• २०८१ बैशाख १४ शुक्रबार

खुल्ला सुनौली नाका देखेपछि उब्जिएका प्रश्नहरु ... 

kharibot

भारतबाट नेपाल प्रवेश गर्ने नाका

केही समयअघि घुमघामको लागि म बुटवल गएकी थिएँ । २÷४ दिनको बसाइ र घुमाइमा नयाँ ठाउँ घुम्ने इच्छा, चाहना मनमा धेरै थियो । अझ भनौँ, यो मेरो पश्चिम नेपालको पहिलो घुमाइ थियो । पश्चिम नेपाल आएको बेला नाकासम्म पुगौँ भन्ने सोचले म नेपाल—भारत सीमावर्ती सुनौली नाकासम्म गएँ ।

नेपाल र भारत सीमावर्ती नाका हेर्न पाउने त्यो आशा, उमङ्ग मनमा धेरै थियो । अझ समय–समयमा भारतले हामी नेपालीमाथि नाकाबन्दी लगाउँदै आएकाले त्यो द्विदेशीय नाका हेर्न इच्छुक थिएँ म । धेरै आशा र उमङ्गका साथ म त्यसतर्फ लागेँ ।

जब नाकामा पुगेँ, साह्रै नराम्रो लाग्यो । बुटवलबाट लगभग एक घण्टामा सुनौली नाका पुगे म । पहिला भैरहवा भन्सार कार्यालयसँगै रहेको नेपाली नाका आयो । खुसी लाग्यो । आफ्नो देशको नाका सीमा क्षेत्र देख्न पाउँदा । जब नेपालको सीमा नाका सकियो, त्यसपछि भारतको सीमा क्षेत्र आयो । खुसी लाग्यो नेपाल र भारत दुवै नाका देख्न पाउँदा ।

थाहा थियो नेपाल र भारतको सीमा खुल्ला छ तर त्यहाँ गएर हेरिसकेपछि भने यसमा मलाई चित्तै बुझेन । खुल्ला हुनुको मतलब कुनै चेकजाँच नहुनु होइन, यसको मतलब सीमामा एउटै सुरक्षाकर्मी पनि नहुनु होइन । दुई सार्वभौमसत्ता सम्पन्न देशको सीमा एउटै देशका जिल्लाहरुको सीमाजस्तो नहुनुपर्ने हो तर त्यस्तो रहेनछ ।

लेखिका

यहाँ त खुलेआम हरेक मान्छे नेपाल आउन र नेपालबाट जान सक्ने रहेछन् । नेपालपट्टि त्यस्तो भए पनि सँगै रहेको भारतको सीमा क्षेत्रमा भने त्यस्तो देखिएन । त्यहाँ पार गर्न आफ्ना झोलादेखि सबै शरीर जाँच गराउनुपर्ने रहेछ । 

यसले साहै्र नराम्रो लाग्यो । भारतले आफ्नो देशको सुरक्षाको लागि कडाइ गर्यो त आफ्नो लागि गर्यो तर नेपालको नाकामा पनि त कडाइ गर्न सकिन्थो होला नि ! किन यस्तो खुलेआम छ हाम्रो देशको नाका ? सँगै रहेको भारतले सिमामा कडा चेकजाँच गर्दा नेपाली नाका किन खुल्ला छ ? सँगै रहेको नेपालको नाकामा जो कोही विना रोकतोक आउनसक्छन् तर भारत जान किन कडा छ । नेपाली सधैँ हेपिएरै पछाडि पर्दै जाने कि नाकामा हाम्रो पनि कडाइ गर्ने हो ? 

भन्ने त गरिन्छ, नेपालका सबै नाकाहरु खुल्ला छन् । तर हामी सधैँ खुल्ला सिमानामा नै बस्ने हो त ? आफ्नो देश र जनताको सुरक्षाको लागि सिमानामा कडाइ गर्नुपर्ने हो किन नेपाल सरकार मौन छ यो कुरामा ? म मात्र नभएर यहाँ आउने हरेक नेपालीको मनमा यो प्रश्न उठ्छ, नेपाली नाका सीमा क्षेत्र किन खुल्ला छ ? हाम्रो सीमा क्षेत्रमा हामी आफैँले कडाइ नगरे कसले गर्छ ?

नेपालको सीमा वारिपारि हरेक सामानको मूल्य उस्तै—उस्तै रहेछ । सीमा वारिपारिका नेपाली र भारतका नागरिक बीच कुनै दुश्मनी छैन । मिलेरै बसेका छन् । अझ भनौँ सस्तो सामान किन्न पाएका छन् नेपालीहरुले । तर समग्र देशको सुरक्षालाई खुला नाकाले धेरै चुनौती दिएको छ ।

हिजोका दिनमा भारतले हामीमाथि गरेको व्यवहार हेर्दा भोलि कुनै छलकपट नगर्ला भन्न सकिन्न । २०७२ सालको विनाशकारी भूकम्प गएको बेला सहयोग गरेको भारतले नेपालीले आफ्नो संविधान आफैँ बनाउँदा नाकाबन्दी लगाएर भूकम्पले चिथोरेको आलो घाउमा झन् नुन खुर्सानी छर्ने ती छिमेकीसामु हामी झुक्नुहुँदैन । छिमेकीको समान हैसियत हुन्छ, चाहे एउटा गरिब र अर्को धनी नै किन नहोस् । 

  • नेपालबाट भारत प्रवेश गर्ने नाका 

हुन त हरेक वर्ष भारतले नेपाललाई धेरै सहयोग गरिरहेको छ । तर सहयोगको बदला हामी खुल्ला सिमाना राख्दै छाँै भने अवश्य हामी गलत गरिरहेका छौँ । कम्तीमा भारत छिर्दा कस्तो कडाइ हुन्छ, त्यति त हाम्रोतिर नि हुनुपर्छ नि ! भारततिर महिला, पुरुष लाइन बसीबसी सीमा काटेको देखिनु अनि हाम्रोतिर चाहिँ फुतुफुतु विना जाँचपड्ताल ओहोरदोहोर हुनु राम्रो होइन ।  
हरेक वर्ष यतिउति नेपाली चेलीबेटी बेचिए भन्दै समाचार आउँछ ।

विभिन्न जिल्लाका धेरै चेलीबेटी बेचिए भन्ने खबर पनि आउँछ । अनि हाम्रो समाज र चेली आफैँ त्यस्तै हुन् भन्न पछि नपर्ने हामी अनि हाम्रो सोच कस्तो हो? लाग्छ, खुल्ला सीमा क्षेत्रको कारणले पनि धेरै नेपाली चेलीबेटी बेचिइरहेका छन् । सीमा नाकामा कडाइ गर्ने हो भने पनि धेरै चेलीबेटी बेचबिखनबाट बच्ने थिए ।

त्यसैले नेपालको सीमा क्षेत्र बलियो भए, हामी सबै नेपालीलाई राम्रो हुने थियो तर सीमा क्षेत्र कडाइ गर्न सरकारको ध्यान कहिले जाला ? यदि सीमा क्षेत्रमा कडाइ गरे हामी सबै नेपाली खुसी, सुखी र सुरक्षितसँग बाँच्न सक्छौँ । अन्यथा, सधैँभरि अरुकै हेपाइमा नै बस्ने हो त ? 

बिहीबारमात्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पुनः दोस्रोपल्ट प्रधानमन्त्री भएका छन् । भूकम्प गएकै वर्ष भारतले अघोषित नाकाबन्दी लगाउँदा त्यसको सामना गरेका ओली फेरि प्रधानमन्त्री भएका छन् । त्यतिबेलाको पीडा बुझेका कारण ओलीले केही गर्लान् कि भन्ने आशा जागेको छ । अरु देशले आफ्ना नाकामा जुन कडाइ गर्छन्, गरेका छन्, त्यस्तै कडाइ हाम्रा नाकामा पनि होओस् भन्ने चाहना हो । 

कुनै पनि नाका हेर्न जाँदा हामी नेपालीलाई हाम्रो नाकाको दुरवस्था देख्दा नराम्रो नलागोस् । सुनौली नाका पुग्दा मलाई जस्तो महसुस भएको थियो त्यस्तो अरु नेपालीलाई नहोस् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै