• २०८३ भदौ ३० मंगलबार

मातृभाषा बलियो भएमात्रै देश बलियो हुन्छ : पर्यटनमन्त्री ढकाल

मातृभाषा बलियो भएमात्रै देश बलियो हुन्छ : पर्यटनमन्त्री ढकाल

फाइल तस्वीर

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मातृभाषा र मौलिकता बलियो भयो भनेमात्र देश बलियो हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ को सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानले युनेस्को काठमाडौँसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘मातृभाषा र मातृभाषा साहित्य सम्बन्धी’ विचार गोष्ठीमा उनले मातृभाषाको महत्वलाई जनस्तरसम्म पुर्याइनुपर्नेमा जोड दिए ।

मन्त्री ढकालले गोष्ठीमात्र गर्नेभन्दा जनस्तरमा मातृभाषाको कार्यक्रम लैजानु राम्रो हुने र त्यस कार्यमा सरकारले सहयोग गर्ने बताए । उनले एक दिनमात्र सम्झौँभन्दा पनि वर्षैभरि अभियानका रुपमा मातृभाषाको संरक्षणका लागि काम गर्नुपर्ने खाँचो औँल्याए । मन्त्री ढकालले मातृभाषाका कारण कतिपय देशहरु जन्मिएको बताउँदै त्यसको उचित संरक्षण र प्रवद्र्धन गर्न नसक्दा त्यस्ता देशहरुको अस्तित्व नै मेटिने खतरा औँल्याए ।

मातृभाषा दिवसमा राष्ट्रिय कविता महोत्सव

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा प्रतिष्ठानले युनेस्को काठमाडौँसँगको सहकार्यमा आइतबार ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ मनाएको छ । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै मातृभाषाहरूको संरक्षण र संवद्र्धनमा राज्य र सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताए । “हाम्रो मौलिक भाषामा भएको अतिक्रमणलाई स्वीकार्न गाह्रो हुन्छ”, उनले भने, “बिस्तारै विभिन्न जातजातिको मौलिक भाषा बोल्नेको सङ्ख्यामा कमी आइरहेको छ, कतिपय भाषा लोप भइसकेका छन् भने कतिपय लोप हुने सङ्घारमा छन्, तिनको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुलता, बुहभाषा र बहुसंस्कृति मुलुकको विशिष्ट पहिचान भएको उल्लेख गर्दै मातृभाषा र मातृभाषा साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठान गम्भीरतापूर्वक लागिपरेको बताए ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले नेपालको सम्पत्ति भनेकै विविध संस्कार, संस्कृति र भाषा भएको धारणा व्यक्त गरे । यस वर्ष प्रज्ञा–प्रतिष्ठान र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)ले ‘शिक्षा र समाजमा समावेशीकरणका लागि बहुभाषिकताको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मातृभाष दिवस मनाएको हो ।

कार्यक्रममा मुलुकभरिको प्रतिनिधित्व गरी आएका जातजाति एवम् मातृभाषी समूहको पहिचानसहितको वेशभूषा र सांस्कृतिक विशेषता झल्कने बाजागाजासहितको झाँकी प्रदर्शन गरिएको प्रतिष्ठानले आज विज्ञप्ति मार्फत जनाएको छ । महोत्सवका लागि प्राप्त भएका ५६ भाषाका १५४ वटा कवितामध्ये ७० वटा कविता वाचनका लागि छनोट गरिएको महोत्सवका संयोजक तथा साहित्य (मातृभाषा साहित्य) विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीले बताइन् ।

कवि रामनारायण देवले मैथिली भाषामा ‘मिथला महान्’ शीर्षकको कविता वाचन गरेपछि शुरु भएको प्रस्तुतिमा अवधि, वाम्बुले राई, माझी, दुङ्माली राई, माझी, थामी, तामाङ, लिम्बू, राजवंशी, उर्दू, भोजपुरी, थारू लगायत भाषामा कविता वाचन गरिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै