• २०८१ बैशाख १७ सोमबार

रंगमञ्चमा रमाएका आइपी आचार्य 

kharibot

काठमाडौं । हरेक मान्छेका सपना फरकफरक हुन्छन् र मान्छे आफ्नो सपना साकार पार्न लागि परिरहन्छ । सपना पूरा गर्नकै लागि मान्छेले धेरै संघर्ष गर्छ । सपनालाई पछ्याउने क्रममा विभिन्न विघ्नबाधा आइपर्छन् । यदि उसले हरेस नखाए मात्र सपना साकार पार्न सक्छ, सफल हुन सक्छ । 

हो, यस्तै सपनालाई पछ्याउनेहरुको भीडमा अविश्रान्त संघर्ष गर्नेमध्ये एक हुन् आर्इपी आचार्य । सपना देखेर मात्र हुँदैन, त्यसलाई प्राप्त गर्न तन, मन, वचनले लागि पर्नुपर्छ भन्ने उनी एक उदाहरणीय पात्र हुन् ।

२०४७ साल हेटौँडामा बुबा रामप्रसाद र आमा सीता आचार्यको कोखबाट आइपी  आचार्यको जन्म भएको हो । 

सामान्यतस् एउटा बच्चाले भन्ने कुरा हो म ठूलो भएपछि डाक्टर, पाइलट वा अरु केही बन्छु । यस्तै सपना देख्नेहरुको भीडमा हुर्किएका हुन् आइपी पनि । तर, उनले आफू डाक्टर र पाइलट बन्ने सपना भने देखेनन् । कारण उनको सपना भनेको कलाकारिता क्षेत्रमा जम्नु थियो ।

कलाकार बन्न अरुको कुराले नभई टिभी हेर्न लुकीलुकी छिमेकीको घरमा जाँदा नै इच्छा पलाएको उनले बताए । उनी भन्छन्, ‘छिमेकीको घरमा लुकीलुकी टिभी हेर्न जान्थें, त्यो बेलाको उत्सुकताले मलाई कलाकारितामा तान्यो ।’ प्लस टु पढ्दै गर्दा उनले आफ्नै नेत्रृत्वमा संस्कृत नाटकमा अभिनय गरे । आफू संस्कृतको विद्यार्थी भएका कारण पनि संस्कृत नाटकमा अभिनय गर्न उनलाई सहज भयो । अभिनयको प्रारम्भिक चरणमा एक संस्कृत नाटक लामो समयसम्म चलेपछि र नाटकले तदनुरूप प्रशंसा पाएपछि रंगमञ्चमा केही गर्न सकिन्छ भन्ने उनलाई लाग्यो । उक्त नाटकमा उनी मुख्य भूमिकामा थिए । त्यसपछि आचार्यले रंगमञ्चमा फड्को मार्न थाले ।

१२ वर्षको उमेरमा दिदीले दिएको २ सय रुपैयाँ गोजीमा लिएर काठमाडौँ छिरेका आचार्यले अहिले धेरै प्रगति गरिसकेका छन् । परिवारको साथ र सहयोग प्राप्त हुने व्यक्तिले सफलता हात पार्न सक्छ भन्ने उनी एक उदाहरण पनि हुन् । उनको रुचि र सफलतामा परिवारको पूर्ण सहयोग छ । संस्कृतमा आचार्य सकेका उनी हाल त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरिरेका छन् । 

कलाकारितामार्फत समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सोच भएका उनी आफ्नो प्रस्तुतिमार्फत केही नयाँ र सकारात्मक प्रभाव पार्न जोड दिएको बताउँछन् ।  

२०६९ सालदेखि नाट्य क्षेत्रमा प्रवेश गरेका आचार्यले जंगे पिल्लर, चौघेरा, बदरङ्ग, सारंगी गाउँको कथा, बौलाहा काजीको सपना, कथा एक्सप्रेस, राग, खहरे घाट, नौगेडी, नेपाली आमा, अन्ना इन द ट्रपिक्स लगायत नाटकमा अभिनय गरिसकेका छन् । त्यस्तै, रुदाने, कागजपत्र, खुला आकाश, पण्डित बाजेको लौरी र यात्रा आचार्यद्वारा अभिनित चलचित्रहरु हुन् ।

संख्याको हिसाबले आफूले थोरै नाटकमा अभिनय गरे पनि आफ्नो कामप्रति समूह र डाइरेक्टर खुसी रहेको उनको भनाइ छ । हालसम्म संस्कृत, अंग्रेजी र नेपाली गरेर १५ वटा नाटक अभिनय गरिसकेका  आचार्यद्वारा अभिनित पहिलो नाटक भने जंगे पिल्लर हो । आचार्यले यही चैत ८ देखि प्रदर्शन भएको चलचित्र कागजपत्रमा समेत अभिनय गरेका छन् ।

त्यस्तै, म्युजिक भिडियोमा समेत उनले आफ्नो हैसियत बनाइसकेका छन् । जंगे पिल्लर नाटकमार्फत नाट्यक्षेत्रमा प्रवेश गरेका उनले हाल नाट्यक्षेत्रमा ठूलो फड्को मारिसकेका छन् ।

आफूले अभिनय गरेका धेरै नाटकमध्ये राग संस्कृत नाटकमा राजा भत्र्रीको रूपमा समाजसेवी, सहयोगी, जनप्रेमी र देशमा न्याय चाहने राजाले घरायसी कारणले बनवास जानुपरेको अवस्था उनलाई असाध्यै मन पर्छ । उक्त नाटकमा उनको अभिनय मन परेर उनका एक गुरुले उनलाई नगद ११ हजार रुपैयाँ समेत प्रदान गरेका थिए । 

आफ्नो चाहना पूरा हुँदा खुसी त सबैलाई लाग्छ । आचार्य पनि आफ्नो मेहनत र सफलतामा खुसी छन् । तर, आफूले अझ धेरै मेहनत गर्न बाँकी रहेको उनी बताउँछन् ।

‘मेहनतअनुसार सफलता त पाएकै छु, तर पनि आफ्नो मेहनत कम नै छ भन्ने लाग्छ ,’ उनी भन्छन्, ‘आफूले कलाकारिता श्रेत्रमा केही गर्छु भन्ने सोच छ, त्यो पूरा गर्न अझ लागिपर्नेछु ।’

रंगमञ्चमा रमाउँदै आएका आइपी कुनै पनि कुरा सिक्न र बुझ्न रंगमञ्च एउटा महत्वपूर्ण ठाउँ भएको बताउँछन् । तर, नाटकमात्र खेलेर सहज जीवन भने बिताउन नसकिने उनको बुझाइ छ । उनी भन्छन्, ‘नाटक मात्र खेलेर जीवन धान्न कठिन छ, तर कलाकारिता क्षेत्र समग्रलाई नै समेट्ने हो भने फेरि सहज छ ।’ रंगमञ्चका लागि एउटा राम्रो नाटक तयार पार्न एक महिना रिहर्सल गर्नुपर्छ, तर शो भने १५ दिनसम्मको हुन्छ । अझ भनौं डेढ महिना काम गरेर एउटा कलाकारले पाउने पारिश्रमिक केवल ८, १० हजार रुपैयाँ हो । आर्थिक हिसावले हेर्दा यो एकदमै गाह्रो कुरा हो, तर चलचित्र रंगमञ्चभन्दा फरक छ । ‘आर्थिक रूपमा चलचित्र राम्रो छ, रंगमञ्च र चलचित्र दुवैलाई मिलाएर लान सके राम्रो हुन्छ भन्ने लाग्छ,’ उनले भने । तुलनात्मक रूपमा हेर्दा नाटकमा तत्काल फिडब्याक पाउन सकिन्छ र श्रोतासँग प्रत्यक्ष सम्पर्क पनि गर्न सकिन्छ । आचार्य आर्थिक रुपमा सम्पन्न फिल्ममा हुने भए पनि सन्तुष्टि भने नाटकले प्रदान गर्ने बताउँछन् । त्यसैले आचार्य भन्छन्, ‘नाट्य क्षेत्र कलाकारिताको जग हो ।’

विश्वको प्राचीन र महत्वपूर्ण मानिने संस्कृत भाषामा समेत पोख्त रहेका उनी संस्कृत नाटकको क्षेत्र फराकिलो भएका कारण नाट्य क्षेत्रमा संस्कृतलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्छन् । 

नातावाद र कृपावादले नाट्य क्षेत्रलाई प्रभाव पारेको बताउने आचार्य पैसा हुने मान्छे रातारात हिरो भएको उदाहरण दिन्छन् । तर, आफ्नो पेशा र व्यवसाय नै नाटकमा देखेर हिँडेको मान्छे आर्थिक रुपमा बलियो छैन भने उसले आफ्नो लक्ष्य अनुरूप सही ठाउँ र सफलता हात पार्न नसक्ने उनको कथन छ । 

अबको योजना : 

नाट्य क्षेत्रमा रमाउँदै आएका आइपीको लक्ष्य कलाकारिता क्षेत्रमा अझ धेरै प्रगति गर्नु हो । अझ भनौं, कलाकारितामार्फत नै समाजका विकृति, विसंगतिलाई चिर्दै सभ्य समाजको निर्माणमा सहयोग पुर्याउनु नै उनको लक्ष्य हो । आजका पुस्ताले राम्रो छाप पार्न सके पछिल्ला पिँढीलाई नाट्य क्षेत्रमा प्रवेश गर्न हौसला मिल्ने उनको धारणा छ । सामान्यतः कलाकारिता क्षेत्रमा छोरीलाई राम्रो दृष्टिकोणले हेरिँदैन । तर, चलचित्रभन्दा नाट्य क्षेत्रमा छोरीलाई राम्रो हुने उनको अनुभव छ । उनी भन्छन्, ‘नाट्य क्षेत्रमा पारिवारिक वातावरण हुन्छ ।’ 

कलाकारितामा नाट्य विधा एक छुट्टै अस्तित्व भएको क्षेत्र हो जसले राष्ट्रलाई अलग पहिचान दिन सक्छ । तर, सरकारले नाट्य क्षेत्रलाई खासै ध्यान नदिएको आचार्यको भनाइ छ ।

यदि सरकारले नाटक विश्वविद्यालय खोल्ने हो भने विद्यालय स्तरदेखि नै नाटक सिक्ने र सिकाउने परिपाटी बस्ने थियो । यदि सरकारले यो कुरामा ध्यान दिने हो भने नयाँ पिँढीले राम्रो अवसर पाउँथे र अघिल्लो पुस्ताले नाट्य क्षेत्रको संरक्षण र सम्वर्धनमा जुन संघर्ष गरे, त्यसले सार्थकता पाउने उनको भनाइ छ । तथापि, सपना देखेर पूरा गर्न लागिपर्नेहरूको लागि नाट्य क्षेत्र निकै राम्रो रहेको आचार्यको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै