काठमाडौँ । भारतको पश्चिम बङ्गालमा विधान सभाको मत गणना जारी रहेका बेला भारतीय जनता पार्टी (बिजेपी) को कार्यालयमा आगो लगाइएको छ ।
मत गणनामा तृष्णमूल काँग्रेस (टिएमसी) ले लगातार तेस्रो पटक सरकार बनाउने गरि अग्रता हासिल गरिरहेकै बेला बिजेपीको कार्यालयमा आगलागी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कोलकोतास्थित आरामबागमा रहेको विजेपीको कार्यालयलाई आगलागी गरिएको बताइएको छ । विजेपीले टिएमसीका कार्यकर्ताले आफ्नो कार्यालयमा आगो लगाएको आरोप लगाएको छ भने टिएमसीले सो आरोपको खण्डन गरेको छ ।
मतपरिणाम टिएमसीको पक्षमा आउन थालेआची एक विजेपी उम्मेदवारको गाडी समेत तोडफोड गरिएको बताइएको छ ।
आइतबार नै टिएमसीका कार्यकर्ताले विजेपी कार्यालय अगाडी पुगेर नाराबाजी गरेका थिए । उनीहरु जितको उत्सव बनाउन विजेपी कार्यालय अगाडी पुगेको बताइएको छ ।
यस अघि निर्वाचनको बेला बिजेपीले टिएमसीको कार्यालय अगाडी पुगेर नाराबाजी गरेको घटनाको बदला लिएको रुपमा यो घटनालाई लिइएको बताइएको छ ।
हाल जारी रहेको मत गणनामा टिएमसीले २९२ सदस्यीय विधान सभामा २०८ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै विजेपीले भने ८३ सिटमा अग्रता हासिल गरेको छ ।
त्यस्तै मुख्यमन्त्री ममता बेनर्जी भने नन्दीग्राम सिटबाट बिजेपी उम्मेदवारसँग पराजित भएकी छन् । य्सघी ममताले १२ सय मतले जितेको भनिएपनि अन्तिम गणनापछि विजेपी उम्मेदवार १९ सय मतले विजयी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।









