काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई काउन्टर दिदै 'बहिष्कार' नामक गीत ल्याउने घोषणा गरेका छन् ।
प्रतिष्ठानले केहि दिन अघि गायक दुर्गेशलाई आजीवन सदस्य नरहने गरी निष्कासन गर्ने निर्णय गरेपछि त्यसलाई काउन्टर दिदै उनले नयाँ गीत ल्याउने घोषणा गरेका हुन् ।
गायक थापाले फेसबुकमा एक पोष्ट लेख्दै भनेका छन्- 'आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाईरहदा प्रत्यक्ष दोहोरी का सुन्नै नसकिने छाडा गितहरू लाई स्वतंत्र छोडिएको छ मेरो गित न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठान ले अर्को शब्दकोश निर्माण गरेको छ जुन दुखद छ परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन ।'
थापालाई प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण विभागले निष्काशन गर्ने निर्णय गरेको थियो ।
प्रतिष्ठानले आजीवन सदस्यबाट निलम्बन गर्ने, सम्पूर्ण सेवा सुबिधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले गायक थापासँग सहकार्य नगर्ने, मेला-महोत्सवमा नबोलाउने गरि प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकहरुलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
गायक थापाले गत साता सार्बजनिक गरेको 'ख्यास्स पुतली' शिर्षकको गीतको शब्द प्रति महासंघले यस अघि आपत्ति व्यक्त गर्दै गीतमा प्रयोग भएको 'ख्यास्स पुतली' शब्दलाई सच्याउन प्रतिष्ठानले विज्ञप्तिमार्फत आग्रह गरेको थियो ।
तर गायक थापाले भने अन्य कलाकारले पनि यस्ता शब्द प्रयोग गरिरहेकाले आफ्नो गीतबाट सो शब्द नहटाउने बताउदै आएका थिए ।









