• २०८१ बैशाख १८ मंगलबार

डढेलोबाट घरगोठ नष्ट, एक दर्जन सामुदायिक वनमा आगलागी

kharibot

फाइल तस्बिर

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित जलकन्या सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्केपछि चार घर तथा पाँच गोठ नष्ट भएका छन् । 

जलकन्या सामुदायिक वनमा मंगलबार अपराह्नदेखि लागेको आगो हावाहुरीका कारण वस्तीतर्फ पसेपछि ती घरगोठ नष्ट भएका हुन् । आगलागीबाट धनकुटा–९ माङडाँडाका मानबहादुर राई, मुखजीत राई, मनकामारी राई, खगेन्द्र भण्डारी, कुलबहादुर राई, गणेशबहादुर घिमिरे, उपेन्द्र घिमिरे, तिलक घिमिरेको घर गोठ नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट घर, गोठ र चौपाया एवं अन्नपात जलेर करिब रु ४५ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताए । 

सो क्षेत्रमा सडकको पहुँच नभएर धनकुटा नगरपालिकाको बारुणयन्त्र पुग्न नसक्दा आगो नियन्त्रण गर्न नसकिएको जनाइएको छ । 

आगलागीपीडित परिवारलाई बुधबार बिहान राहत वितरण गरिएको नेपाल रेड्क्रम सोसाइटी धनकुटाका सभापति नरेन्द्र पोख्रेलले बताए । हालसम्म पनि आगो नियन्त्रण लिन नसकेकाले सो क्षेत्रका दर्जनौँ घर जोखिममा रहेका छन् । 

यसैबीच, जिल्लाका करिब एक दर्जन सामुदायिक वनमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ । धनकुटा नगरपालिका–१० कोपात्लेस्थित सान्ने सामुदायिक वन, मूलाबारी सामुदायिक वन र वाग्ले सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको छ । 

यस्तै, जोरपाटी गाउँपालिकाको सिभुवा ताक्लाखर्क सामुदायिक वन र पाथिभरा सामुदायिक वनमा समेत डढेलो लागेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै