• २०८१ बैशाख १६ आइतबार

राष्ट्रिय ललितकला प्रदर्शनी शुरु : वैद्य र श्रेष्ठलाई अरनिको सम्मान

kharibot

तस्वीर : रासस

काठमाडौँ । ललितकला क्षेत्रको उत्सवका रुपमा मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ आजदेखि काठमाडौँमा शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यसपाली पहिलो पटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी प्रदर्शनी आयोजना गरिएको कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए ।

यसपटकको प्रदर्शनीमा ४४४ कलाकारका ५९६ कलाकृति समावेश गरिएको छ । केही कलाकृति छनोटमा नपरेको कुलपति कर्माचार्यले जानकारी दिए । यस वर्ष प्रदर्शनीमा प्रदेश नं १ बाट ३१, प्रदेश नं २ बाट ६३, वाग्मती प्रदेशबाट २८९, गण्डकी प्रदेशबाट ४०, लुम्बिनी प्रदेशबाट ३३, कर्णाली प्रदेशबाट नौ र सुदूरपश्चिम प्रदेशबाट आठ कलाकारका सिर्जना समावेश छन् ।
    
गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिक रुपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको थियो । प्रतिष्ठानले यसपाली ‘राष्ट्रिय अरनिको प्रज्ञा सम्मान’बाट कलाकारद्वय वत्सगोपाल वैद्य र प्रविणकुमार श्रेष्ठलाई सम्मान गरेको छ । उक्त सम्मानको राशि जनही रु एक/एक लाख रहेको छ । कलाकारद्घयलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरिन् ।

प्रदर्शनीको उद्घाटन समारोहमा आज ललितकलाका क्षेत्रमा योगदान गर्ने विभिन्न विधाका कलाकार तथा पत्रकारलाई समेत सम्मान एवं पुरस्कृत गरिएको छ । राष्ट्रिय ललितकला पुरस्कार अन्तर्गत हस्तकला/शिल्पकला विधातर्फ अनुकुमार केसी, मूर्तिकलातर्फ भाजुरत्न शाक्य र तमबहादुर पुन, परम्परागत चित्रकलातर्फ राजकुमार राना, आधुनिक चित्रकलातर्फ कृष्णप्रकाश शाह, लोककलातर्फ हरेराम यादव र वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ प्रकाश पुन मगरलाई पुरस्कार प्रदान गरिएको छ । उनीहरुको पुरस्कार राशि जनही रु ६० हजार रहेको छ । 

प्रतिष्ठानले जनही रु २५ हजार राशि रहेको विशेष पुरस्कारतर्फ विधागतरुपमा १७ कलाकारलाई सम्मान गरेको छ । सोही राशि रहेको राष्ट्रिय ललितकला लेखक पुरस्कार नविन्द्रराज भण्डारी र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार दीपक श्रेष्ठलाई प्रदान गरिएको छ । 

प्रतिष्ठानले प्रदेशगत रुपमा ललितकला प्रादेशिक पुरस्कार पाउने सात कलाकारलाई समेत पुरस्कृत गरेको छ । नेपालमा हरेक वैशाख २ गते मुलुकभरका कला सिर्जना छनोट गरी राष्ट्रय कला प्रदर्शनी आयोजना हुँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै