• २०८१ बैशाख १६ आइतबार

घरका मूल ढोकामाथि नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइयो नागपञ्चमी

kharibot

तस्वीर : रासस

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएको छ ।

आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रही आएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारण समेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख बराह लगायत पुराणमा गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

आजै काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरूमा नागको पूजाआजा गरी मेला लाग्ने गर्दछ । साथै पशुपतिस्थित वासुकी मन्दिरमा  समेत यस दिन विशेष पूजाआजा गर्ने गरिएकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेकाले वैशाख पहिलो हप्तादेखि नै मूल मन्दिर बन्द गरिएको छ । जसका कारण भक्तजनले बाहिरैबाट मात्र दर्शन गर्न पाएका छन् । यस वर्ष साउनको चारवटा सोमबारसम्म पनि भक्तजन पशुपतिको मूल मन्दिरभित्र पस्न पाएका छैनन् ।

नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानले समेत आराम गर्ने गर्दछन् । आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ । यसै मान्यताका आधारमा खेत बारीमा नाथस्थान बनाई पूजा गरिन्छ ।

नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङ लगायतको भय नहुने धार्मिक विश्वास समेत नेपाली समाजमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय