काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ ।
सो अवसरमा मन्त्री भुसालले नेपालका विकासमा बैंकले पुर्याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरिन । उनले भनिन्, “हामी छिटो विकास गर्न चाहन्छौँ, हामीलाई समयको अधिक महत्व छ ।” मन्त्री भुसालले जनताको अधिकारका लागि आफूले निरन्तर सङ्घर्ष गरेको उल्लेख गर्दै वातावरण र जनताको अधिकार एवं पहिचानाका विषयमा सधैँ सचेत रहने विश्वास दिलाइन् ।
भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पुर्याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राखेका थिए । नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नति गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उहाँले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए ।
छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेरजाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताए ।
छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिवद्वय मधुकरप्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागिता थियो । त्यसैगरी विश्व बैंकको तर्फबाट उपाध्यक्ष सेफरसहित यातायात तथा दक्षिण एशियाको पूर्वाधार हेर्ने निर्देशक गुअङझे चेन तथा नेपाल, माल्दिभ्स र श्रीलङ्का लागि विश्व बैंकका देशीय निर्देशक फारिस हादाद–जेर्भासको सहभागिता थियो ।
विश्व बैंकले नेपालको ऊर्जा क्षेत्रमा नेपाल–भारत विद्युत् प्रशारण तथा व्यापार आयोजनाअन्तर्गत नेपालभित्रको विद्युत् प्रशारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापार सहजीकरण गर्दै आएको छ ।
सोहीअन्तर्गत ४०० केभीको हेटौँडा–ढल्केबर–इनरुवा प्रशारण लाइन र हेटौँडा–भरतपुर–बर्दाघाट २२० केभीको प्रशारण लाइन विश्व बैंकको सहुलियत पूर्ण ऋणमा निर्माण भइरहेको छ । विश्व बैंकको सहुलियत ऋणमा एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइरहेको छ । यही बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसालसहितको सरकारी टोली र विश्व बैंकका उपाध्यक्ष सेफरको टोलीले माथिल्लो अरुणको स्थलगत अवलोकन गरेको थियो ।