काठमाडौ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको छ ।
कुवेतले दिएको केवल २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित १२ रन बनाइन भने इन्दु बर्माले अविजित १३ रन बनाएकी थिइन् ।
त्यस्तै सीता मगर शुन्यमा आउट भएकी थिइन् ।
यसअघि पहिला ब्याटिंग गर्दै कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भएको थियो ।
कुवेतलाई सस्तैमा आउट गर्न नेपाली बलर रुबिना क्षेत्री र संगीता राईले ३-३ विकेट लिएका थिए भने सरस्वती कुमारी र करुणा भण्डारीले १-१ विकेट लिएका थिए ।
नेपालले यो सहित प्रतियोगितामा तीन खेलमा दोस्रो जित हासिल गरेको छ ।
यसअघि मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो भने सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार बेहोरेको थियो ।
प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।