रत्ननगर, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित दुई नम्बर पुल नजिकै ढुंगा खस्दा शुक्रबार एक माइक्रोबसका चालकको मृत्यु भएको छ ।
अपराह्न ४ः४० बजेको समयमा माथिबाट सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेर काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नं को माइक्रोबसका चालकको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए ।
मृत्यु हुनेमा मकवानपुरको दामन घर भएका माइक्रोबसका चालक दीपक रुम्बा रहेको जनाइएको छ । ढुंगा लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर अस्पतालमा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको ढकालले बताए ।
सुख्खा पहिरोसँगै खसेको ढुंगा लागेर माइक्रोबसको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
सडक माथि डढेलो लागेपछि ढुंगा खसेको मुग्लिन नारायणघाट सडक आयोजनाले जनाएको छ । आयोजनाले सडक माथिको जंगलमा डढेलो लागेर ढुंगा खस्ने अझै सम्भावना भएकोले सावधानीपुर्वक यात्रा गर्न अनुरोध गरेको छ ।