• २०८१ बैशाख १४ शुक्रबार

पुनःनिर्माणमा महिला सहभागिता

kharibot

नगरकोट । कृषि कार्य तथा घरभित्रकै काममा व्यस्त हुने महिला अहिले पुनःनिर्माणमा व्यस्त बन्न रहन थालेका छन् । 

चाँगुनारायण नगरपालिका–८, सुडालकी राधिका श्रेष्ठका श्रीमान् विदेशमा छन् । आफ्नो परिवारको जीविकोपार्जनका लागि श्रेष्ठलाई श्रीमान्को कमाइ कुर्नुपर्ने बाध्यता थियो । महिला कामदारलाई कम पारिश्रमिक दिने चलन अझै यथावत् छ । 

‘परिवार पाल्न र बच्चा पढाउन धौधौ हुन्थ्यो,’ उनले भने । श्रेष्ठले सातदिने डकर्मी तालीम लिए । अहिले उनले पर्खाल लगाउने र छड बाँध्ने काम गर्दै आएका छन् । उनी भने, ‘अहिले घर बनाउने काम भ्याइनभ्याई छ । घर खर्च सजिलै चलेको छ । श्रीमान्लाई पनि नेपाल बोलाएर तालीम लिन लगाउने र पुनःनिर्माणमा सहभागी गराउने लक्ष्य छ ।’ 

राधिका जस्तै सूर्यविनायक नगरपालिका दधिकोटकी डिका हमाल पनि आफ्नो कामबाट खुशी छन् । सामान्य कामदारका रुपमा काम गर्दा बल्लतल्ल रु ७०० पाउने हमाल अहिले दिनको झण्डै दोब्बरजति कमाउँछन् । घर बनाउने कामका लागि अनुरोध गर्न आउनेको संख्या बढेको हमाल बताउँछन् । 

चाँगुनारायण नगरपालिका–४, छालिङकी ज्ञानलक्ष्मी लाखेजु पनि अहिले घर बनाउने कार्यमा सक्रिय छन् । श्रेष्ठ, दाहाल र लाखेजुजस्तै भक्तपुरका २१ जना महिलाले रेडक्रसले सञ्चालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रममार्फत सञ्चालित सुरक्षित आवास निर्माणको सातदिने तालीम लिएर काम शुरु गरेका छन् । 

पुनःनिर्माणका लागि महिलाको सहभागिता बढेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापा बताउँछन् । बाउन्न वर्ष उमेरसम्मका महिला तालीममा सहभागि भएको उनले बताए । 

निर्माण सामग्री ओसारपसार तथा सिमेन्ट, बालुवा गिट्टी घोल्ने कार्य गरिरहेका महिला तालीमपश्चात् दक्ष मिस्त्रीको कार्यका लागि अग्रसर बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका कार्यालय सचिव शिवराम गेलाल बताउँछन् । 

महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत निलाकुमारी घिमिरे महिलामाथि हुने हिंसाका घटनामात्र नभएर उनीहरुलाई दक्षकर्मी बनाउन पनि स्थानीय तहले ध्यान दिनुपर्ने बताएका छन् । 

‘अझै पनि सिकर्मी डकर्मीलगायत दक्ष काममा महिलाको पहुँच पुग्न सकेको छैन,’ उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै