मन्त्री थममाया थापा राजनीतिक यात्रा : म्याग्दीको विकट गाउँबाट सिंहदरबारसम्म

खरीबोट
ad

काठमाडौं । वि.सं. २०१५ सालमा आमा गजमती थापा र बुबा नरबहादुर थापाकी कान्छी छोरीको रुपमा जन्मिएकी हुन् थममाया थापा । म्याग्दीको विकट गाउँमा जन्मिएकी थापाले अरु सामान्य बच्चाले जस्तै आफ्नो बाल्यकाल बिताइन् । बाबु भारतीय सैनिकको जम्दार भएको र छोराछोरीलाई स्कुल पढाउनुपर्छ भन्ने उद्देश्यले आफैँले स्कुल बनाएर आफैँ पढाउनथालेपछि उनी पनि स्कुल पढ्न थालिन् ।

छोराछोरी पढ्नथाले साँच्चै बिग्रिन्छन् भन्ने सोच भएका बाबु आमालाई बुझाउन आफ्नो बाबुलाई गाह्रो भएको अनुभव उनले सुनाइन् । उनले भनिन्, ‘त्यो बेला पढ्ने चलन नभएकाले स्कुल पढ्ने र पढाउने बानी बसाल्न साँच्चै ठीक काम थियो ।’ बुबा ‘रिटायर्ड’ भएपछि उनले पढाउन सुरु गरिन् । आफ्नो पढाउँदाको अनुभव सुनाउँदै थापाले भनिन्, ‘छोराछोरी बिगार्यो भनेर सबैले विरोध गरे ।’ 

आफ्नो बुबाले सामाजिक काम गर्दै आएको र आफूले पनि त्यस्तै समाजसेवाको काम गर्छु भन्ने सोच उनलाई थियो । आखिर उनले त्यो पूरा गरेरै छोडिन् । २०३५÷०३६ सालको बहुदल÷निर्दलको कुरा आएको र बहुदलमा आफू लागेकाले राजाको विरोध गरेको भन्दै उनलाई अझ नराम्रो व्यवहार गरे । त्यसपछि उनी आफ्नो शिक्षण पेसा नै छोडेर सदरमुकाम बस्नथालिन् । त्यसपछि उनी स्काउटको सहायक जिल्ला आयुक्त भएर आइन् र माले पार्टीसँग सम्पर्क गरिन् ।

त्यहीँबाट उनको राजनैतिक जीवन सुरु भयो ।  मालेको विचार, सिद्धान्त मन परेपछि उनी पार्टीप्रति आकर्षित भइन् । त्यसपछि अनेमसंघको टोल कमिटीमा आबद्ध भएर अगाडि बढ्दै गइन् । जब उनी रानजीतिमा लागिन्, आफ्नो अध्ययन पेसालाई पनि अघि बढाउँदै भूमिगत राजनीति सुरु गरिन् । उनलाई विचार र सिद्धान्तले यो सबै सम्भव भएको हो भन्ने लाग्छ । उनले अगाडि भनिन्, ‘दिदीबहिनीलाई राजनीतिमा लाग्नुपर्छ, समाज परिवर्तन गर्नुपर्छ, महिलाहरु पछि पर्नुहुन्न अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिन भूमिगत रुपमा नै लागिपरेँ ।’  

२०४३ सालमा पञ्चायतको भण्डाफोर गर्ने र जनपक्ष प्रतिनिधि उठाउन लागिपरिन् । प्रचारप्रसारको लागि खटेकै समयमा उनीमाथि धेरै कुटपिट भयो । कुटपिटसँगै लगाएका कपडासम्म च्यातिदिएको तीतो राजनीतिक अनुभव उनीसँग छ । ‘एकपटक त धेरै कुटपिट गरेर आफूलाई मरेको भन्दै फाले’, उनले भनिन्, ‘शरीर कतै खाली थिएनन् घाउ नै घाउ थियो ।’ पछि बुथ नै कब्जा गरेर पञ्चायतले जितेको घोषणा गरिएको उनले सुनाइन् ।

त्यसपछि भने उनी पूर्णरुपमा नै खुलेर राजनीतिमा आइन् । सोही कारण उनले १५ वर्षदेखि गर्दै आएको पढाउने स्थायी शिक्षण पेसा छोडेर राजनीतिमा होमिइन् । त्यसपछि उनी पोखराको पीएन क्याम्पसमा भर्ना भइन् । त्यहाँबाटै विद्यार्थी राजनीति सुरु गरिन् । स्ववियुको कोषाध्यक्षबाट राजनीति सुरु गरिन् । तर त्यहाँ पनी उनलाई राजनीति गर्न सहज थिएन । क्याम्पस प्रशासनले नै राजकाजको अभियोग लगाएको र खुलेर हिँड्न नसकेपछि फेरि भूमिगत भइन् र आफ्नो अध्ययन समेत पूरा गर्न पाइनन् थापाले । 

‘एकपटक त धेरै कुटपिट गरेर आफूलाई मरेको भन्दै फाले’, उनले भनिन्, ‘शरीर कतै खाली थिएनन् घाउ नै घाउ थियो ।’ पछि बुथ नै कब्जा गरेर पञ्चायतले जितेको घोषणा गरिएको उनले सुनाइन् ।

२०४५ सालमा जनवादी विवाह गरिन् । विवाहपछि उनकी छोरी जन्मिइन् । र २०४६ सालको आन्दोलनपछि बहुदल आएपछि पुनः म्याग्दी गएर नेकपा मालेको पार्टी कार्यालय खोलेर आफैँ कार्यालय सचिव बनेर काम गरी उनी २०४८ सालमा पार्टीको पहिलो संसदमा अत्यधिक बहुमतले निर्वाचित भइन् । २०४८ सालको दोस्रो अखिल महिला संघको सम्मेलनमा केन्द्रीय सदस्यसम्म भइन् ।

त्यस्तै, अखिल नेपाल महिला संघको दोस्रो, तेस्रो, पाँचौँ, छैटौँ सम्मेलनसम्म उनले कमिटीमा रहेर काम गर्दैै आइन् र हालसम्म पनि अनेमसंघको महासचिवमा रहेर काम गर्दै आएकी छिन् । केन्द्रीय कमिटी सदस्य हुँदै पोलिटब्युरो सदस्य समेत भइन् थापा ।  संघर्षमय राजनीतिक जीवन, तीतो अनुभव लिएर राजनीतिमा होमिँदै आएकी थापाले आफू आन्दोलनमै भएको समयमा दुई वर्षीय छोरा गुमाउनुपरेकोमा दुःख व्यक्त गरिन् ।

त्यस्तै ०५२ सालमा आमालाई उपचार गर्न नपाएर आमाको मुत्यु भएको त्यो क्षणले उनलाई बेलाबखत भक्कानो छोडिदिन्छ । राजनीति गर्नथालेपछि घर, परिवार, नातागोता केही भन्न नपाइने भए पनि देश, जनता र समाजको लागि काम गर्ने भएकाले परिवार गौण रहने उनको धारणा छ । 

आफूले धेरै संघर्ष गरेकाले नै जनताले धेरै अधिकार पाएको बताउने थापा देशमा संघीय लोकतन्त्र आएको र बहुमतको वाम सरकार बनेको बताइन् । जनताको लागि केही गरियो भन्ने लाग्छ उनलाई । उनले भनिन्, ‘बगाएको पसिना खेर गएन ।’ प्राप्त भएको कुरा संस्थागत गर्नको लागि राजजीतिक स्थिरता, जनताको आशा र प्रतिनिधिको हिसाबले चुनौती र अवसर दुवै छ भन्ने लाग्छ उनलाई । 

जीवनको लामो समय संघर्षमय रहेको र हाल महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भइरहेको अवस्थासम्म आइपुगेका थापालाई जीवन संघर्ष र अनुभवको संगालो जस्तै लाग्छ । त्यसैले त उनी जीवन तीतोमीठो दुवै हुने बताउँछिन् । 

नयाँपुस्ताको राजनीतिमा कम चासो 

लामो समयदेखि राजनीतिमा लागेकी थापाले जीवनमा धेरै संघर्ष गरिन् । अझ भनौँ उनले राजनीतिमा सफलता समेत हात पारेकी छिन् । तर उनलाई नयाँपुस्ता भने जाँगर र चासोका साथ राजनीतिमा नआएझैँ लाग्छ ।

किनभने राजनीतिक अस्थिरता, संगठन व्यवस्थित नभएको, उचित योजना नभएकोले राजनीतिमा नयाँपुस्ता कमै आएको उनको बुझाइ छ । तर राजनीति सबै कुराका निर्णायक भएकाले हरेक मान्छेले राजनीति जान्नु र बुझ्नुपर्छ भन्ने लाग्छ उनलाई । त्यसैले त उनी भन्छिन्, ‘राजनीति सबै कुराको निर्णायक हो भने जनता विश्वविद्यालय हुन् ।’

भर्खरै मन्त्री समेत बनेकी थापा महिला हकहित र अधिकारको लागि आफ्नो जीवन समर्पित भएकोले यसकै लागि मरिमेट्ने बताउँछिन् । महिला, बालबालिका, ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, रोजगारीको लागि आफूले काम गर्ने उनको लक्ष्य रहेको छ । समाजमा रहेको अन्धविश्वास, छाउपडी अन्त्य, बालबालिका, ज्येष्ठ नागरिकले पाएको दुःख र उनीहरुकै लागि आफूले  ठोस कदम चाल्ने उद्देश्य छ उनको ।

सडक बालबालिकाको भविष्य निर्माणको लागि योजना बनाउने, नीतिगत रुपमा विधान बनाउने, संविधानमा लेखिएका कुरामा कानुन बनाउने, महिला हिंसा, विकृति र विसंगतिको अन्त्यको लागि एनजीओ, आईएनजीओलाई पारदर्शी बनाउने समेत उनको लक्ष्य छ ।

आफूले हरेक दुःखको सामना गर्दै यहाँसम्म आइपुग्दा आफूले जनताकै हकहित र अधिकारको लागि काम गर्दै आएको र मन्त्री बन्न पाउँदा आफूले साँच्चै केही गरेजस्तो लाग्छ उनलाई । तर आफू मन्त्री नै नबने पनि मन्त्री बन्ने लाइनसम्ममा आफ्नो नाम आउँछ भन्ने सोचेको उनले खरीबोटसँगको कुराकानीमा बताइन् । 

जिन्दगीको उर्वर समय राजनीतिमा बिताएर मन्त्री बन्न सफल भएकी थापा आफ्नो जीवनको सबैभन्दा धेरै खुसी बहुदलीय वाम सरकार आउँदा भएको बताउँछिन् । उनले भनिन्, ‘जिन्दगी नै यसैमा लगानी गरेँ, योभन्दा खुसी के हुनु र !’ 

आफ्नो छोरो, आमा र मदन भण्डारी अनि जीवराज आश्रितलगायतको मृत्युको त्यो क्षण र आन्दोलनमा पाएको ती तीता यथार्थलाई उनी आफ्नो जीवनको दुःखको क्षण मान्छिन् । 

  • (गत ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ खाएर महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थापासँग खरीबोट डटकमकी संवाददाता कविता घिमिरेले उनकै कार्यकक्षमा गरेको कुराकानीमा आधारित)

सम्बन्धित समाचार

सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने मन्त्रालयको लक्ष्य

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ ।  वर्तमान सरकार गठन भएयता भएका कार्यप्रगति तथा भावी कार्ययोजना सार्वजनिक

‘२० प्रतिशत महिलालाई सम्पत्तिमाथिको अधिकार’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले स्थानीय सरकार बलियो र सशक्त नभएसम्म महिला र बालबालिका सुरक्षित हुन नसक्ने बताएका छन् ।  दिदीबहिनी नामक संस्थाले आज यहाँ आयोजना गरेको

महिलाको अधिकार सुरक्षित गर्छु : मन्त्री थापा

काठमाडौँ । श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारवाही गरी उनीहरुको अधिकार सुरक्षित गरिने बताएकी छन् ।  सांस्कृतिक सङ्ग्रहालय नेपालले नेपाल कला परिषद्मा

बोक्सी आरोपमा कुटपिट गर्ने अपराधीलाई ८ वर्ष जेल हाल्छौं  : मन्त्री थापा 

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गर्ने र दोषीलाई ५ देखि ८ वर्षसम्म जेल

Loading...

Loading...