गोत्र, वंश अवधारणा

खरीबोट

लेखक: विपुल सिजापति

गोत्रको अर्थ साधरणतया वंशको लर्कोको रूपमा लिइन्छ । आफ्नो वंशको लर्कोको सुरुवाती विन्दु खोज्ने क्रममा कौशिक गोत्रको प्रथम व्यक्तिमा विश्वामित्र देखिन आउँछन् । ऋग्वेदमा इन्द्रलाई पनि धेरै पटक कौशिक भनेर सम्बोधन गरिएको छ । इन्द्र कुनै व्यक्ति नभएर एक पद थियो भन्ने कुरा वेद तथा पुराणका कथाहरूबाट बुझ्न सकिन्छ । वेदका इन्द्र नै पुराण कथासम्म समेटिएका छन् । रामायणमा अहल्यासँग सम्भोग गर्ने इन्द्र वैदिक इन्द्र होइनन्, यहाँ इन्द्रले आफ्नो परिचयमा "म कौशिक इन्द्र हुँ" भनेबाट इन्द्र पद भएको प्रस्ट हुन्छ । पूर्व वैदिक कालमा नामको पछाडि जात नहुने र जातको स्थानमा या कुन ठाउँको भनेर चिन्नको लागि टोटेमको प्रयोग गरिने प्रचलन (पछि यही टोटेम गोत्र र जात हुन गयो) थियो विश्वामित्र र इन्द्र दुवैलाई कौशिक भनेर चिनाउनुको पछाडि कौशिक टोटेमको रहस्य बुझ्न आवश्यक छ ।

कौशिक शब्द कुशसँग जोडिएको छ । यस आधारमा विश्वामित्र र इन्द्र दुवै कुनै कुश भएको स्थानसँग सम्बन्ध राख्दछन् भन्ने स्पष्ट हुन्छ । वेद तथा पुराणका आधारमा यस्ता दुई स्थान छ, प्रथम कुश द्वीप र दोश्रो कुशागार ।

कुश द्वीप

पुराण अनुसार कुश द्वीपको बारेमा उल्लेख गरिएका स्थानहरू हालको इरानको केही भाग, अरब, इराक, सिरिया पर्दछ तर मेडागास्कर, इथियाेपिया र सोमालियाजस्ता क्षेत्रहरूलाई भने शाल्मली द्वीपमा राखिएको छ । यहाँ सामान्य चुक भएको देखिन्छ । सम्भवतः अस्सिरिया (हालको सिरिया) सँग जोडिएको नाइल नदीको शिरको इथियोपिया केही भाग पनि कुश द्वीपमै हुनुपर्छ भन्ने मेरो मान्यता छ । किन भने एकातिर यस द्वीपको नाम नै कुशबाट उठान गरिएको छ भने अर्कोतिर अरब र इराक जस्ता मरुभूमिमा भन्दा नाइल नदीको किनारका सिरिया, मिश्र र इथियोपियामा बढी मात्रामा कुश उत्पन्न हुन्छ । 

विष्णु पुराणका अनुसार यो द्वीपमा कुशको अति विशाल झाडी छ, यसैले यसको नाम कुश द्वीप भएको हो ।

इथियोपियाका राजा हैले सिलासी कुश वंशको उत्तराधिकारी भएको इतिहासमा उल्लेख छ । पुराणमा उक्त द्वीपमा रामका सुपुत्र कुशले लामो समय राज्य गरेको कुरा लेखिएको छ ।

कौशिक गोत्रमा पनि कौशिक र घृतकौशिक गोत्र छ । नाइल नदीमा निलो र सेतो दुई प्रकारको पानी समिश्रण हुन्छ । सेतो पानी बग्ने स्थानका मानिसलाई घृतकौशिक र निलो पानी बग्ने स्थानका मानिसलाई काकौशिक भनेर सम्बोधन गरिएको हुनसक्छ । अस्सिरियासँग युद्ध गर्ने कुश द्वीपका कौशिकहरू काला जातिका थिए । पश्चिममा सूर्य अस्त हुने हुनाले यिनलाई चन्द्र वंशीय मानियो, यसैले कौशीक गोत्रियहरू चन्द्र वंशी मानिन्छन् । 

कुशागार

कुशागार हाल चीनको पश्चिमोत्तर क्षेत्रमा पर्दछ । रेसम मार्गमा पर्ने ताजकिस्तानसँग जोडिएको तिब्बतको कुशागारमा पनि कुश प्रशस्त हुन्छ ।  इन्द्रको सम्बन्ध यक्ष र राक्षससँग भएको कुरा वेदबाट स्पष्ट हुन्छ । यक्ष र राक्षस (दुवै एकै स्थानका दुई जात भाइ) दुवै दिक्पाल कुवेरद्वारा रक्षित थिए । कुवेर धनी थिए, उनीसँग सुन प्रशस्त थियो । तिब्बत क्षेत्रमा बुकी सुन (सुनको धुलो) आदिम कालदेखि प्रशस्त ड मारेका थिए, अर्थात् इन्द्र पद श्रृजना हुने बित्तिकै इन्द्रले एक राक्षसीको हत्या गरेका थिए । यसैले यक्ष र राक्षस मध्ये राक्षस सदैव यज्ञ विधंशक रहे । वेदमा इन्द्रको रूप वर्णन  गर्दा पीत (पहेँलो स्वर्ण) रङ्गको दाह्री, केश र वर्ण भनिएको छ । यस आधारमा इन्द्र हिउँ पर्ने ठाउँ या पीत वर्णको मंगोल (मंगोल मूलकालाई यसैले यलो मङ्की भनेर चिढाइन्छ) तिब्बती समिश्रणको हुन् भन्ने स्पष्ट हुन्छ । तथापि इन्द्रलाई कौशिक भनिनु पछाडि इन्द्र कुश द्वीपका काला जातिका नभएर इन्द्रको यसै स्थानसँगकाे सम्बन्धलाई सङ्केत गरिएको मान्न सकिन्छ भने अहल्यासँग सम्भोग गर्ने कौशिक इन्द्र पनि यसै वंशको कुनै इन्द्र हुन सक्छन् । पूर्वका श्वेत, सूर्य उदय हुने स्थानका भएकाले श्वेत तथा अग्निमा यज्ञ गर्ने आर्यहरूलाई भने सूर्य वंशी मानियो ।

वंश परम्परा

वंश परम्परा अनुसार सूर्य वंश चन्द्र वंश, अग्नि वंश, ऋषि वंश र दैत्य वंश गरेर पाँच वंश छन् । तथापि यी मध्ये चन्द्र वंश र सूर्य वंशलाई मूल रूपमा लिइएको छ । अग्निलाई मान्ने, अग्निको उपासना गर्ने पूर्वका श्वेत वर्णकाहरू सूर्य वंशमा र अग्नि पूजा नगर्ने तथा पूजा गरे पनि पश्चिमोत्तर कृष्ण (कालो) जातिकालाई चन्द्र वंशीय मानिएको अनुमान लगाउन सकिन्छ । तथापि, दुवै वंशमा एउटै गोत्र देखा पर्ने हुँदा यसलाई पनि त्यति वैज्ञानिक रूपमा लिन भने सकिन्न ।
 
प्रवर

कुनै गोत्रका पर्वतकलाई प्रवर भनिन्छ । विश्वामित्रका बाबु गाधी थिए तर कौशिक गोत्रको प्रवर गाधीलाई नमानेर विश्वामित्रलाई मानिएको छ । कुश हुने क्षेत्रका प्रथम सम्माननीय ब्रह्म ऋषि भएका विश्वामित्रबाट नै कौशिक गोत्र सुरु हुनुले कूलमा उत्पन्न अन्यले पनि यस्तै खाती कमाएमा उनीहरूबाट समेत प्रवर गोत्रहरू बनेको देखिन्छ ।

क्षेत्रीय कूलमा जन्मी ब्रह्मर्षि बन्न पुगेका विश्वामित्रका रेणु, सालवति र माधवी नामका पत्नीहरूबाट  रेणुमान, सङ्कृति र मुद्गल गरी एक सय छोराहरू जन्मिएका थिए । यिनले वरण गरेका जेठा छोराको नाम मधुच्छन्दासः हो, जो ऋग्वेदको पहिलो मन्त्रद्रष्टा हुन् । मधुच्छन्दाका दुई छोराहरू कौडिन्य र धनञ्जय पनि गोत्र प्रवर्तक भएका छन् । यसरी हेर्दा गोत्र कुनै एक ऋषिकै मात्रै  हाँगा हो भन्ने देखिँदैन ।

सगोत्री विवाह

गोत्र अवधारण अनुसार सगोत्री विवाह गर्नु हुँदैन भन्ने मान्यता धेरै कारणले उपयुक्त देखिँदैन । माथि प्रवरको आधारमा एक गोत्रबाट नै विभिन्न प्रवर गोत्र बनेको देखिन्छ भने प्रवरबाट समेत अनेक गोत्र भएका हुनन् । प्रवर अनुसार गोत्र फरक हुनेबित्तिकै विवाह नभएका हाेइनन्, भएका छन् । अर्कोतिर वैदिक कालदेखि अहिलेसम्म विभिन्न जातिसँग रक्त समिश्रण भइसकेको छ, वैदिक कालदेखि नै सजातीय र बिजातीय अनेक विवाह हुँदै आएको छ, यसैले रक्त शुद्ता र जातियता भन्ने कुरा नामेट भइसकेको छ । उत्तर वैदिक कालमा नियोग प्रथाबाट समेत सन्तान भएका छन् । कौरव र पाण्डव मध्ये नियोगबाट जन्मेका धृतराष्ट्रको सन्तान कुरु वंशी कौरव कहलाइए, तर नियोगबाटै जन्मेका भए पनि पाण्डवका पाँच छोराहरू कुन्ती र माद्रीले नियोगबाट जन्माएका हुँदा कुरु वंशका भएनन्, केवल पाण्डव मात्र कहलाइए । नवौँ शताव्दिमा नेपालमा खसहरूले जनै लगाए पश्चात् पण्डितहरूले आफूखुसी उनीहरूको गोत्र राखिदिएका छन् । नत्र एकै जातका व्यक्तिहरूको विभिन्न गोत्र हुने थिएन ।

बाम्हणमध्ये जोशीको अनेक गोत्र छ, रिमालको अनेक गोत्र छ, क्षत्रीहरूमा सिजापतिको पनि अनेक गोत्र छ भने थापा विष्ट, खड्का, कार्की आदि थुप्रै जातका क्षत्रियहरूको समेत अनेक गोत्र छ । नेपालमा डोला प्रथा र घर हाल्ने प्रथा गरेर दुई प्रथा प्रचलित थियो । डोला प्रथामा विहे गर्ने कन्यालाई ल्याएर घरको सबै संस्कार, बोलिचाली, अदब तमिज सिकाएर बिबाह गरिन्थ्यो । यो प्रचलन राजा राजपरिवारमा कायमै थियो । घरहाल्ने प्रथामा डोलाको विपरित गरिन्छ, केटाको गोत्रलाई ससुराको गोत्रमा परिवर्तन गरिन्छ, सासुससुराको काजकिरिया गराइन्छ र यिनबाट जन्मेका सन्तानको गोत्र घरपट्टि नगएर मावलीपट्टि जान्छ । "सगोत्री विवाह गर्नु हुन्न" भन्ने कुरा शास्त्र सम्मत भए पनि प्रवर, रक्त समिश्रण, घरहाल्ने प्रथा र नेपाली गोत्रको आधार र रक्त शुद्धताको आधारमा हेर्ने हो भने यसमा कुनै तुक भने छैन ।

विपुल सिजापति
हरिसिद्धि, ललितपुर ।