौतमबुद्ध जन्मेको देशमा गाई काटेर खान पाउनुपर्छ भन्ने विषय सार्वजनिक भएको विषयप्रति टिप्पणी गर्दै कुनै पनि धर्मका नाममा पशुको काटमार गर्नु अमानवीय हो भने । 

काँग्रेसका राजेन्द्र केसीले दक्षिणकाली बस दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग माग गरे । 

नेपाल मजदूर किसान पार्टीका पे्रम सुवालले ठूला कुराभन्दा साना साना कुरामा सरकारको ध्यान जानुपर्ने भन्दै काठमाडौँ उपत्यकामा राष्ट्रपतिको सवारीले सडक जाम भएको गुनासो गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै