• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय टोलीमा अल्मुताइरीले दिए नौ नयाँ अनुहारलाई अवसर, को को छन् ?

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली घोषणा गरेको छ ।  प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलका लागि दुई टिम बनाउँदै ३४ खेलाडीलाई नै अवसर दिएका हुन् । जहाँ उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान पाएका नौ खेलाडीलाई नै स्थान दिएका छन् । 

नयाँ खेलाडीमाध्ये गोलरक्षकमा टिकेन्द्र थापा, शत्रुघन चौधरी, मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढा मगर, नवीन गुरुङ, आशिष राई, सुशिल राई फरवार्डमा कृतिश रत्न छुन्जु र प्रशान्त अवस्थी रहेका छन् । यस्तै, प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई पुनरागमन गराएका छन् ।  

टिकेन्द्र थापा

गोलरक्षक टिकेन्द्र नेपाली फुटबलमा परिचित नाम हो । जावलाखेल युथ क्लबबाट व्यवसयिक फुटबल खेलिरहेका टिकेन्द्रले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक अभ्यासमा मौका पाएका थिए । उनी पहिलो अवसरमै प्रशिक्षक अब्दुल्लाहको नजरमा पर्न सफल भएका हुन् । अघिल्ला दुई लिग समेत जावलाखेलबाट खेलेका टिकेन्द्रले पहिलो फ्रेन्चाइज नेपाल सुपर लिगमा भने धनगढी एफसीमा आवद्ध भए पनि अवसर पाएनन् । 

शत्रुघन चौधरी

विभागीय टोली नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक अब्दुल्लाहको नजरमा परेका शत्रुघन पुलिसका समेत पहिलो रोजाइका खेलाडी हुन् । उनले ०७५, ०७६ सालकाे लिगमा समेत पुलिसको गोलपोष्ट समाल्हेका छन् । पहिलो फ्रेन्चाईज सुपर लिगमा भने शत्रुघनले बुटवल लुम्बिनी एफसीबाट दोस्रो रोजाइमा रहेर खेले । 

सुदिप गुरुङ

सुदिप गुरुङ समेत राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन् । नवप्रवेशी सातदोबाटोले शीर्ष डिभिजनको पहिलो अनुभव लिएजस्तै सुदीपले समेत पहिलो पटक जारी सहिद स्मारक लिगको अनुभव बटुलेका हुन् । मिडफिल्डर सुदीप बल होल्ड गर्न, लामाे सट प्रहार गर्न र विपक्षी रक्षापंक्तिमा दबाब बढाउन सिपालु छन् । ए डिभिजन लिग खेल्नुअघि सुदीपले सातदोबाटोबाट बी डिभिजन लिग खेलेका थिए । जारी लिगमा समेत उनको प्रदर्शन उच्च छ । 

आकाश बुढा मगर

आकाश एन्फा एकेडेमीका उत्पादक हुन् । सातदोबाटोलाई जारी लिगमा उत्कृष्ट प्रदर्शन दिएका आकाश पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एन्फा एकेडेमीसँगै आकाशले नेपालको यू-१५, १६ , १८ र १९ टोलीमा समेत खेलेका छन् । पछिल्लो राष्ट्रिय टोलीमा स्थान बनाउने आकाश एन्फा एकेडेमीका एक्ला मिडफिल्डर हुन् । 

नवीन गुरुङ

न्यू रोड टिम एनआरटीका नवीन पनि पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । लेफ्ट ब्याक नवीनलाई प्रशिक्षक अब्दुल्लाहले पहिलो अवसरमै टोलीमा अवसर दिएका छन् । युवा नवीन लेफ्ट ब्याकबाट बल बढाएर क्रस गर्न माहिर छन् । 

आशिष राई

आशिष राईले च्यासल युथ क्लबबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पहिलो अवसरमै टोलीमा स्थान बनाएका हुन् । प्रशिक्षक अब्दुल्लाहले अन्तिममा आशिषलाई प्रशिक्षणका लागि अवसर दिएका थिए । 

सुशिल राई

जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुने सुशिल राई । सातदोबाटोका लागि खेलिरहेका सुशिललाई शीर्ष डिभिजनमा थ्रीस्टारबाट समेत खेलेको अनुभव रहेको छ । सुशिल पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् । 

कृतिश रत्न छुन्जु

जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका कृतिश पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए र पहिलो अवसरमै टोलीमा स्थान बनाए । लिगमा न्युरोड टिम एनआरटीबाट अग्रपंक्तिमा खेलिरहेका कृतिशले मैदानमा भने कम अवसर पाएका छन् । कृतिश नेपाली फुटबलले पाएको नयाँ नाम समेत हो । 

प्रशान्त अवस्थी

जारी लिगको नवौं खेलमा कीर्तिमानी आठौं पटक सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि सातदोबाटो युथका क्लबका प्रशान्त अवस्थी पहिलो पटक राष्ट्रिय टोलीमा कल भएका थिए । प्रशिक्षक अब्दुल्लाहको सुरुआती प्रशिक्षण लिष्टमा नपरेका प्रशान्त मनाङविरुद्ध मैदानमा छाएपछि अन्तिम समयमा बोलाइएका हुन् । अभ्यासमा समेत आफूलाई प्रमाणित गरेपछि प्रशान्त राष्ट्रिय टोलीमा पहिलो अवसरमै पर्न सफल भए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै