काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार क्याथे प्यासिफिकको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनीहरूलाई सोमबार राति करिब ११: १५ बजे शङ्कास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो। जाँचका क्रममा उनीहरूले मलद्वार र भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाएको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
पक्राउ पर्नेमा चीनको क्वाङतोङ निवासी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् । उनीहरूको साथबाट क्रमशः १ किलो ३४० ग्राम र १ किलो ८ ग्राम तौलको सुनजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
भन्सार क्षेत्र पार गरेर बाहिरिने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । बरामद पदार्थ र पक्राउ परेका महिलामाथि आवश्यक अनुसन्धान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।









