खलङ्गा / कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको उद्गमस्थल मानिन्छ । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बालबालिकादेखि बूढापाकासम्मले खस भाषा बोल्ने गर्छन् तर युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन ।
जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ । चार दरा रहेको जुम्लामा सिञ्जा दरामा खस साम्राज्य भएका बेला बोलिने खस भाषा बोलिन्छ । ब्राह्मण, क्षेत्री र कामीको बाहुल्य रहेको धने पानसय भने ठाउँमा अलि फरक शैलीमा बोलिन्छ । असिदरा अर्थात् अहिलेको सदरमुकाम रहेको आसपासमा केही परिष्कृत खस भाषा छ । चौधबीस दरामा तिब्बती भोटे भाषासँग खस भाषा प्रभावित छ ।
नेपाली भाषाको बृहत् जुम्ली शब्दकोश ‘खसिया आखर’ लेखन शुरु भएको एक दशक बित्यो, अहिले पनि शब्दकोश लेखन चलिरहेको छ । खसिया भनेको खस जाति वा मानिस र आखर भनेको शब्द, अक्षर वा रेखा भन्ने बुझिन्छ । भाषाविद्, पत्रकार तथा संस्कृतिका जानकार रमानन्द आचार्य शब्दकोश लेख्दैछन् । तत्कालीन जिल्ला विकास समिति र शब्दकोशका सम्पादकसमेत रहनुभएका आचार्यसहित जुम्ली अगुवाको पहलमा २०६५ सालदेखि शब्दकोश लेख्न शुरु गरिएको थियो ।
शब्द सङ्कलन तथा लेखनका लागि त्यतिबेला पाँच सदस्यीय टोलीसमेत गठन गरिएको थियो । तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले शब्दकोश लेखन शुरु गर्न सम्पादक आचार्यलाई उत्साहित बनाएका थिए । अर्का स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेको सहयोगमा तयारी कार्य निरन्तर अघि बढिरहेको थियो ।
शब्दकोश अहिलेसम्म पनि प्रकाशनमा आउन सकेको छैन । विसं २०६५ मा लेखन शुरु भएको १० वर्ष बितिसक्दासमेत आर्थिक समस्याका कारण शब्दकोशले पूर्णता पाउन नसकेको सम्पादक आचार्य बताउछन् । हजार पृष्ठ लामो तथा करीब ४० हजारभन्दा बढी ‘खसिया आखर’ अटाउने गरी निर्माण हुन लागेको शब्दकोशका लागि अहिलेसम्म २५ हजार मात्रै शब्द सङ्कलन भएको छ ।
कर्णालीका झर्रा खस शब्द मात्र समेटिने सो शब्दकोश अहिले अर्थाभावकै कारण सुस्त गतिमा लेखन हुँदैछ । आचार्यका अनुसार १८४६ सालपूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न शब्दकोशले सहयोग पु¥याउनेछ ।