वैज्ञानिकहरुले यदि जलवायु परिवर्तनको असर कम गर्नको लागि तत्काल केही नगरिए यो शताब्दीको अन्त्यसम्ममा युरोपमा खराब मौसमको कारण हरेक साल एक लाख ५२ हजार मानिस मर्नसक्ने चेतावनी दिएका छन् ।
ल्यासेन्ट प्लानेटरी हेल्थ जर्नलमा छापिएको एक अध्ययनका अनुसार यो संख्या अहिलेको अनुमानभन्दा ५० गुणा ठूलो हो । यसमा दक्षिणी युरोप तातो हावाले अत्यधिक प्रभावित हुने तथा यहाँको मौसमकै कारण ९९ प्रतिशत तातो हावाबाट मृत्यु हुने समेत बताइएको छ ।
विशेषज्ञहरुले यो नतिजालाई चिन्ताजनक बताएका छन् । यदि ग्रिनहाउस ग्यासको उत्सर्जन कम गर्न तत्कालै केही नगरिए र खराब मौसमको असर कम गर्न विद्यमान नीतिमा परिवर्तन नगरिए पछि कठिन परिस्थितिको सिर्जना हुनेसमेत बताइएको छ ।
यस अवस्थामा युरोपेली आयोगको संयुक्त रिसर्च सेन्टरका अनुसार पनि खराब मौसमकै कारण सन् १९८१ देखि २०१० को बीचमा भएको ३ हजार मृत्युको तुलनामा २०१७ देखि २१०० को बीच प्रतिवर्ष १ लाख ५२ हजार मृत्यु हुने आशंका गरिएको छ । त्यस्तै प्राकृतिक विपत्तिको कारण २१०० सम्ममा युरोपमा हरेक तीनमध्ये दुई जना प्रभावित हुनेछन् । जबकि यो शताब्दीको सुरुवाती आँकडा २० मा एक जना थियो ।
हरेक वर्ष तटीय क्षेत्रमा बाढी आउनाले मृत्यु हुने क्रम बढ्ने र यो संख्या यो शताब्दीको अन्त्यमा २३३ सम्म पुग्नसक्नेछ । जबकि यो शताब्दीको सुरुमा यो संख्या प्रतिवर्ष मात्र छ रहेको थियो । शोधकर्ताहरुले युरोपेली संघका २८ देशमा खराब मौसमसँग सम्बन्धित खतरनाक प्राकृतिक विपत्तिका घटनाको अध्ययन गरेका छन् ।
जस्तो तातो हावा, ठण्डी, जंगली आगलागी, सुख्खा, नदी र तटीय क्षेत्रमा बाढी तथा आँधीतुफानहरु यसजन्य घटनाहरु रहेको बताइएको छ । उनीहरुले १९८१ देखि २०१० को बीचमा आपतविपतको रेकर्ड र आवादीमा परेको प्रभावको विश्लेषण गरेका छन् । यसमा आवादी वृद्धि र त्यसको विस्थापनलाई पनि ध्यानमा राखिएको छ ।
शोधकर्ता जोवानी फाँर्जिएरीका अनुसार यदि ग्लोबल वार्मिंगलाई लिएर तत्काल कदम नउठाइए यो शताब्दीको अन्त्यसम्ममा ३५ करोड युरोपेलीमा हरेक साल आउने प्राकृतिक विपत्तिको खतरा हुनेछ ।
बीबीसी हिन्दीबाट ।