पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल टिआइ द्वारा बिहीबार सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औँ स्थानमा छ ।
सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा टिआइले १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा गत वर्षका तुलनामा नौ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२औँ स्थानमा परेको जनाइएको छ ।
राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायत छ मापदण्डका आधारमा देशलाई शून्यदेखि १०० सम्म अंक दिइएको थियो । शून्य अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक प्राप्त गरेमा भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याउने आधार थियो ।
विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउण्डेशन, वल्र्ड जस्टिम प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणअनुसार पत्रकार र नागरिक संस्थाको सुरक्षाको प्रत्याभूति नभएका देशमा भ्रष्टाचार बढी हुने गरेको छ ।
तथ्यांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा ८९ अंक प्राप्त गरी पहिलो नंमा न्यूजिल्याण्ड र ८८ अंक प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा छन् भने सोमालिया नौ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा छ ।
दक्षिण एशियाका देशमध्ये अफगानिस्तान अन्तिमबाट चौथो स्थानमा अर्थात् १५ अंक प्राप्त गरी १७७ औँ स्थानमा रहनाका साथै बंगलादेश १४६औँ, पाकिस्तान १२३औँ, माल्दिभ्स ११८औँ, श्रीलंका ९७औँ, भारत ८५औँ र भुटान २९औँ स्थानमा छन् ।
तथ्यांकअनुसार चीन ७७ औँ स्थानमा परेको छ । भ्रष्टाचार न्यूनीकरणका लागि नागरिक समाज र मिडियाको महत्वपूर्ण भूमिका रहने टिआइ नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले बताए ।