• २०८१ बैशाख २० बिहीबार

शिक्षामा बीस प्रतिशत बजेट विनियोजन हुन्छ : रक्षामन्त्री पोखरेल

kharibot

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले समृद्धि र विकासको यात्राका लागि ज्ञान, क्षमता र योग्यतामा आधारित नीति र शिक्षाका लागि बजेट वृद्धि गरिने बताएका हुन् ।

हाल शिक्षामा करिब १० प्रतिशत मात्र बजेट छ । उनले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षाको भार हुने गरी शिक्षामा रुपान्तरण गरिने जनाए । 

उनले आगामी एक वर्षभित्र संघीय शिक्षा ऐन, शिक्षा अधिकार ऐन र उच्च शिक्षा ऐन जारी गरिने पनि बताए । उनले लोकतन्त्र स्थापनामा शिक्षकको भूमिका भए पनि परिवर्तित सन्दर्भमा आफ्नो कर्तव्य र व्यावसायिकतालाई मनन गर्न शिक्षकलाई आग्रह गरे । 

कार्यक्रममा नेकपा एमालेका शिक्षा विभाग प्रमुख गंगालाल तुलाधरले शिक्षामा प्रगतिशील कर प्रणाली लागू हुनुपर्ने बताए भने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वाम गठबन्धनले निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार शिक्षामा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । 

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले महाधिवेशन सफलताको कामना गरेका थिए । 

‘अधिकार कर्तव्यका लागि शिक्षक एकता’ को नारासहित तीन दिनसम्म भृकुटीमण्डपमा चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासंघका अध्यक्ष केशव निरौलाले जानकारी दिए । 

तत्कालीन नेपाल शिक्षक युनियनको रुपान्तरित संस्थाका रुपमा विसं २०७१ फागुन २७ मा महासंघको गठन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै