काठमाडौँ। अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने फिल्म ‘ए मेरो हजुर ३’ मा अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन् । अनमोलले सलोनसँग तेस्रो पटक सँगै काम गर्न लागेका हुन् ।
यसअघि यी दुई 'होस्टेल' र 'गाजलु' मा काम गरेका थिए । निर्माता सुनिल कुमार थापाले कथाको माग अनुसार नै 'ए मेरो हजुर' को तेस्रो सिरिजमा सलोनलाई लिएको जानकारी दिएका छन् । फिल्ममा उनी भएपछि लिड हिरो नै छायाँमा पर्ने गर्छन् ।
यो फिल्मको दोस्रो सिरिजमा पनि उनी लिड रोलमा थिए । उक्त फिल्ममा सलोनको कामको सर्वाधिक प्रशंसा भएको थियो । उनी बिनाको फिल्म कल्पना गर्न पनि नसकिने निर्माता थापा बताउँछन् ।
असोज पहिलो साताबाट औपचारिक रुपमा छायांकन सुरु हुने फिल्ममा अभिनेता अनमोलको अपोजिटमा निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा देखिँदैछिन् । उनको यो डेब्यु फिल्म हो ।
‘ए मेरो हजुर ३’ मा अनमोलले एक गायकको भूमिका निर्वाहा गर्दैछन् भने सुहाना फ्यानको भूमिकामा देखिनेछन् । एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा फिल्मले वाचन गर्ने बताइएको छ । अनमोल यसमा 'प्रेम' को रोलमा छन् ।
फ्लोरमा निस्कनु अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । झरना थापाले निर्देशन गर्ने फिल्म चैत २९ गते रिलिज हुँदैछ । सुहाना इन्टरटेन्मेन्टको ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ ।