• २०८१ बैशाख १४ शुक्रबार

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

kharibot

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ जना प्रदेश संसदले मत दिएका हुन् । 

१०९ सदस्यीय प्रदेश सभामा आजको मत बिभाजनमा १०४ सांसद उपस्थित रहेका थिए । जसमा विश्वासको मतको पक्षमा ५९ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो । त्यस्तै तटस्थमा २ मत परेको सभामुखले जानकारी दिएका छन् ।

कार्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेलाई गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका सांसदहरुले मत दिएका थिए । 

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नरहे दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले आज विश्वासको मत लिएका हुन् । 

१०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक पर्छ । बागमती प्रदेशमा एमालेका ४३, नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी र राप्रपाका २-२ तथा जनता समाजवादी पार्टी नेपालका एक सांसद रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै