काठमाडौँ । सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ।
ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा लामो समयदेखि अस्तव्यस्त रहेको उक्त सडक शनिबारदेखि कालोपत्र गरिएको हो। टोखा नगरपालिकाको रु एक करोड ३२ लाख खर्चमा उक्त सडक कालोपत्र गरिएको हो।
काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नुवाकोटको त्रिशूली जाने बाटो बिग्रँदा लाखौँ यात्रुहरुले समस्या भोग्नु परेको थियो। उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी यातायात, नुवाकोट जाने सवारी साधन र माइक्रोबस सञ्चालन हुँदै आएको छ।
सामाखुसी ग्रिनल्यान्डको बाटो मर्मतसम्भार हुँदा सवारी साधन सामाखुशी चोकबाट वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रिनल्यान्ड जानुपर्ने बाध्यता रहेको थियो। महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्ट बाटो कालोपत्र भएसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउने बताउछन्।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ढल निर्माण र पानीको पाइप बिच्छ्याउँदा बाटोमा समस्या आए पनि बाटो कालोपत्रसँगै टोखाका जनतालाई आवतजावतमा सहजता आएको बताउछन्।
एक हप्तासम्म सबै सडक कालोपत्र गरिसक्ने नगरपालिकाले जनाएको छ। नगरप्रमुख अधिकारी नगरपालिकाले मोटरबाटोलाई विशेष प्राथमिकता दिएको बताउछन्।









